हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । मुख्यमन्त्री पाण्डेले मंगलवार पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् ।
गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा माओवादी केन्द्रका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री नियुक्त गरेका हुन् । पाण्डेले नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका छन् भने एकीकृत समाजवादीका वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, वसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छीमन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपछी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय प्रांगणमा मंगलवार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । रासस