सगरमाथा आरोहणप्रति बढ्दो आकर्षण

सगरमाथाको चुचुरोमा मौसम र आरोही समूहको तालमेल थिएन, तैपनि आरोहीको भीड उत्तिकै थियो। वसन्त ऋतुको यो यामसँगै बाह्र पटक सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा केही हतास भए, जतिखेर उनी क्याम्प ३ बाट ‘समिट’ का लागि अघि बढ्दै थिए । मे २३ तारिखका दिन क्याम्प ३ बाट माथि वेगले हावा चलेको थियो…

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका सात दशक

माउन्ट एभरेस्ट अर्थात् सगरमाथा नेपालको गौरव र विश्वको आकर्षण हो । विश्वकै सर्वोच्च भूमि हो सगरमाथा । सगरमाथाका विषयमा गीत र कविता सिर्जना भएका छन् । चलचित्र बनेका छन् । किताब लेखिएका छन् । सगरमाथाको तस्बिर नोटमा छापिएको छ । हुलाक टिकट प्रकाशित छ । सगरमाथा आरोहण गर्नु भनेको विश्व कीर्तिमान कायम गर्नु हो । यस्तो कीर्तिमान बनाउन विश्वका आरोही नेपाल आइपुग्छन् र शिखर चुम्ने साहस गर्छन् । सगरमाथा आरोहणको ७१ वर्षमा अनौठा कीर्तिमान कायम भएका छन् । अझै नौलो कीर्तिमान बनाउन आरोहीहरू सङ्घर्ष गरिरहेका छन् । मे २९ मा विश्वभर ‘एभरेष्ट डे’ मनाउने चलन पनि छ ।

ग्रेट हिमालय ट्रेलको बजारीकरण

विश्वकै लामो ट्रेलका रूपमा पहिचान गरिएको ग्रेट हिमालय ट्रेलको विकास तथा विस्तार निकै सुस्त गतिमा अघि बढिरहेको छ । घोषणाको १ दशक बितिसक्दा पनि ट्रेलको काम अघि बढ्न सकेको छैन भने पर्यटकले यसबारेमा खासै चर्चा गरेको समेत पाइँदैन । यसो हुनुको कारण यसको सही ढंगले प्रचार र बजारीकरण हुन नसक्नु हो । मुख्य कुरा हिमालय ट्रेलको प्रचार नै हो । यो पदयात्राका लागि अद्वितीय प्रडक्ट हो तर त्यसको प्रचार भएको छैन । यसका लागि जसरी सगरमाथाको देश भन्ने नेपालको पहिचान छ त्यसैगरी ‘द कन्ट्री अफ हिमालय ट्रेल’का रूपमा पहिचान स्थापित गरिनुपर्छ ।  नेपालले पदयात्रामा आउने पर्यटकको मनोविज्ञान बुझ्न नसकेको देखिन्छ । पदयात्रामा आउनेहरूले प्राकृतिक रूपलाई बिगार्ने गरी तयार पारिएको संरचनालाई रुचाउँदैनन्, किनकि पदयात्रा साहसिक कार्यभित्र पर्छ । प्रकृतिको चुनौतीलाई सामना गर्ने सोच नै साहसिक पर्यटनको मूल मनोविज्ञान हो । त्यसैले ग्रेट हिमालय ट्रेलमा बाटो बनाएर पदमार्ग तय गर्नु गलत हो । पदयात्रा एडभेन्चर पर्यटन हो । एडभेन्चर पर्यटनमा सजिलो बाटो खोजिँदैन, रहस्यको सामना गर्न तयार भएर नै पर्यटक आउँछन् । तर, अहिले त्यो रहस्यलाई निमिट्यान्न गर्ने गरी पदमार्गहरूमाथि अतिक्रमण गरिएको छ । ट्रेलमा भौतिक पूर्वाधार ‘निर्माण’ जरूरी छैन । एकाध पुलपुलेसा आवश्यक पर्छन् । त्यसबाहेक भौतिक संरचना बनाइनु हुँदैन । कतिपय पदमार्गको समानान्तर कच्ची सडक बनाइएको छ जहाँ गाडी गुड्छन् । गाडीले उडाएको धूलो र धुँवा खाँदै को पदयात्रा गर्न आउला ? त्यसैले पदयात्रा सम्बन्धमा नेपालले गम्भीर भएर सोच्ने बेला आएको छ । विश्वभरि नै छोटो र लामो दूरीको पदयात्राप्रति मानिसहरूको आकर्षण पाइन्छ । यस्तो पदयात्रा गर्ने बाटो प्राकृतिक हुनुपर्छ, सुनसान हुनुपर्छ र आपत् पर्दा चाहिँ उद्धार गर्न सकिने हुनुपर्छ । यति कुरामा ध्यान दिएर पदयात्रा मार्गको रूट तय गरिनुपर्छ । रूटको नाममा सिँढीयुक्त बाटो बनाइनु गलत हो । कल्पना गरौं, सगरमाथा आरोहणका लागि यस्तै बाटो बनाइएको भए त्यसको रहस्यात्मकता र सौन्दर्यले पर्यटकलाई साहसी बनाउँथ्यो होला त ? पक्कै पनि यसमा केही कमी आउँथ्यो । हिमालय ट्रेल पनि सगरमाथा आरोहण जत्तिकै रोमाञ्चक र साहसिक छ । तर, यसको प्रचार हुन सकेको छैन । जसरी सगरमाथा चढ्नुलाई गौरवको विषयका रूपमा प्रचार गरिन्छ हिमालय ट्रेल पूरा गर्नुलाई पनि त्यस्तै गौरवको विषयका रूपमा प्रचार गरिनुपर्छ । यो सगरमाथा चढ्नुजत्तिकै एड्भेन्चर हो तर नेपाल सरकारले नै समान किसिमले महत्त्व दिएको छैन । यसलाई गौरव र महत्त्वपूर्ण बनाउन बाटो सजिलो बनाउनुभन्दा पनि यात्रा गर्नेलाई प्रमाणपत्र दिनु बढी प्रभावकारी हुन्छ । ट्रेल पूरा गर्नेलाई त्यसको प्रमाणपत्र दिने हो भने त्यसको प्रचार बढी हुन्छ । हो, पूरै ट्रेल एकैपटकमा पदयात्रा गर्न सकिन्न । त्यसो हुँदा पटकपटक यात्रा गर्नेलाई पनि त्यसैअनुसार प्रमाणपत्र दिन सकिन्छ । पटकपटक गरेर पूरा ट्रेल यात्रा गर्नेलाई पनि प्रमाणपत्र दिनुपर्छ । यसो गर्दा यस ट्रेलमा गरिने पदयात्रा विशेष बन्छ । अहिलेसम्म एकाध व्यक्तिले मात्रै पूरै ट्रेलमा यात्रा गरेको देखिन्छ ।   नेपाल रहस्यले भरिएको देश हो । यही रहस्यकै कारण पर्यटक आउने हुन् । त्यो रहस्य र अद्वितीय विशेषतालाई नेपालले जोगाउनुपर्छ । त्यही कुरालाई बजारीकरण गरेर पर्यटकलाई आकर्षित गर्नुपर्छ । त्यसैले प्रकृतिको चुनौतीपूर्ण संरचनालाई सहज बनाइनु हुँदैन । त्यो चुनौतीपूर्ण र रहस्यपूर्ण नै रहन दिनुपर्छ । यसैका लागि पर्यटक आउने हुन् । खर्चालु र बढी समयसम्म बस्ने पर्यटक ल्याउने हो भने नेपालको यो विशेषतालाई मर्न दिनु हुँदैन । पदयात्राका लागि आवश्यक नक्सा, एप, उद्धार र सहयोगको व्यवस्था, सुरक्षाजस्ता कुरामा भने सरकारले ध्यान दिनुपर्छ । अहिले ठाउँठाउँमा पदयात्रा मार्ग बिगारिएको पाइन्छ । त्यसमा संघ सरकारले ध्यान दिनुपर्छ र त्यसलाई रोक्नुपर्छ । गाइडविना यात्रा गर्नेलाई गाइडसहित यात्रा गर्नेलाई भन्दा केही बढी दस्तुर लिनु उपयुक्त हुन्छ । मुख्य कुरा हिमालय ट्रेलको प्रचार नै हो । यो पदयात्राका लागि अद्वितीय प्रडक्ट हो तर त्यसको प्रचार भएको छैन । यसका लागि जसरी सगरमाथाको देश भन्ने नेपालको पहिचान छ त्यसैगरी ‘द कन्ट्री अफ हिमालय ट्रेल’का रूपमा पहिचान स्थापित गरिनुपर्छ ।

थपिने नयाँ हिमाल : आम्दानीको राम्रो आधार

नेपाल सरकारले केही नयाँ हिमाललाई पर्वतारोहीका लागि आरोहण गर्न खुला गर्ने तयारी गर्दै छ भन्ने समाचार आएको छ । अब खुलाइने नयाँ हिमालहरू ५ हजार ८ सय मीटरभन्दा माथि र ८ हजार मीटरसम्मका हिमाल रहने छन् । हुन त नेपालका हिमाल खुला गर्ने सम्बन्धमा धेरै अघिदेखि ८ हजार मीटरभन्दा माथिका अरू छ ओटा थपिने भन्ने कुरो चल्दै आएको छ । यसरी विगत ४/५ वर्ष अघिदेखि यस्ता हिमाल थपिने भन्ने चर्चा चले पनि ती थपिने नयाँ ८ हजार हिमालले हालसम्म औपचारिक रूपमा मान्यता पाइसकेको अवस्था छैन । जे भए तापनि अब थपिने ती छ ओटै हिमाल नेपाल सरहदभित्र रहेका छन् । हाम्रो देशमा हिमरेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मीटरभन्दा माथिका) १७ सयभन्दा बढी छन् । तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ४ सय १४ ओटा हिमाललाई मात्रै आरोहणका लागि खुला गरेको छ । अथवा भनौं ती हिमाललाई कानूनी रूपमा मान्यता दिएर कुनै पनि देशका पर्वतारोहीहरूबाट निश्चित रकम बराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ । तैपनि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटांै अग्लो चो–ओयु, सातौं अग्लो धवलागिरि, आठौं अग्लो मनास्लु, १०औं अग्लो अन्नपूर्ण प्रथमजस्ता अग्ला हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण रहेको देखिन्छ । त्यस्तै ७ हजार मीटर र त्यो भन्दा कम उचाइ भए तापनि आमाडाब्लाम, नुप्चे, पुमोरी, वरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनीको चुली, धाम्पुस (थापा) पिक, नीलगिरि, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, मेरा पिक, अन्नपूर्ण चौथो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरैजसो विदेशी पर्वतारोहीहरू नेपाल आउने गरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ ओटा ससाना हिमाल ‘ट्रेकिङ पिक’ भनी सरकारले अलग्गै खुला गरेको छ । हिमाल किन चढिन्छ ? वा विदेशीहरू किन करोडौं खर्च गरेर हिमाल चढ्न आउँछन् ? भन्ने सम्बन्धमा डाक्टर हर्क गुरुङले लेखेका छन् : ‘पशुले आहारा खोजेझैं मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईर्ष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।’ ‘पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किरात महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ ... ।’ डाक्टर हर्क गुरुङले विविध नामक किताबको ‘पर्वतारोहण’ शीर्षकको लेखमा लेखेका छन् । हुन पनि हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा हजारौं गुणा बढी विदेशी पर्वतारोही आउने गरेका छन् । अझ नेपालीहरू पेशेवर रूपमा पर्वतारोही हुन धेरै समय लाग्ने देखिन्छ । त्यसो त विदेशी पर्वतारोही नेपालमा रहेका विभिन्न हिमाल चढ्न आउने क्रममा वर्षेनि लाखौं अमेरिकी डलर नेपालका हिमाल चढेबापत नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो सगरमाथा र विश्वका ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये १० ओटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरूका लागि अहोभाग्य मात्रै नभएर प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो । गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको जमानामा त एक पर्वतारोहीले सगरमाथा चढ्न मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । अन्य खर्च त कति हो कति । हुन पनि हिमाल आरोहणको कुरो गर्दा गतवर्ष मात्रै (अप्रिल मे सिजनमा) २४० जना विदेशी पर्वतारोही र नेपाली सरदार, गाइड र क्लाइम्बिङ शेर्पा गरेर ६ सय ५८ जना पर्वतारोहीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै सगरमाथा आरोहण गरेबापत मात्रै नेपाललगायत विभिन्न ५३ देशका पर्वतारोही टोलीले सलामी दस्तुर बापत ४० करोड ८७ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा तिरेका थिए । खासमा उत्तरी छिमेकी चीन र सार्क राष्ट्रका छिमेकी देश पाकिस्तानमा विदेशी पर्वतारोहीले उनीहरूका देशमा रहेको जुनसुकै हिमाल आरोहण गर्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर नेपालको दाँजोमा ज्यादै कम तिर्छन् । त्यसैले नेपालले पनि हाम्रो देशमा रहेका हिमाल आरोहणमा आउने विदेशी पर्वतारोहीलाई लाग्ने रोयल्टी दर घटाउनेतर्फ सोच्ने बेला आएको छ । लेखक पर्यटनकर्मी हुन् ।

हिमाल आरोहणमा आकर्षण

नेपालमा मानिसले आफ्नो जन्मथलोभन्दा टाढाको देशमा गएर लाखौंलाख खर्च गरेर कैयौं दिन लगाएर ज्यानसमेत जोखिममा राखी विश्वका अग्ला र खतरनाक मानिने हिमाल चढ्ने गर्छन् । मानिस आफ्नो ज्यानको समेत पर्वाह नगरी किन हिमाल चढ्छन् त ?   विदेशीहरू किन हिमालय क्षेत्रमा घुम्न आउँछन् भन्ने विषयमा नेपालका भूगोलविद् तथा अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भनेका छन्, ‘पशुले आहारा खोजेझैं मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईर्ष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो । पर्वत संसारको सबभन्दा गोप्य अंग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र ... ।’ हुन पनि डाक्टर हर्क गुरुङले भनेझैं नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोही पर्वतारोहणका लागि आइरहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा ९९ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । नेपाली पर्वतारोहीहरू ‘पेशेवर पर्वतारोही’ हुन अझै धेरै समय लाग्ने देखिन्छ । विदेशी पर्वतारोहीहरूले नेपालका हिमाल चढ्न आउँदा सरकारलाई सलामी ‘रोयल्टी’ तिर्ने गरेका छन् । गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ । विदेशी पर्वतारोहीहरूले अहिलेको अवधिमा सगरमाथा चढ्न मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरूले गर्ने अन्य खर्च धेरै हुन्छ । गतवर्षको हिउँदे याममा मात्रै नेपालका ५३ ओटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोही आएका थिए । तीमध्ये २७ ओटा हिमाल मात्रै पर्वतारोहीले सफलतापूर्वक आरोहण गरेका थिए । गतवर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीबाट सरकारले अनुमति दिएबापत ६ करोड ५३ लाख ८३ हजार रुपैयाँ सलामी दस्तुर उठाएको थियो । गतवर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले तिरेको सलामी (रोयल्टी) बापत मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यो वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य सलामी दस्तुर आम्दानी गर्ने देखिन्छ । हालसम्म ४ सय १४ ओटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौं अग्लो चो–ओयु, सातौं अग्लो धवलागिरि, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथम हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण देखिन्छ ।   लेखक पर्यटनकर्मी हुन् ।

पर्यटनमा पर्वतारोहणको योगदान

नेपालमा हाल पर्यटन र पर्वतारोहणको मुख्य सिजन छ । त्यसैले नेपालको हिमाली क्षेत्रमा पदयात्रा गर्न जाने पदयात्री र पर्वतारोहण गर्न जाने पर्वतारोहीहरूको भीड छ । हुन त नेपालको समग्र राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान कुल अंशको लगभग ४ प्रतिशत मात्रै रहेको मानिन्छ । गतवर्ष कोरोना महामारीबीच पनि नेपाल सरकारलाई नेपालको पर्वतारोहण क्षेत्रबाट रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । यसरी हेर्दा पर्यटनभित्र पनि राजस्वको मुख्य स्रोत पर्वतारोहण पर्यटनलाई लिन सकिन्छ । अर्थात् नेपालको समग्र पर्यटन क्षेत्रमा पर्वतारोहण पर्यटनको मुख्य योगदान रहेको देखिन्छ । त्यसमा पनि गएको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न गएका पर्वतारोहीबाट मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै यो वर्ष पनि समग्र नेपालको पर्वतारोहणबाट नेपाल सरकारले विभिन्न हिमाल आरोहण गर्न अनुमति दिएबापत ४७ करोड बराबर आम्दानी गर्‍यो । सगरमाथा हिमाल आरोेहण गर्न आएका विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीबाट मात्रै ३९ करोड ५५ लाख नेपाली रुपैयाँ बराबरको कमाइ गरेको छ । हुन पनि गतवर्ष कोरोना महामारीको संकट बाँकी नै भएको अवस्थामा पनि हिउँद र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका पर्वतारोही दलका सदस्यले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । त्यसो त गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका भारतको गुजरात, मुम्बईलगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण गतवर्ष धेरै दिनसम्म आरोहण नै रोकियो । समग्रमा विश्वका ती ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठ ओटा (६० प्रतिशत) नेपालमा हुनु हाम्रा लागि गौरवको कुरो हो । १४ अग्ला हिम चुचुराहरू सबै नै एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपालको पश्चिमबाट पूर्व भएर जान्छ । हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा (८ हजार ८ सय ४८ दशमलव ८६ ) हो भने हो । उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । त्यस्तै, विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाइ ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन र नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमाल चाहिँ धवलागिरि हो । यसको उचाइ ८ हजार १ सय ६७ मीटर रहेको छ । सन् १९६० को १३ मे मा स्वीट्जरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १० औं अग्लो हिमाल चाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । समुद्री सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइला राख्न सफल भएको थियो । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थिए । यसरी नेपालका हिमालहरूले पर्यटक आकर्षण गरेका छन् । हिमाल आरोहणका लागि आउने पर्यटकहरूबाट नेपालको पर्यटन व्यवसायले राम्रो लाभ लिएको छ । यसलाई अझै व्यवस्थित गर्न आवश्यक छ ।   लेखक पर्यटनकर्मी हुन् ।

आज सगरमाथा दिवस, सुनसान सगरमाथा

आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो ।