प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्ष ७९/८० को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो । विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।त्यसअघि मन्त्री शर्माले बजेटमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको बताए । उनले भने “ अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ । एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो । करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ । यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो ।”उनले बजेटका गोपनीयता कायम राखिएको स्पष्ट पारे । “कुनै गोपनीयता भङ्ग भएको छैन । सम्बन्धित तहका कर्मचारीले नै बजेट बनाउने हो । म जवाफदेही छु । जिम्मेवार छु । बजेटमा राष्ट्रघात होइन, स्थिरतातर्फ लैजाने गरी मार्गदर्शन गरिएको छ ।”यस्तै, अर्थमन्त्रीले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिए ।