म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलुखेती शुरू गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलुखेती विस्तार गरेका हुन् ।
एक महीनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम शुरू गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताए । उनका अनुसार समूहमा आबद्ध १८ जनाले व्यावसायिक रूपमा सामूहिक आलुखेती गरेका छन् । यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत थप आलुखेती लगाउने तयारी गरेको बताएको छ ।
मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो । गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रूपमा आलुखेती शुरू गरेका कृषक समूहले मरेनीमा मात्र ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए ।
‘बाँझो जग्गामा आलुखेती गरिएपछि वर्षाैंदेखि बाँझो रहेको जग्गाको स्वरूप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलुखेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ,’ थापाले भने ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा आलु पकेट कार्यक्रमका लागि १२ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकामा आवेदन पेश भएकामध्ये छनोट भएको वडा नंं २ को सो समूह र वडा नं ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूहलाई रू. ६/६ लाखको दरले बजेट परिचालन गरिने कृषि शाखाले बताएको छ । रासस