काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मङ्सिर २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यसहित आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको थियो ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने कम्पनीले मङ्सिर ४ गतेदेखि १८ गतेसम्म विक्री गरिसकेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
पहिलो चरणका विक्री गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी २ करोड ४९ लाख कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस ११ गतेसम्म विक्री लम्बिनेछ ।
आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ पनि छिटो अवधि पुस १ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्तरूपमा सुरक्षित रहेको संकेत गर्दछ ।
धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा यो कम्पनी भित्रिन लागेको हो ।
यसअघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । यो कम्पनी २०७८ असार ३१ गते तत्कालीन बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छ ।
अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्