काठमाडौं (अस) । बृज सिमेन्टले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसनमार्फत उपलब्ध गराउने भएको छ ।
बुधबार आयोजित कार्यक्रममा बृज सिमेन्टका चितवन एरिया सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, बृज सिमेन्ट चितवनको आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोप्राइटर शिरिष पन्त र पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीबीच सहमति भएको हो ।
पत्रकारको हकहितका लागि स्थापना भएको महासंघलाई बृज सिमेन्टले प्रदान गरेको सहयोग सकारात्मक रहेको महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समिति संयोजक ज्ञवालीले बताए । पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनालाई सहायता दिँदै आएकोे छ । पुष्पतारा केडिया फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानका लागि काम गर्ने उद्देश्यले स्थापना गरिएको नाफारहित सामाजिक संस्था हो ।