वैशाख २०, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू. ३ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले यस वर्ष गत वर्षको भन्दा १९ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष सञ्चालन नाफा १८ दशमलव ३१ प्रतिशत बढी रू. ४ करोड ४७ लाख भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३६ दशमलव ९५ प्रतिशत बढेर रू. ९ करोड ५५ लाख कायम भएको छ ।
कम्पनीले यस वर्ष २३ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने २८ दशमलव ३९ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो । यस वर्ष कम्पनीले रू. ६९ करोड ४५ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
निक्षेप संकलन भने गत वर्षभन्दा २३ दशमलव ७७ प्रतिशत बढी रू. ४५ करोड २० लाख भएको छ । गत वर्ष ४ दशमलव ३९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४६ प्रतिशतमा झरेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४६ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ५५ रहेको छ ।