काठमाडौं (अस) । एनएमबि बैंकले मधेस प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै मधेस प्रदेशमा हालसम्म १५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको बैंकले बताएको छ ।
बैंकले उखु किसानलाई सहज कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो । सम्झौताअनुसार ती चिनी उद्योगलाई उखु माग पूरा गर्न उखु खेतीमा प्रोत्साहन गर्दै किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो । सुगर मिल्ससँग सहकार्य गरी किसानको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोग गरिँदै आएको बैंकले जनाएको छ ।
कर्जा प्रवाहपछि हालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानको जीवनस्तर परिवर्तन भएको र उखु बिक्रीबाट लाभान्वित भई कर्जासमेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको बैंकको भनाइ छ । बैंकले हाल २०१ शाखा, १३९ एटीएम, १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।