रुपया कमजोरको असर : पाकिस्तानले गुमायो ३ अर्ब ७० करोड डलर विप्रेषण

काठमाडौं । विदेशमा काम गरिरहेका पाकिस्तानी कामदारहरूले पठाउने विप्रेषण घटेको छ । मेमा पाकिस्तानमा जम्मा २ अर्ब १० करोड डलर मात्रै विप्रेषण आएको छ । यो अघिल्लो महीनाको भन्दा ४ प्रतिशत कम भएको पाकिस्तानी केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ (एसबीपी)को तथ्यांकले देखाएको छ । मेमा भित्रिएको विप्रेषण गएको वर्षको सोही महीनाको भन्दा १० प्रतिशत थोरै भएको बताइएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महीनामा अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउमा आएको कमीका कारण मात्रै ३ अर्ब ७० करोड डलर बराबरको विप्रेषण खुम्चिएको छ । आर्थिक वर्ष २०२३ को पहिलो ११ महीनामा पाकिस्तानमा कुल २४ अर्ब ८३ करोड १० लाख डलर विप्रेषण आएको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा १२ दशमलव ९८ प्रतिशत कम हो । विप्रेषण घट्न थालेपछि मुद्रा व्यापारीहरूले सरकारलाई बारम्बार ध्यानाकर्षण गराइरहेका छन् । साउदी अरबदेखि संयुक्त अरब इमिरेट्स अनि बेलायतदेखि अमेरिकासम्म अधिकांश मुख्य विप्रेषण बजारबाट पाकिस्तानतर्फको प्रवाह घटेको छ ।  आधिकारिक बजारमा डलरको आपूर्ति सीमित भएकै समयमा डलरको कालोबजारी चर्किएको छ । विप्रेषण पठाउनेहरू पनि कालो बजारतिर आकर्षित हुन थालेपछि वैध च्यानलमार्फत आउने विप्रेषण घटेको छ । यसले डलरको भाउ झनै प्रभावित भइरहेको छ । पाकिस्तानको अन्तर बैंक बजारमा अहिले एक डलर किन्न २८६-२८७ रुपया खर्च गर्नु परिरहेको छ । तर, कालो बजारमा यो दर ३११-३१३ रुपया छ । एजेन्सी 

सम्बन्धित सामग्री

पाकिस्तानमा विप्रेषण आप्रवाह ३१ महीनायताकै न्यून स्तरमा

काठमाडौं । विदेशी मुद्रा सञ्चिति सुक्दै गइरहेको समयमा पाकिस्तानको दुःख झनै थपिएको छ । गएको महीना त्यहाँ विप्रेषण आप्रवाह २ खर्ब डलरमुनि झरेको छ । यो ३१ महीनाकै न्यून हो ।  विदेशमा काम गर्न गएका पाकिस्तानीहरूले जनवरीमा जम्माजम्मी १ अर्ब ८० करोड डलर बराबरको मात्रै विप्रेषण पठाएका छन् । विप्रेषण आप्रवाह सन् २०२० को मेयताकै न्यून हो । २०२२ को जनजरीको तुलनामा यो १३ प्रतिशत कम हो भने डिसेम्बरभन्दा १० प्रतिशत कम हो ।  अहिले पाकिस्तानलाई डलरको निकै खाँचो छ । निर्यातको तुलनामा विप्रेषणमाथिको आश धेरै भएको समयमा चालू आर्थिक वर्ष (आव)मा विप्रेषण आप्रवाह घट्दै गइरहेको छ । गएको आवको जुलाई-जनवरीमा पाकिस्तानमा कुल १७ अर्ब ९८ करोड ८० लाख डलर बराबरको विप्रेषण भित्रिएको थियो । चालू आवको सोही अवधिमा आप्रवाह १६ अर्ब डलर मात्रै छ ।अर्थात् यो चालू आवको पहिलो ७ महीनामा १ अर्ब ९८ करोड २० लाख डलर मूल्य बराबरको विप्रेषण आप्रवाह गुमेको छ । अहिले पाकिस्तान सरकार कर्जाको साँवा र ब्याज भुक्तानीमा असफल भएर डिफल्टमा जाने अवस्था रोक्न बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँग जसरी भएपनि वित्तीय उद्धारबापतको १ अर्ब २० करोेड डलर बराबरको किस्ता लिन संघर्षरत छ ।  विनिमय दरको कृत्रिम व्यवस्थापनका कारण विप्रेषण आप्रवाहमा त्यति ठूलो कमी आएको भन्दै अर्थशास्त्री र विश्लेषकहरूले स्टेट बैंक समेतको सरकारको वित्तीय टोलीलाई दोष दिइरहेका छन् । डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउमा आएको तीव्र कमी रोक्न सरकारले सो कदम चालेको थियो । तर, यसका कारण खुला बजार र अन्तरबैंक बजारमा विनिमय दरमा ठूलो अन्तर हुँदा उल्टो असर देखियो ।  सबैभन्दा ठूलो विप्रेषण बजार साउदी अरबबाट चालू आवको पहिलो ७ महीनामा पाकिस्तानमा ३ अर्ब ८९ करोड २० लाख डलर विप्रेषण आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ दशमलव १ प्रतिशत कम हो । बेलायत र संयुक्त अरब इमिरेट्सबाट आउने विप्रेषण प्रवाह पनि क्रमशः ६ दशमलव ४ प्रतिशत र १५ दशमलव २ प्रतिशतले घटेको छ । खाडी देशहरू र ईयूको विप्रेषण आप्रवाह पनि समीक्षा अवधिमा क्रमशः ९ प्रतिशत र १० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा अमेरिकाबाट आउने विप्रेषण मात्रै बढेको छ । त्यो वृद्धि पनि २ दशमलव ८ प्रतिशत मात्रै छ । एजेन्सी