काठमाडौं (अस) । एकर्ड फर्मास्युटिकल्स लिमिटेडलेले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका ४ लाख ८० हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा एकर्ड फर्मास्युटिकल्सका अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे ।
अधिकृत पुँजी ६५ करोड र जारी पुँजी ४८ करोड रुपैयाँ रहेको कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको तिनकुने सुविधानगरमा रहेको छ भने ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभुमा औषधी उत्पादन कारखाना छ । नेपालका औषधी तथा औषधीजन्य सामग्रीको कारोबारमा लामो समयदेखि संलग्न व्यक्ति तथा अन्य विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवद्र्धित यो कम्पनी ०७० मा प्रालिका रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । हाल मुलुकमा औषधी उत्पादन गरिरहेका थुप्रै कम्पनीमध्ये सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधी उत्पादक कम्पनी बनेको छ ।