दुग्ध पदार्थको तथ्यांकमा लापरबाही

तत्कालीन सरकारले दूधमा आत्मनिर्भर भएको औपचारिक घोषणा गरे पनि मुलुकमा कति दूध उत्पादन हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन । अन्तरराष्ट्रिय खाद्य संगठनका अनुसार वार्षिक ९२ लिटर दूध प्रतिव्यक्ति उपभोग हुनुपर्छ । तर, नेपालको उत्पादन प्रतिव्यक्ति ८२ लिटर वार्षिक आपूर्ति हुन सक्छ भन्ने मानिन्छ । यस हिसाबले नेपाल दुग्ध पदार्थमा आत्मनिर्भर भइसकेको छैन । उपलब्धि प्रचार गर्ने लोभमा यस्तो घोषणा भएको देखिन्छ । दूधको उत्पादन र उपभोगसम्बन्धमा सरकार र व्यवसायीले दिने तथ्यांकमा ठूलो अन्तर पाइन्छ । सरकारले यसको सही तथ्यांक उपलब्ध गराउन सकेको देखिँदैन । आत्मनिर्भर भनिएको उत्पादनको तथ्यांकमा यस्तो अन्योल देखिँदा सरकारी कार्य नीति सही छैन भन्ने पुष्टि हुन्छ । नेपालमा निजीक्षेत्रका दुग्ध व्यवसायीको भनाइमा ६२ लाख लिटर दूध दैनिक उत्पादन हुन्छ । नेपाल दुग्ध विकास बोर्डले भने दैनिक ७० लाख लिटर उत्पादन हुने बताएको छ । त्यसमा ९ लाख लिटर औपचारिक क्षेत्रले खरीद गर्ने बोर्डको भनाइ छ । दुग्ध व्यवसायीको भनाइमा ३१ लाख लिटर दुध बजारमा आउँछ । बाँकी दूध बजार पहुँच नभएर आपूर्ति शृंखलामा आउन नसकेको बताइन्छ । तथ्यांकको विश्वसनीयता र आधिकारिकतामा प्रश्न उठ्छ भने कुनै पनि नीति तय हुन सक्दैन । दुग्ध पदार्थको उत्पादनमा हाम्रो धरातलीय यथार्थ के हो र आगामी दिनमा कस्तो रणनीति लिने हो भन्ने कुरा यकीन गर्न पनि तथ्यांक सही हुनुपर्छ । हो, तथ्यांक संकलनको स्रोत फरक पर्दा केही तलमाथि पर्न सक्छ । तर, ठूलो अन्तर भने हुँदैन । दुग्ध उत्पादनको मात्रै होइन, यसरी उत्पादित दुग्धजन्य पदार्थले बजार पाएको छ कि छैन भन्ने कुरामा पनि तथ्यांक अस्पष्ट रहेको देखिन्छ । अहिले दूधको आपूर्ति मागभन्दा बढी छ भनिन्छ । आपूर्ति बढी हुँदा दूधलाई धूलो बनाएर भण्डारण गरिन्छ । त्यसरी भण्डारण गरिएको दूध सुख्खा याम अर्थात् दूध कम उत्पादन हुने समयमा प्रयोग गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डले आर्थिक मन्दीको कारण दूधको खपत घट्दा गत असोजमा ६ अर्ब रूपैयाँ बराबरको करीब ४ लाख मेट्रिक टन धूलो दूध र बटर मौज्दात रहेको बताएको थियो । त्यसको १ महीना पनि नबित्दै बोर्डले ९ अर्ब ४१ करोड रूपैयाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको बतायो । उद्योगीहरू अहिले ५ अर्ब रूपैयाँको धूलो दूध र बटर मौज्दात रहेको बताइरहेका छन् । यस्तो फरक तथ्यांक आउनुमा सरकार र व्यवसायीको आआफ्नो स्वार्थ गाँसिएको पनि हुन सक्छ । जे भए पनि अहिले दुग्ध पदार्थको विक्री घटेको चाहिँ हो नै भन्ने देखिन्छ । दूधको विक्री घट्नुलाई आर्थिक मन्दीसँग जोडेर हेरिएको छ । यो विश्लेषण आंशिक सही हो भन्न सकिन्छ ।  दूधको खपत बढ्नुमा दूधको मूल्य मात्र होइन, गुणस्तर पनि कारण रहेको देखिन्छ । बढी दूध उत्पादन गर्न गाईभैंसीलाई एन्टीबायोटिक खुवाउने गरिएको छ । त्यस्तै दुग्ध पदार्थमा विभिन्न किसिमका मिसावट पनि गर्ने गरिएको छ । दूध नफाटोस् भनेर तथा दूध बाक्लो देखियोस् भनेर विभिन्न तत्त्व मिसाउने गरिएको छ जसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यस्तो कुरा उपभोक्तासमक्ष पुगेपछि दूधको उपभोग घट्नु सामान्य हो । बोर्ड वा दुग्ध व्यवसायीले दिने उपभोगको संख्या भनेको शहरी उपभोक्ताको हो । शहरी उपभोक्ताले दूध खान छाड्नुमा स्वास्थ्यसम्बन्धी सचेतना पनि एउटा कारण मानिन्छ । त्यसैले दूध खपत घट्नुको वास्तविक कारण खोजी हुनुपर्छ ।  सरकारले दूधको उत्पादन बढाउन उन्नत जातको नश्ल सुधार कार्यक्रम जारी राखेको छ । यसैका लागि भारतबाट मुर्रा जातको राँगो ल्याइएको छ । यसबाट दूध उत्पादन निकै बढ्ने देखिन्छ । त्यस्तै नश्ल सुधारिएका गाईको संख्या पनि बढ्दो छ भने मानिसहरू स्थानीय जातको गाईको दूध उपभोग गर्न रुचाइरहेका पनि छन् । त्यसैले दुग्ध उत्पादनसम्बन्धीमा सही रणनीति लिन ढिला भइसकेको छ । दूधको तथ्यांक अस्पष्ट हुनुमा किसानलाई दूधको भुक्तानी दिने कुरा पनि गाँसिएको हुन सक्छ । दूध विक्री नभएको भन्दै सरकारी कम्पनीले नै किसानलाई भुक्तानी दिइरहेको छैन । यसले भोलिका दिनमा दुग्ध उत्पादक किसानले गाईबस्तु पाल्न छाड्ने सम्भावना पनि उत्तिकै छ । उखुको भुक्तानीमा समस्या भए पछि किसानले बिस्तारै उखु खेती गर्न छाडेको बताइन्छ । आपूर्ति र उपभोगको शृंखला तोडियो भने त्यसको सीधा असर उत्पादनलाई पर्छ । अहिले ५ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताइन्छ । अन्य व्यवसायमा जस्तो कृषि कर्ममा उधारो कारोबार सहज मानिँदैन । उत्पादन बेचेर लागत उठाउनेदेखि आफ्नो दैनिक गर्जो टार्नेसम्मका काम लागि तत्काल नगद आवश्यक हुन्छ । त्यसैले भुक्तानी रोकिनु हुँदैन । दूध बढी भएर खेर गएको भन्ने भनाइ पनि सुनिन्छ । दूध विक्री भएन भने लामो समयसम्म टिक्ने वस्तु दूधबाट तयार पार्न सकिन्छ । घ्यू, चीज वा छुर्पीजस्ता वस्तु बनाउने हो भने यो तत्काल बिग्रँदैन र केही समयसम्म भण्डारण गर्न सकिन्छ । यस्तो उत्पादनमा दुग्ध व्यवसायीको ध्यान जानु आवश्यक छ । त्यसो त धूलो दूध बनाएर बंगलादेशमा निर्यात गर्न पहल नभएको पनि होइन तर समान र गुणस्तरीय आपूर्ति नहुने हो भने यस्तो निर्यातको पहल सार्थक हुँदैन । धूलो दूध, घ्यू र चीजका लागि अन्तरराष्ट्रिय बजार खोज्नुपर्छ । दूध उत्पादन बढाउन दिगो बजार आवश्यक हुन्छ । त्यसैले यसतर्फ काम गर्न आवश्यक छ । यसमा काम गर्न पनि सही तथ्यांक आवश्यक हुन्छ । त्यस्तो तथ्यांक तयार पार्न पनि सरकारी निकायको ध्यान जानु जरुरी देखिन्छ । 

सम्बन्धित सामग्री

डीडीसीमा लापरबाही : सरोकारवाला नै कर्मचारीको कमजोरी लुकाउँछन्

– गत चैत अन्तिम साता दुग्ध विकास संस्थान (डीडीसी) को बालाजु प्लान्टबाट उत्पादित प्याकेट दूधमा गन्ध आएको भनेर सर्वत्र आलोचना भयो । खाद्यवस्तुको गुणस्तर हेर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीलाई पनि शंका लागेपछि उनले दूध परीक्षण गर्न ल्याब पठाए । झन्डै एक महिनापछि आएको रिपोर्टमा दूधमा फ्याटको मात्रा कम देखियो ।