काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल हाउस, हात्तिसार, काठमाडौंमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तिको विषय टुङ्ग्याउनेछ । प्रस्तावित लाभांशलाई समेत कम्पनीले वितरणयोग्य बनाउनेछ ।
माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ६२ करोड ७२ लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
प्रस्तावित उक्त लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले यस वर्ष ४ करोड ६२ लाख १४ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उल्लेखित प्रस्तावसँगै थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा फागुन १० गते बिहीवारसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्