काठमाडौं । फागुनमा धितोपत्र बजारमा १ खर्ब ६८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार उक्त रकम बराबरको ६ करोड १६ लाख ८२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । यो महीना २० कारोबार दिन बजार सञ्चालन भएको थियो ।
कुल कारोबारमा जलविद्युत् समूहको सर्वाधिक हिस्सा छ । धितोपत्र दोस्रो बजारमा जलविद्युत् क्षेत्रका सबैभन्दा बढी कम्पनी सूचीकृत छन् । कम पूँजी भएका यो क्षेत्रका कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी नै देखिएको छ । फागुनमा मात्र जलविद्युत् कम्पनीहरूको ७४ अर्ब ४३ करोड ४० लाख रुपैयाँभन्दा बढीको २ करोड ३३ लाख ९४ हजारभन्दा बढी शेयर कारोबार भएको हो । जलविद्युत् समूहका कम्पनीहरूको शेयर कारोबारको तथ्यांकलाई हेर्दा फागुनमा भएको कुल कारोबार रकममा ४४ प्रतिशतभन्दा बढी हिस्सा रहेको देखिन्छ ।
जलविद्युत् समूहपछि सर्वाधिक दोस्रोमा भने उत्पादन तथा प्रशोधन समूहको बढी शेयर कारोबार भएको छ । यो समूहको फागुनमा मात्र १२ अर्ब २५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको ७२ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको तथ्यांक नेप्सेले सार्वजनिक गरेको छ ।
यो महीना ५ अर्ब ९५ करोड ४३ लाख रुपैयाँभन्दा बढीको १२ लाख ५७ हजार कित्ता संस्थापक शेयर दोस्रो बजारमा कारोबार भएको छ । कुल कारोबारमा सबैभन्दा कम हिस्सा भने ऋणपत्रको छ । नेप्सेका अनुसार फागुनमा ५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको ५७ हजारभन्दा बढी कित्ता मात्र ऋणपत्र कारोबार भएको हो ।
धितोपत्र दोस्रो बजारमा ७५ कम्पनीको ऋणपत्र सूचीकृत छ । तर, सहजरूपमा ऋणपत्रको कारोबार हुने वातावरण दोस्रो बजारमा नभएकाले कारोबार कम भएको जानकारहरूको भनाई छ । अझ सरकारी ऋणपत्रको कारोबार भने दोस्रो बजारमा शून्य छ । हालसम्म सरकारी ऋणपत्रहरू डिम्याट नभएकाले दोस्रो बजारमा सूचीकृत भए पनि कारोबार भने शून्य रहेको हो ।
समूह
फागुनको कारोबार रकम रू दश लाखमा
फागुनको कारोबार कित्ता हजारमा
जलविद्युत्
74434.05
23394.44
उत्पादन तथा प्रशोधन
12259.74
7237.01
अन्य
7504.54
4793.61
जीवन बीमा
8067.95
4171.31
बैंकिङ
16935.73
4170.11
वित्त
9475.82
4030.48
लगानी
6298.44
3162.56
लघुवित्त
3810.99
3068.28
निर्जीवन बीमा
3821.83
2546.56
विकास बैंक
6601.07
2304.46
संस्थापक शेयर
5954.36
1257.7
होटल्स तथा पर्यटन
1817.13
1084.82
व्यापारिक
63.51
305.51
म्युचुअल फण्ड
11729.73
97.75
ऋणपत्र
59.31
57.53
कुल कारोबार
168834.2
61682.12
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।