विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण प्रमुख रिञ्जी शेर्पासहितको टोलीले मेयर नागेश कोइरालालाई भेटी १ महीनाभित्र सबै किसिमको कर तिर्न तयार भएको जानकारी गराएको छ ।
प्राधिकरणको टोलीले शुक्रवार मेयर कोइराला, महानगरको राजस्व महाशाखाप्रमुख सरोज गौतम, वातावरण तथा सरसफाइ शाखाप्रमुख पुनमकुमार दाहाल र महानगर प्रहरीका प्रमुख राजन पौडेललाई भेटेको थियो ।
प्राधिकरणको टोलीले व्यवसाय, बहाललगायत कर तिर्ने र नक्सा पास नभएका भवनको नक्सा पास गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
प्रतिबद्धताअनुसार नक्सा पास र कर चुक्ता नगरे फोहोर नउठाउनुको साथै निर्माणाधीन टर्मिनल भवनमा सामान लैजाने सडकसमेत बन्द गरिदिने मेयर कोइरालाले चेतावनी दिएका छन् ।
महानगरवासीले तिरेको करबाट बनाएको सडकमा प्राधिकरणको टर्मिनल भवन निर्माणका लागि सडकको क्षमताभन्दा बढी भारका मालवाहक सवारी प्रवेश गर्ने गरेको मेयर कोइरालाले बताए ।
सटर भाडा लगाएर आम्दानी गर्ने, जहाज पार्किङ गरेबापत भाडा लिने, सेवाबापत यात्रुसित कर लिने प्राधिकरणले महानगरलाई अहिलेसम्म कुनै किसिमको कर नतिर्नु आपत्तिजनक भएको पनि मेयर कोइरालाले बताए । स्थानीय सरकार सञ्चालन ऐनले तोकेको र संविधानले दिएको अधिकार प्रयोग गरेर जुनसुकै निकायलाई पनि करको दायरामा ल्याउन आफू प्रतिबद्ध रहेको उनले बताए ।