तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन शुरू गरिएको हो । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
प्लाण्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । ‘प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ’, उनले भने, ‘अस्पतालमै अक्सिजन उत्पादन शुरू भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।’
रू. ७५ लाख बजेट प्राप्त भएकोमा टेण्डरमार्फत रू. ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ । प्लाण्ट निर्माणका लागि अस्पतालले जय शंकर प्रालिसँग सम्झौता गरेको थियो ।
कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ । अस्पतालले महामारीका बेला कोरोना संक्रमितको उपचार गरेको थियो । हाल भने अस्पतालमा कोरोना संक्रमित छैनन् । अस्पतालले आईसीयू र भेन्टिलेटरसमेत शुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शøयाको व्यवस्थापन गरेको थियो ।
यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौं पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आएको थियो । पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवम् अत्याधुनिक बनाउने प्रयासस्वरूप थाइराइड, आँखा र दाँत उपचार सेवा शुरू भइसकेको छ । रासस