आईसीपीमा कार्यरत मजदूर आन्दोलित

विराटनगर । एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरमा कार्यरत श्रमिक ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालिले श्रम शोषण गरेको भन्दै आन्दोलित भएका छन् । ट्रान्स नेपाल अन्तर्गत रहेर काम गर्ने श्रमिकहरू श्रम ऐन अनुसार सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । ट्रान्स नेपाल अन्तर्गत विराटनगर भन्सारमा करीब ३०० जना श्रमिक छन् । उनीहरूले सोमवार आईसीपी बाहिर पत्रकार सम्मेलन गरी आन्दोलन सशक्त बनाइने चेतावनी दिएका छन् । श्रम ऐन अनुसार सेवा सुविधा माग्दै विभिन्न चरणको छलफल र वार्तामा बस्दा पनि ट्रान्स नेपालले माग सुनवाइ नगरेको गुनासो श्रमिकको छ । आफूहरू बाध्य भएर आन्दोलित हुनुपरेको लामो समयदेखि भन्सारमा काम गर्दै आएका शम्भुकुमार यादवले बताए । ‘भन्सारमा काम गरेको वर्षौं भइसक्यो । अहिलेसम्म श्रम ऐनले तोकेको न्यूनतम सेवा सुविधा पनि दिएको छैन । ऐन नियम अनुसारको सेवा सुविधा माग्दा अहिलेसम्म हाम्रो माग सुनवाइ भएन,’ उनले भने । ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालिले इन्टरमोडल यातायात विकास समितिबाट पाँच वर्षका लागि आईसीपी व्यवस्थापनका लागि ३५ करोडभन्दा बढी रकममा ठेक्का पाएको हो । कम्पनीले यहाँ ठेकेदारमार्फत कामदार आपूर्ति गर्छ । श्रमिकले श्रम ऐन अनुसार सेवा सुविधा पाउनुपर्ने लगायत ९ सूत्रीय माग राखेका छन् । माग पूरा नभए मङ्सिर १२ गतेदेखि आईसीपी ठप्प पार्ने चेतावनी उनीहरूको छ । यता, ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालि विराटनगरका कार्यालय प्रमुख लक्ष्मी सुब्बाले भन्सारमा काम गर्ने श्रमिक स्वतन्त्र भएकाले आफ्नो कर्मचारी नभएको बताए । ‘हामीसँग उनीहरूको कुनै सम्बन्ध छैन,’ उनले भने ।

सम्बन्धित सामग्री

वीरगञ्जको जय स्पिनिङ मिल्सका मजदूर आन्दोलित, कारखानाका गाडी तोडफोड

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको परवानिपुर टोलमा रहेको जय स्पिनिङ मिलमा काम गर्ने मजदूरहरू आन्दोलनमा उत्रिएका छन्।मजदूरहरु कारखानाको कमकाज बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। बिदाको पैसा माग गर्दा कामबाट निकालेको भन्दै कारखानामा कार्यरत मजदूरहरु आन्दोलनमा उत्रिएका हुन्। उनी विगत तीन दिनदेखि कारखानाको कामकाज छाडेर आन्दोलनमा छन्। उद्योगले काम गर्ने मजदूरलाई समयमा तलब भता नदिने, दिए पनि […]

मजदूरले अवरोध गरेपछि सुनकोशी - मरिण डाइभर्सनको काम बन्द

पुस ११, सिन्धुली । मजदूरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोशी - मरिण डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदूरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो ।            भर्खरै निर्माणको काम शुरु भएको आयोजनामा काम गर्ने मजदूरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माणकार्य बन्द भएको छ । आयोजनाले आफूहरूलाई दिएको पारिश्रमिक तथा सेवासुविधा न्यून रहको भन्दै पारिश्रमिक वृद्धि गर्न गरेको माग आयोजना पक्षले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको मजदूर पूर्णबहादुर विकले बताए। उनका अनुसार सुनकोशी –मरिण डाइभर्सनमा आफूले दैनिक आठ घण्टा काम गरेवापत आयोजनाले सुक्खा ५८० रुपैयाँका दरले पारिश्रमिक दिने गरेको छ । आयोजनको पारिश्रमिकले जीवन धान्न नै मुस्किल हुने उनको गुनासो छ ।            आयोजनासँग जिल्लाको दर कायम हुनुपर्ने, ओभरटाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिवार पनि ओभरटाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभरटाइम हुनुपर्ने, दशैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित सामान्य हाजिरी हुनुपर्ने माग राखेकाले आफूहरुको माग सम्बोधन हुनुपर्ने तिलकप्रसाद चौलागाईंले बताए । आफूहरुको माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनको भनाइ छ ।            आयोजनामा मजदूर ११०, मिस्त्री ५०, मेकानिक आठ, अपरेटर २०, वेल्डर सात, दोभासे चार, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० जना कार्यरत रहेका चाइना ओभरसिज इञ्जीनियरिङ ग्रुप कम्पनीका प्रसाशन प्रमुख मिस्टर लूले जानकारी दिए।            सुनकोशी – मरिण डाइभर्सन राष्ट्रियस्तरको आयोजना भएकाले केन्द्रीय सरकारको दरअनुसार मजदूरलाई तलब दिंदै आएको लूले बताए। आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इञ्जीनियरिङ ग्रुप कम्पनीले जिल्लाको दरभन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदूरले शुक्रवारदेखि काम अनिश्चितकालसम्मका लागि ठप्प पार्दै आएका छन् । मजदूर आन्दोलित भए पनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन । रासस

मंगलवारदेखि हेटौंडा केन्द्रित आन्दोलन गर्दै यातायात व्यवसायी

काठमाडौं । स्थानीय रूटमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडादर बढाउनुपर्ने माग राख्दै सोमवार बिहानैदेखि काठमाडौंमा आन्दोलन गरेका यातायात व्यवसायीले मंगलवारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा आन्दोलन गरेर आफ्ना माग पूरा नहुने भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् । दिनभर आन्दोलनमा रहेका व्यवसायीले सोमवार बेलुका बैठक बस्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न र आफ्ना माग पूरा गराउन प्रदेश राजधानी जाने निर्णय गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले मंगलवारदेखि नै आफूहरू मुख्यमन्त्री र विभागीय मन्त्रीको कार्यालय घेराउ गर्न हेटौंडा जाने बताए । ‘बरु हामी दशैं मनाउँदैनौं, तर आफ्ना माग पूरा गराएरै छाड्छौं,’ उनले भने । व्यवसायीले छाटो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाउनुपर्ने माग राख्दै काठमाडौंको चक्रपथमा चल्ने गाडी बाटोमै तेस्र्याएर आन्दोलन गरेका थिए । व्यवसायीले ग्वार्को, कोटेश्वर, गौशाला, सातदोबाटो, चाबहिल, सुकेधारा, कलंकी लगायत स्थानमा खाली गाडीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । उनीहरूले गाडीले यात्रु बोकेको पाएमा बीच बाटोमै रोकेर हिँड्न बाध्य पारेका थिए । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सवारीसाधनमा पहिलेको भाडादरमा २८ प्रतिशतले वृद्धि गरे पनि प्रदेश अन्तर्गतका जिल्लामा चल्ने सवारीसाधनमा भने भाडादर बढाएको छैन । यी जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने भए पनि बागमती प्रदेशले छोटो दूरीका सवारीसाधनमा भाडा बढाउनेबारे हालसम्म कुनै निर्णय नगर्दा व्यवसायी आन्दोलित भएका हुन् । सोमवारको आन्दोलनमा काठमाडौंसहित धादिङ, रसुवा, मकवानपुर, सिन्धुपाल्चोक लगायत जिल्लाका ७२ ओटा कम्पनीका करीब ५ हजार सवारीसाधन र त्यसमा काम गर्ने १० हजार मजदूर रहेका थिए ।

यौन दुर्व्यवहारको आरोपपछि तयारी पोशाक उद्योगका सीईओ पक्राउ

भदौ २, विराटनगर । महिला कामदारमाथि दुर्व्यवहार गरेको आरोपमा तयारी पोशाक कम्पनीका मजदूर आन्दोलनमा उत्रिएपछि प्रहरीले छाविनका लागि ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई पक्राउ गरेको छ ।  पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै मजदूरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  श्रमिकहरूले मंगलवार सीईओ चाण्डोकले महिला मजदूरहरूलाई यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिने गरेको भन्दै कारवाहीको माग गरेका थिए ।  इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहितको टोलिले नियन्त्रणमा लिएको सीईओलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइ अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।  ‘श्रमिकहरू आन्दोलित भएपछि हामीले उद्योगका सीईओलाई नियन्त्रणमा लिएका छौं,’ एसपी जिसीले भने, ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं । पीडित भएका व्यक्तिहरूलाई पनि हामीले बोलाएका छौं,’ थप विषय अनुसन्धान पछि खुल्ने उनले बताए । ‘सीईओदेखि कति मान्छे पीडित भएका छन् । त्यो पछि खुल्नेछ,’ एसपी जिसीले भने । उद्योगमा कार्यरत श्रमिक महिलाहरुलाई पटक - पटक दुर्व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको धिरज विष्टले बताए । ‘श्रमिकहरूलाई पटक–पटक सीईओले दुर्व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु पर्‍यो,’ उनले भने, ‘सीईओले उद्योगमा काम गर्ने मजदूरलाई अनावश्यक रूपमा दुःख दिएर हैरानी बनाएका छन् ।’ सीईओलाई हटाएर प्रशासनले कारवाही गर्नुपर्ने र उद्योगले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा लिनुपर्ने माग पनि राखेका छन् । चाण्डोकले उद्योगको एचआर (मानव संशाधन) फाँटकी महिला कर्मचारीमाथि जेठमा दुर्व्यवहार गरेको आरोप छ ।जेठमा मात्रै रोजगारीका लागि उद्योगमा हाजिर भएकी २४ वर्षिय एक महिला कर्मचारीसँग सीईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातीराती फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले गरेकी छिन् । उद्योगी बासुदेवसहित गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन् । अनलाइनबाटै कर्मचारीमा छनौट भएकी महिला गत जेठ ९ गतेदेखि उद्योगमा हाजिर भएर काम गर्दै आएकी थिइन् । तर सीईओले रातीसमेत फोन गरेर टर्चर दिदैं आफूलाई काबुमा राख्न खोजेको पीडित महिलाको गुनासो छ । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जनाभन्दा बढी मजदूर कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ । विगत लामो समयदेखि सञ्चालित उद्योगमा पहिले यस प्रकारको समस्या थिएन तर करीब तीन वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदूरहरु दुर्व्यवहारमा पर्न थालेको भन्दै श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । महिला मजदुरहरुलाई त्यहाँ कार्यरत अन्य मजदूरहरुले पनि साथ दिएका छन् ।