भ्रष्टाचार छु मन्तर

चारैतिर भ्रष्टाचार भगाउने कार्यक्रम जारी छन् । भ्रष्टाचारका मुद्दा र प्रतिवेदनहरू हजारौं हाराहारी छन् । अख्तियारदेखि अदालतसम्म मुद्दा, सुनुवाइ, थुनछेक बहस जारी छन् । अब त यदि तपाईंले आलु, प्याज, फलफूल किन्दै हुनुहुन्छ भने पनि त्यसमा पनि हरेक प्रकारका भ्रष्टाचारलाई भगाउने पूर्ण रूपमा ग्यारेन्टी हुन्छ । कसरी भन्नुहोला ? तपाईं हाम्रो भान्छामा आलु, प्याज आइपुग्न नीति निर्माता, बिचौलिया, प्रहरी, प्रशासन आदि सबैको भाग, स्वस्ति–शान्ति प्रक्रिया पुग्नुपर्छ । नत्र कि बोर्डरमा समातिन्छ कि विषादी परीक्षणमा, नभए तौल अपुग भएको वा कम गुणस्तरको बनिदिन्छ । अर्थात् तपाईं हाम्ले तरकारी किन्नुअघि नै भ्रष्टाचार र भ्रष्टाचारीलाई उनीहरूको मनशान्त गरेर पहिल्यै पाखा लगाइसकिएको हुन्छ । यसो गरेर सरकारले भ्रष्टाचारको समूल नष्ट गरेको पक्कापक्की गर्छ ।  हरेक सरकारको पहिलो प्राथमिकता भ्रष्टाचार निर्मूल नै रहेको छ । ‘म भ्रष्टाचार गर्दिन’ भन्ने वाक्य अफिस अफिसमा टाँस्ने अभियान चलाइएकै छ । ‘भ्रष्टाचारीको मुखै हेर्दिन’ भन्ने महान् प्रधानमन्त्री नेपालमै भए । ‘भ्रष्टाचारीको मुखमा किरा परोस्’ भन्ने पर्चा कति बाँडिए कति । भ्रष्टाचार रोक्ने ग्यारेन्टीकै लागि अख्तियार दुरुपयोग आयोग, संसदीय छानबिन आदि सक्रिय छन् । यी संस्थाहरू जसले जतिसुकै ठूलो भ्रष्टाचार गरेको भए पनि गरेको छैन भनेर क्लिनचिट थमाउन धेरै मेहनत गर्छन् ।  बजारमा तपाईं कुनै इलेक्ट्रिक गाडी वा कुनै सामान खरीद गर्दै हुनुहुन्छ भने विक्रेताले तपाईंले किनेको सामान बिग्रियो वा तलमाथि पर्‍यो भने साटफेर गर्ने वा फिर्ता गर्ने वारेन्टी–ग्यारेन्टी दिन्छन् । त्यसैगरी तपाईंले खरीद गर्ने प्रत्येक वस्तु तथा सेवामा भ्रष्टाचारलाई खत्तम गर्ने प्रावधान पहिल्यै राखिएको हुन्छ । त्यै भएर त हरेक अर्थमन्त्रीले हरेक बजेट भाषणमा पटकपटक भ्रष्टाचारलाई खत्तम गर्ने वारेण्टी ग्यारेण्टीसहितको घोषणा गरिरहन्छन् । प्रत्येक सांसददेखि मन्त्री र सरकारी हाकिमहरू पनि भ्रष्टाचारलाई कार्यालयमा प्रवेश गर्नै नदिने वाचा दोहोर्‍याइरहन्छन् । यातायात, मालपोत कार्यालयहरूमा बिचौलिया छिर्नै नदिने नीति लिएका छन् र बडाबडा तुल टाँगिएका छन् । चुरोट सुर्तीका बट्टामा धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भनेर लेखेको हुन्छ र त्यस्ता वस्तुको खपत स्वाट्टै घटेको छ रे । नघटेको भए किन लेख्न लगाइन्थ्यो र ? त्यसैगरी अब नेपालमा विक्री हुने हरेक वस्तुको बाहिर ‘भ्रष्टाचार समाजको क्यान्सर हो’ भनेर लेखौं भन्ने यस पंक्तिकारको जोडदार माग छ । शायद आउने बजेट भाषणमा आउला यो पनि । टेलिफोनका रिंंगटोन, टिभीका पर्दामा, रेडियोमा अनि चोक चोकमा माइक राखौं ‘भ्रष्टाचार समाजको क्यान्सर हो’ भन्दै । हरेक कार्यक्रममा राष्ट्रिय गान गाउनुपूर्व यही सन्देश गरौं प्रवाह । अनि न हुन्छ बाँकी बचेको भ्रष्टाचार पनि स्वाह, अनि न पाइन्छ वाह वाह ⁄  जसरी उपभोक्ताले सामान खरीद गर्दा उत्पादक तथा विक्रेताबाट सस्तो, राम्रोेदेखि र गुणस्तरीय सामान लिँदा अनेक किसिमका ग्यारेन्टी पाउँछन्, त्यस्तै सरकार, नेता र कर्मचारीबाट भ्रष्टाचार खत्तम पार्ने ग्यारेन्टी पनि सस्तोदेखि गुणस्तरीयसम्म पाइन्छ । यता, ग्यारेन्टी, उता ग्यारेन्टी । दाँया ग्यारेन्टी, बाँया ग्यारेन्टी । ग्यारेन्टी नै ग्यारेन्टी । जसरी भाइरस भगाउने र गरीबी घटाउने ग्यारेन्टी चारैतिरबाट वर्षिरहेको छ, त्यसैगरी संसद्देखि प्रत्येक सरकारी कार्यालय, विभागबाट समेत भ्रष्टाचार भगाउने ग्यारेन्टी पूर्ण गतिमा चलिराछ । अझ यो मनसुनी मौसममा त देशैभरिका सडक र खाल्डाखुल्डी देखेर समेत भ्रष्टाचार भागेको भाग्यै छ, अथवा तिनै खाल्डाखुल्डीमा डुबिरहेको छ, पुरिइरहेको छ । तपाईंले कतै भ्रष्टाचार देख्नुभएको छ त ? भए त ग्यारेन्टी पाएको वस्तु माग्न गइहाल्नुहुन्थ्यो नि ? तपाईं हामी सबै ढुक्क छौं, किनभने सरकारले भ्रष्टाचार हुन नदिने ग्यारेन्टी जो गरेको छ । साबुन, पानी, फ्रिज, टिभीदेखि नैतिकतासम्मको ग्यारेन्टी छ यो देशमा । भारतमा नचल्ने भारू सटाउनेदेखि सजिलै विदेश पठाउनेसम्म ग्यारेन्टी छरपस्ट छन् । यत्रा यत्रा ग्यारेन्टी छन् कि अब यी ग्यारेन्टीहरू देखेर भ्रष्टाचारीहरू नै हार खाइरहेका छन् । त्यसैले त रामराज्य छ देशमा । कुनै नेता गंगाजलले मुख धोइराछन् । कोही मन्दिर मन्दिर चहार्दै नैवेद्य र फूल चढाइराछन् । दलालहरू आँखा नदेख्नेहरूलाई ऐना देखाइराछन् । नेताहरू जनताका बाँझा तालुहरूमा आलु फलाउने भन्दै फलाकिरहेछन् । हाकिमहरू कपाल नभएकालाई काइँयो दिने योजना बनाइराछन् । मुर्दाहरू अर्थीलाई काँध दिने कुरा सुनाइराछन् । नेताका चरणमा पुगेका भोटरहरू विभिन्न सिफारिशका लागि बिन्तीभाउ, रोइकराइ गरिराछन् । नेताहरू आफ्ना चप्पल हातमा लिएर भनिरहेका छन् ‘मान या नमान हाम्रो त यही हो विगत अनि वर्तमान’ । जनता पनि के कम, तिनै नेताका चप्पल बोकेर आपसमा एकअर्कालाई चप्पल हिर्काइरहेका छन् । राजनीतिक आकाशमा थरीथरीका चप्पल हल्लिरहेका छन् । यो जातिको चप्पल, त्यो जातिको चप्पल । यो धर्मको चप्पल, त्यो धर्मको चप्पल । यो दलको अझ यो गुटको चप्पल, त्यो गुटको चप्पल । यो प्रदेश र यो जिल्लाको वा त्यो जिल्लाको चप्पल । भ्रष्टाचार भगाउने नेतावादी चप्पलहरू लहराइरहेका छन् । सक्कली दलका नक्कली चप्पलहरू हल्लिरहेका छन् । स्वतन्त्रका नाममा परतन्त्री चप्पल पनि खैलाबेला गरिरहेका छन् । प्रत्येक ठाउँमा भ्रष्टाचारको यति राम्रोसँग उपचार भइरहेको देखेर बिचरा इमानदारी जिल्ल परेको छ । इमानदारी अब सोचिराछ, ‘अब म कहीँ गएर के हुन्छ ? टिभीमा भ्रष्टाचारविरोधीलाई देखाउँछन्, अखबारमा उसैलाई लेखाउँछन्, होर्डिङ बोर्ड र सामाजिक सञ्जालको भित्तामा उनै छाउँछन् । म इमानदारलाई देखाएर तिनले के पाउँछन् ?’ पत्रकार उनकै, कर्मचारी, प्रहरी, प्रशासन, नेता–अभिनेता सबै सबै भ्रष्टाचारीकै भएपछि अब भ्रष्टाचारको उपचार त पक्का भैगो नि । सडकदेखि सदनसम्म उसकै झलक, तडक, भडक, प्रदर्शन प्रत्येक दिशामा कायम छ । इमानदारीले जेसुकै सोचोस्, यति भएपछि भ्रष्टाचार भाग्ने त ग्यारेन्टी नै छ त ⁄ भ्रष्टाचार अब छु मन्तर हुने भो । यसमा कुनै शंका छ र ? मन मैलो तन उज्यालो, भाषणमा उच्च विचार कुरा सदाचारको तर भित्र छ टन्न भ्रष्टाचार लोकतन्त्रको रूखमा कौवा गाउँछ सदाचार   आहत जनता रुन्छन्, भन्छन् अति भोे पापाचार । महँगीले मार्‍यो सबलाई, योजना, बजेट सबैमा झेल पंख लगाई उडे नभमा दाल, चामल र तेल फेसबुक, ट्विटर अखबारतिर बन्छन् टनेल र रेल  सिन्को नभाँच्ने, करमा पेल्ने सरकारको उल्टो खेल ।  कालो धन थुपार्दै नेता, रोक्ने कसको जोर हाँगाहाँगामा सरकार छ, पातपातमा कर चोर अपराधीसँगै चिया पिउँछ पुलिस भन्छ ‘फरार’ भ्रष्टाचार कतै नदेखिने तर भइरहने देश अपार । तामझाम खुब देखाऊ, नीति र योजना देशको  काम चाहिँ कछुवा तालमा खेल हो यो चेसको भ्रष्टाचारको रामराज्यमा के काम छ र इमानको त्यसैले अब जुटौं माग्दै राज्य विधिविधानको ।

सम्बन्धित सामग्री

‘व्याप्त भ्रष्टाचार रोक्न गरौं हातेमालो’

काठमाडौं । देश भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्छ, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, व्याप्त भ्रष्टाचार रोक्न निकै चुनौतीपूर्ण छ । त्यति मात्रै होइन अख्तियारको थप निष्कर्ष छ, ‘सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार हुने प्रवृत्ति विद्यमान छ ।’ अख्तियारको यो […]

वृक्षारोपणको बजेटमा भ्रष्टाचार

काठमाडौँ । वातावरण संरक्षण गर्ने र हरियाली प्रवर्द्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा लिइन्छ । तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो अपराध के होला? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपीले वृक्षरोपण गर्न विनियोजन गरिएको रकममा भ्रष्टाचार […]

भ्रष्टाचार नियन्त्रण, कुरामा होइन काममा

भ्रष्टाचार नेपालको सामाजिक महारोग हो। यसको नियन्त्रणका लागि भ्रष्टाचार निवारण ऐन, सुशासन ऐन र  सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा छन्। तर, ताजूवको कुरो, भ्रष्टाचार ज्यूँकात्यूँ छ।नेपाल सरकारले सुशासनलाई प्राथमिकता दिदै भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गरेको छ। साथै,  सुशासन प्रबर्द्धनका थुप्रै कार्यक्रम संचालन गरिआएको छ। तथापि, यी सबै प्रयासको बाबजुद विश्वव्यापी रुपमा सुशासनको मापन गर्ने सूचकाङ्कले नेपालको अबस्था कमजोर देखाएको छ।ट्रान्सपरेन्सी ईण्टरनेशनलको करप्सन परसेप

भ्रष्टाचार न्यूनीकरणमा सचेतना

विकास निर्माणलगायत प्रशासनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न बागलुङका सवै निकायलाई सचेत गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक अन्तर–संवाद कार्यक्रममार्फत स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई बिहीबार सचेत गराइएको हो ।

संस्थागत भ्रष्टाचार र बेरुजु

भ्रष्टाचार संस्थागत रूपमै सुसंगठित भयो भनी सर्वत्र अलोचना हुँदै आएको छ । तथापि, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियारले नै राज्यको लाचार छाया बन्नुपर्दा छानबिनमा परेका अधिकांश घटनाको कानुनी रूपमा किनारा लाग्न सकेको छैन । राज्य नै भ्रष्टाचारको संरक्षक बन्ने प्रवृत्ति मौलाउँदै आउँदा अख्तियारको काम कार्य पनि प्रभावित बन्दै आएको […] The post संस्थागत भ्रष्टाचार र बेरुजु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कहाँ हुन्छ भ्रष्टाचार ? कसरी हटाउने भ्रष्टाचार ?

के हो भ्रष्टाचार ?  भ्रष्टाचारलाई अथ्र्याउने सन्दर्भमा एकजना प्रशासकले भनेका थिए ‘यो सवैले गर्ने तर गरेको देखाउन नचाहने कार्य हो ।’ यस अभिव्यक्तिले भ्रष्टाचार प्रणालीवद्ध र