संकटोन्मुख अवस्थामा रहेको अर्थतन्त्र जोगाउन अनेक प्रयास गरिएको भनिए पनि स्थितिमा सुधार नआएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको गत फागुनको ‘आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले यस्तो देखाएको हो । शोधनान्तर घाटा बढ्नु, अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति घट्नु, व्यापार घाटा र मूल्यवृद्धि तीव्र दरले उकालो लाग्नु, रेमिट्यान्स आप्रवाह वृद्धिदर ऋणात्मक हुनुलगायत सूचकले अर्थतन्त्रमा सुधार नभएको पुष्टि हुने अर्थविद्हरू बताउँछन् ।