भारतको बाटो हुँदै ४० मेगावाट बिजुली बंगलादेश निर्यातको तयारी

काठमाडौं। भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी) को ११औं बैठकले उक्त विषयमा सम्झौताका लागि छलफल गरेको हो । भारत हुँदै बंगलादेश विद्युत् निर्यात गर्न भारतको आयातनिर्यात निर्देशिकाबमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच चाँडै नै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षमा नेपाल र भारतका ऊर्जा सचिवहरूबीच छलफल भएको छ । उक्त छलफलमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए । निर्देशक समितिको बैठकले १८ पुसमा सम्पन्न सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेको सिफारिशमा छलफल गरेको थियो । बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको उनले बताए । अन्तरदेशीय प्रसारण लाइनका रूपमा सञ्चालित ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता १ हजार मेगावाट बराबर पुर्‍याउने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ । त्यसका लागि ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ । अहिले उक्त प्रसारण लाइनबाट ८०० मेगावाट विद्युत् आयातनिर्यात हुँदै आएको छ । उक्त लाइनको अधिकतम क्षमता उपयोग गर्ने विषयमा संयुक्त प्राविधिक समितिले अध्ययन गरी आवश्यक निर्णय लिनेछ ।  टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत् प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सम्भावित विकल्पबारे जेटीटीमार्फत अध्ययन गराउने सहमति भएको छ । साथै नेपाल र भारतबीच विद्युत् आयातनिर्यात गर्न आवश्यक थप उच्च भोल्टेज स्तरका प्रसारण लाइनको अध्ययन गर्नेबारे पनि छलफल भएको छ ।

सम्बन्धित सामग्री