काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले ऐतिहासिक ढुंगेधाराको संरक्षण र भूमिगत पानी पुनर्भरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं १५ बाट शुरू गरिसकेको छ ।
इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँगको सहकार्यमा उक्त काम शुरू गरिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘शुरुआतमा कामपाका ३२ ओटै वडामा कति ढुंगेधारा छन्, कतिमा पानी नियमित रूपमा आउँछ, कतिमा आउँदैन, पानी पुनर्भरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ,’ प्रवक्ता मानन्धरले भने ।
उनका अनुसार ढुंगेधारा प्रणालीसँग शहरी विकासको शृंखला जोडिएको छ । शहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनर्भरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्न इञ्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरिएको उनले बताए । अध्ययनमा हिती (ढुंगेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र शीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरूको सौन्दर्यको पक्ष समेटिनेछ ।
यस्तै प्राचीन प्रणालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । स्मारक तथा अन्य क्षेत्रमा भएका ढुंगेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्वीर संग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिनेछ । कामपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी संकलन तथा पुनर्भरण, ढुंगेधाराको दिगो उपयोग र संरक्षणसम्बन्धी प्रस्ताव तथा सिफारिश पनि गर्नेछ ।
अध्ययन विशेषगरी कामपाका भित्री वडा, जहाँ ऐतिहासिक ढुंगेधाराको संख्या बढी रहेको स्थानसहित ३२ ओटै वडामा रहेका ती सम्पदाको तथ्यांक र संरक्षणका लागि केन्द्रित छ । पछिल्लो समय कामपाले पनि कामपा–१७, १८ र १९ का केही ढुंगेधाराको संरक्षणको काम गरिरहेको छ । रासस