रोल्पा । रोल्पाका ग्रामीण क्षेत्रका बासिन्दाको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा पक्की पुल निर्माण शुरू भएकोे छ । खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महिना सवारीसाधन सञ्चालन गर्न विभिन्न १४ ओटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो । संघ र प्रदेश सरकारको लगानीमा निर्माणाधीन पुल सम्पन्न भएसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुनेछ ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गतवर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुईओटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ ओटा निर्माणको चरणमा छन् ।
चालू आर्थिक वर्षमा संघीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँचसमेत थप ६ ओटा पक्की पुल स्वीकृत भएका छन् । चालू आव र अघिल्लो आवसमेत गरी जिल्लामा १४ ओटामध्ये दुईओटाको निर्माण सम्पन्न भएको र बाँकी १२ ओटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले बताएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले कार्यान्वयन गर्दै आएको छ । जिल्लाका दशओटै स्थानीय तहमा पुल निर्माण भइरहेको छ । आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने अपेक्षा गरिएको छ । रासस