खुम रायामाझी, कुवेत ।
कुवेतमा एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । विगत ६ वर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी बर्दिया जिल्ला ठाकुरबावा नगरपालिका वडा नं.९ सुतैया स्थायी घर भएकी ३४ वर्षीया सविता योगीले २५ जनवरी २०२१ का दिन झुण्डिएर आत्महत्या गरेकी हुन् ।
नेपाली राजदूतावास, कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवालका अनुसार योगीले आत्महत्या गरेको प्रमाणित भई राजदूतावासलाई जानकारी आएको र सम्पूर्ण कानुनी प्रक्रिया पुरा भइसकेको छ ।
यहाँको कानुनी प्रक्रिया पुरा भइसकेको हुँदा मृतकको साहु र घरपरिवारसँग समन्वय गरी शवलाई ३० जनवरी २०२१ दिन साँझ ८ वजे कतार एयरवेजको उडानबाट नेपाल पठाउने तयारी गरेको जानकारी सिलवालले दिनुभएको छ ।
सविताका आफन्तले भने केही व्यक्तिले सामाजिक सञ्जालमा चरित्र हत्या गरेका कारण पीडा भएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।
‘सविताले घरपरिवार धान्नको लागी संघर्ष गरिरहेकी थिइन् । घरसम्बन्ध राम्रै भएको र उनका श्रीमानको केही वर्ष पहिला भारतमा दुर्घटना भई मृत्यु भएको थियो’ भारतको गुजरातमा रहेका मृतक सविताका मामा हरी गिरीले युगदर्शनसँग टेलिफोनमा कुरा गर्दै भन्नुभयो, ‘केही दिन पहिला सविताले फोनमा कुराकानी गर्ने क्रममा केही अपरिचित व्यक्तिहरुले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गरिरहेको कारण असह्य पीडा भएको बताएकी थिइन् ।’
मृतक सविता योगीको घरमा ससुरा र १ छोरा छन् भने छोरीको विवाह भइसकेको थाहा हुन आएको छ।