दैजी–छेला औद्योगिक क्षेत्रलाई चाँडै भोगाधिकार : उद्योगमन्त्री

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रलाई चाँडै भोगाधिकार प्रदान गरिने बताएका छन् । शुक्रवार कञ्चनपुरको वेदकोट नगरपालिका–२ स्थित उक्त औद्योगिक क्षेत्रको निरीक्षणपछि मन्त्री भण्डारीले यस्तो बताएका हुन् । औद्योगिक क्षेत्रको निरीक्षणपछि वेदकोट नगर उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । ढिलोमा दुई साताभित्र भोगाधिकार कायम हुनेगरी काम भइरहेको जानकारी उनले दिए । ‘मैले मन्त्रालय सम्हालेको एक महीनामै औद्योगिक क्षेत्र कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ मन्त्री भण्डारीले भने, ‘यसबारे कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ । त्यो प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरी भोगाधिकार हस्तान्तरणको निर्णय गराउँछु ।’ दैजी–छेलासहित अन्य औद्योगिक क्षेत्रको काम पनि तत्काल अघि बढाइने उनको भनाइ छ । मन्त्री भण्डारीले भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने बताए । त्यसका लागि ५ अर्ब रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए । ‘नीतिगत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्रालयले धमाधम काम गरिरहेको छ,’ उनले भने ‘अब संसद्बाट विधेयक पास गराएर उद्योगमैत्री वातावरण बनाउँछु ।’ साथै गेटा मेडिकल कलेजलाई सरकारले ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ नामकरण गरी देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेको, दोधाराचाँदनीमा सुक्खा बन्दरगाहको काम अगाडि बढेको र महाकाली कोरिडोरको काम पनि भइरहेको उनले बताए । यी योजना पूरा भएमा सुदूरपश्चिमका जनताले कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य हुने दाबी उनले गरे । २०५२ सालदेखि दैजीमा ओद्योगिक क्षेत्र स्थापनाका लागि पहल थालिए पनि भौतिक संरचनाको निर्माण अझै अघि बढेको छैन । कार्यक्रममा नेपालगञ्ज औद्योगिक क्षेत्रका सहायक निर्देशक कृष्ण पुनले अहिले रूख छपानको कार्य अन्तिम चरणमा रहेको बताए । सोमवार दैजीमा औद्योगिक क्षेत्रको कार्यालय स्थापना गरिने जानकारी उनले दिए । कार्यालय स्थापना भएपछि औद्योगिक क्षेत्रको कामले गति लिने विश्वास गरिएको छ ।