त्यो बेलासम्म हामी नेपाल जाने कुरामा ढुक्क थियौँ । मनमा कुरा खेलिरहेका थिए, “बोर्डिङ पास लिएपछि भित्र गइन्छ, जहाजमा बसिन्छ, केही समयपछि जहाज उड्छ अनि परिचारिकाहरूले दिएको खानेकुरा खान पाइन्छ’ तर हाम्रा पासपोर्ट र टिकट हेर्दै गरेका काउन्टरका कर्मचारीको अनुहार देखेपछि भने मेरा सोचाइका तरङ्गहरू परिवर्तन भए । मैले देखेँ– छोरा सुमनको उदाउँदो सूर्यको जस्तो तेजिलो अनुहार पनि बिस्तारै ग्रहण लागेको चन्द्रमा जस्तै धमिलो हुँदै गइरहेको थियो ।