जगदीश ढकाल, नेपालगञ्ज ।
संविधानसभा आन्दोलनका सहिद कमलप्रसाद अधिकारीको १३औँ स्मृति दिवस नेपालगञ्जमा मनाइएको छ । राष्ट्रिय जनमोर्चा बाँकेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सहिद अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
सहिद कमल प्रसाद अधिकारीकी पत्नी सीता अधिकारीको प्रमुख आतिथ्यता तथा राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न स्मृति सभामा सहिद अधिकारीको योगदानबारे चर्चा गरिएको थियो ।
२०६४ सालको संविधानसभा निर्वाचनका क्रममा बाँके क्षेत्र नं २ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार रहेका अधिकारीलाई माओवादी र जातीवादीहरुले गोली हानी हत्या गरेका थिए ।
पछि माओवादीको सरकार बनेपछि हत्याराहरुको मुद्दा फिर्ता लिएर जेलबाट मन्त्रीहरुले नै फूलमाला अबिर लगाएर बाहिर निकालेका थिए । राज्य नै पिडकको संरक्षणमा लागेपछि पीडित परिवार अहिलेसम्म पनि बिस्थापित हुँदै आएको छ ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटा, अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पान्डे, अखिल नेपाल महिला संघ बाँकेकी सदस्य माधबा जिसिलगायत नेताहरुले सहिद कमल अधिकारीको योगदानको चर्चा गर्दै वहाँप्रती श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले सहिद कमल अधिकारीको जीवनी बारे चर्चा गर्नुभएको थियोे भने राजमो बाँकेका कोषाध्यक्ष जोगप्रसाद भन्डारीले सभा सञ्चालन गर्नुभएको थियोे ।