नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने निर्णय गरेको छ । ४३ ब्रोकरलाई आशयपत्र दिइसकेको बोर्डले यसअघि सातओटालाई लाइसेन्स प्रदान गरिसकेको छ ।
थोरै ब्रोकर हुँदा सेवाग्राहीले पर्याप्त सुुविधा नपाएको जस्ता गुनासा आइरहेका बेला सेबोनले यसरी थप कम्पनीलाई ब्रोकर लाइसेन्स दिनु पक्कै पनि सकारात्मक कदम हो । यसले शेयरबजारमा केही न केही सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ । तर, शेयरबजारको सुधारका लागि यति मात्र पर्याप्त छैन ।
सेबोनले शेयरबजारको विकासका लागि केही नीतिगत निर्णयहरू गरेको छ । तीमध्ये शेयर ब्रोकर थप्ने र नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने पनि हो । पछिल्लोपटक थपिएका कम्पनीमध्ये एक कम्पनीले धितोपत्र व्यापारी (स्टक डिलर)को काम गर्ने, एक पूर्ण धितोपत्र कार्य गर्ने दलाल र अन्य नौलाई सीमित कार्य गर्ने गरी अनुमतिपत्र प्रदान गरिएको छ ।
विगतमा ब्रोकरका लागि आवेदन नै नखोल्ने र नयाँ ब्रोकर नथप्ने जस्तो नीति लिएको सेबोनले अहिले मापदण्ड पूरा गरेर आवेदन दिने सबै कम्पनीलाई अनुमति दिने नीति लिएको छ । यसरी ब्रोकर अनुमतिपत्र बढाउँदै जानु सकारात्मक नै छ तर यतिले मात्र पूँजीबजारको विकास हुँदैन । सेबोनले लगानीका विभिन्न उपकरणहरू खुलाउँदै जानुपर्छ ।
अहिले दैनिक २ अर्बका हाराहारीमा कारोबार हुन थालेको बजारमा धेरै ब्रोकर थप्दा अस्वस्थ प्रतिस्पर्धा नहोला भन्न सकिँदैन । कुखुरा पहिला कि अन्डा पहिला भनेजस्तो पहिला ब्रोकरको संख्या बढाउने कि बजार विस्तार गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । वास्तवमा यी दुवै कुरा सँगैसँगै जानुपर्छ ।
बजार विस्तारका लागि नयाँनयाँ उपकरण ल्याइनुपर्छ । विगतमा भन्दा प्रविधिका पक्षमा निकै सुधार आए पनि शेयरबजारमा नयाँ उपकरण थप्ने काम भने त्यति भएको छैन । शेयरबजार प्रविधिमय बनिसक्दा पनि इन्ट्रा डे कारोबार गराउनेतर्फ काम अघि बढेको छैन । त्यस्तै सर्ट सेल, इन्डेक्स ट्रेडिङजस्ता उपकरण पनि अब ल्याइनुपर्छ । विश्व बजारमा प्रयोग भइरहेका उपकरण नेपालमा पनि प्रयोग गरिनुपर्छ ।
नेपालको पूँजी बजारमा अझै पनि वित्तीय संस्थाहरूको बाहुल्य छ । यसरी एकथरी कम्पनीको मात्रै बाहुल्य हुनु शेयरबजारका लागि उपयुक्त मानिँदैन । यसलाई विविधीकरण गर्न वास्तविक क्षेत्रका कम्पनी भित्रिनु आवश्यक छ । यस्ता कम्पनीलाई आकर्षित गर्न विभिन्न सुविधासमेत दिइनुपर्छ । त्यसैगरी हकप्रदको निस्सा दोस्रो बजारमा किनबेच गर्न पाउने व्यवस्था गरिनुपर्छ । अहिले हकप्रद विक्री कम हुने र यसरी विक्री नभएका शेयर कम्पनीले बोलकबोलमार्फत विक्री गर्ने गरेको छ ।
आर्थिक अवस्था वा अन्य कारणले हकप्रद शेयर किन्न नसक्ने लगानीकर्ता यसबाट मर्कामा परेका छन् । अहिले ब्रोकरहरूले मार्जिन कर्जा दिइरहेका छैनन् । ब्रोकर कम्पनीको पूँजीको आधार नै कमजोर हुँदा यसो भएको हो । बढी पूँजी भएका कम्पनी खोल्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैले ब्रोकरमार्फत मार्जिन कर्जाको व्यवस्था हुन आवश्यक छ । नेपालको शेयरबजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न भित्त्याउने विषयमा निकै लामो समयदेखि कुरा हुँदै आए पनि अझै यसतर्फ ठोस काम भएको छैन । उनीहरूको लगानीले शेयरबजारलाई गति दिने अपेक्षा गर्न सकिन्छ ।
कमोडिटी एक्सचेन्जको स्थापनाको विषयमा पनि अगाडि बढ्न सकेको छैन । विगतमा राम्रैसँग सञ्चालनमा आइसकेको लगानीको यो उपकरण निकै महत्त्वपूर्ण छ । यसले कृषिक्षेत्रलाई सहयोग गर्ने भए पनि त्यसतर्फ काम नहुनु विडम्बना नै हो ।
प्रविधिगत रूपमा केही फड्को मारे पनि नेपालको शेयरबजार अझै लगानीका उपकरण र विविधताका हिसाबले परिपक्व बनिसकेको छैन । विदेशीले उद्योगमा लगानी गर्नुअघि शेयरबजारसम्बन्धी विषयमा पनि जानकारी चाहने हुनाले यसलाई अन्य देशको स्तरमा लैजानु र यहाँ हुने कर्नरिङ, भित्री सूचना चुहाएर गरिने कारोबार आदि पक्षमा राम्रो नियमन र कारबाही हुनु आवश्यक छ ।