धितोपत्र बोर्डले पायो अध्यक्ष, धनगढीका रमेश हमाललाई जिम्मेवारी
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। साढे चार महिनादेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने
काठमाडौं । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच सम्झौता भएको छ ।
समझदारी पत्रमा बुधवार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले हस्ताक्षर गरेका हुन् ।
नेपालमा नेपाल सस्टेनविलिटी रिपोर्टिङ स्ट्यान्डर्ड (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्ने विषय समझदारीमा समावेश छ ।
नेपालको सन्दर्भमा एनएसआरएस नवीन अवधारणा हो, जसले व्यावसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ ।
एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ । लेखामान बोर्डले सम्बन्धित प्राविधिक विषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ ।
जुलाई २०२३ मा इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसनले आइएसएसबीबाट जारी भएका आईएफआरएस एस १ र आईएफआरएस एस २ लाई समर्थन गर्दै सदस्यहरूलाई उक्त मानहरू लागू गर्न आह्वान गरेको छ ।
नेपाल धितोपत्र बोर्ड आओएससीओको एशाेसियट सदस्य रहेकाले सो मानहरू लागू गर्न प्रतिबद्धता जनाइएको छ ।
धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरूबाट प्रवाहित हुनु पर्ने सूचना तथा जानकारीहरू अन्तरराष्ट्रिय रूपमा प्रचलित असल अभ्यास हुनुपर्नेमा सदैव सचेत रहेको र सोही अनुसार नेपालमा समेत यस्ता अभ्यास अनुसार कार्य गर्न प्रतिबद्ध रहेको धितोपत्र बोर्डले जनाएको छ ।
काठमाडौं । लगानीकर्ताको शेयर किनबेच आदेशलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको छ ।
अनलाइन शेयर कारोबार गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्न नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउने गरी तयारी अगाडि बढेको हो । अहिले ब्रोकरहरूले नेप्सेले विकास गरेको टीएमएस भाडामा प्रयोग गर्दै आएका छन् ।
यो प्रक्रिया १ वर्षदेखि थालिएको भए पनि केही महीनायता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुँदा प्रक्रिया रोकिएको थियो । सेबोन अध्यक्षमा रमेश हमाल र नेप्सेको सीईओमा कृष्णबहादुर कार्कीे नियुक्त भएसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रियालाई अगाडि बढाइएको हो ।
ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचनाप्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाएको थियो । तर, केही विषय स्पष्ट नभएका कारण बोर्डले पुनः त्यसलाई स्पष्ट पार्न भनेको थियो । यसै क्रममा सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुुंगाना हटे । त्यस कारण यो प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
सेबोनका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीका अनुसार नेप्सेले नियमावलीमा भएका अस्पष्टता चाँडै स्पष्ट पारेर ल्याए बोर्डबाट स्वीकृति दिन समय लाग्दैन । ‘निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सर हुँदा नै अस्पष्ट भएका कुरा स्पष्ट पार्न नेप्सेलाई भनेका थियौं । नयाँ अध्यक्षको पदबहाली भएपछि छलफल भएको छ, सम्भवतः वैशाखभित्र काम सम्पन्न गर्छौं,’ उनले भने । अहिले ब्रोकरले नेप्सेले तयार पारेको सिस्टम चलाइरहेका छन् । टीएमएस सञ्चालन गर्ने स्वीकृति पाएपछि ब्रोकरले आफै विकास गरेर वा विदेशमा सञ्चालित सिस्टम खरीद गर्न सक्नेछन् । ब्रोकरहरूले आफ्नै टीएमएस चलाउने वा नेप्सेको टीएमएस चलाउने भन्ने छनोटसहित कारोबार विनियमावली संशोधन हुँदै छ । यो विनियमावलीमा सेबोनले स्पष्ट पार्नु भनेका कुरा स्पष्ट पार्नका लागि काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए ।
उनका अनुसार विनियमावलीमा आवश्यक विषय समेटर संशोधनपछि बोर्डमा चैतभित्रै बुझाउने तयारी भएको छ ।
ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिए ब्रोकरहरू तयारी अवस्थामा रहेको स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबन) का अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । तर, स्वीकृति पाउने बित्तिकै लाइभ सञ्चालनमा ल्याउन नसकिने उनको भनाइ छ । पहिलो चरणमा परीक्षण गर्नुपर्ने भएकाले नेप्सेको प्राविधिक टोलीले आवश्यक सहयोग गर्नुपर्ने मैनालीको भनाइ छ । उनले भने, ‘नेप्सेको आवश्यक सहयोग भए स्वीकृति पाएको ३ महीनाभित्र आफ्नो टीएमएस पूर्णरूपमा लागू गर्ने लक्ष्य राखेका छौं ।’
ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउँदा रिस्क म्यानेजमेन्टलाई व्यवस्थापन गर्न सहज हुने मैनालीको भनाइ छ । नेप्सेले सञ्चालनमा ल्याएको अहिलेको टीएमएस पूर्ण रूपमा लगानीकर्तामैत्री नभएको उनले बताए ।