अनियन्त्रित रिसले स्वास्थ्यमा कस्तो असर पार्छ ?

रिस उठ्नु स्वभाविक क्रिया हो । तर जब यो अनियन्त्रित हुन्छ, त्यसबेला भने समस्या निम्त्याउँछ । रिसअनुसार जीवन चल्न थाल्छ । अत्याधिक रिसले काममा, सम्बन्धमा मात्र होइन, गुण्स्तरीय जीवनमै परिवर्तन ल्याउँछ । रिस र आवेगले व्यक्तिलाई …

सम्बन्धित सामग्री

गाँजालाई ‘नियन्त्रित वैधता’ दिन सिफारिश

काठमाडौं। नेपालमा गाँजाको वैधताबारे गम्भीर बहस भइरहेको बेला यसलाई ‘नियन्त्रित वैधता’ दिन सरकारलाई सिफारिश गरिएको छ । नीति अनुसन्धान प्रतिष्ठानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरण : सम्भावना र चुनौती’ विषयमा एक अध्ययन गराई विश्वका कैयौं देशले उक्त नीति अवलम्बन गरेको भन्दै सरकारलाई उक्त सिफारिश गरेको हो ।  डा मनिता कुसी, डा हरि शर्मा न्यौपाने डा मुकुन्दराज कट्टेल, अधिवक्ता हरिप्रसाद मैनाली, प्रा राजेन्द्र ज्ञवाली, डा प्रेरक रेग्मी, पुष्कर बस्याललगायतले प्रतिष्ठानका लागि अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा नियन्त्रित प्रयोगसम्बन्धी वर्तमान ऐन (लागू औषध नियन्त्रण ऐन, २०३३) परिमार्जन गर्न सिफारिश गरिएको छ ।  गाँजाको व्यापार र प्रयोगको नियमन प्रक्रिया, पद्धति र संरचना विकास गर्न अध्येताहरूले सिफारिश गरेका छन् । तत्काललाई गाँजाको अनियन्त्रित वैधता सम्भव नरहे पनि अन्य देशहरूले अवलम्बन गरेजस्तै ‘नियन्त्रित वैधता’को बाटो अवलम्बन गर्न सकिने संकेत अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा गरेका छन् ।  तर गाँजाजन्य वस्तुहरूको ‘हानि पक्ष’बारे सचेत रहन भने जरुरी रहेको उनीहरूको निष्कर्ष छ । त्यसको निगरानी, निवारण तथा उपचारका लागि आवश्यक नियमनका औजार निर्माण गर्ने तथा गाँजाजन्य पदार्थको प्रयोगबाट सृजना हुने सहउत्पादनहरू (दुव्र्यसन, सामाजिक हिंसा आदि) को सम्बोधन गर्न निर्दिष्ट पद्धति, संरचना र मानव संसाधन तयार गरिनु अत्यावश्यक रहेको र यस्ता संरचनामा व्यवसाय तथा मनोरञ्जन दुवैलाई सम्बोधन गर्न सक्ने प्राधिकार कौशल तथा दक्षता हुनु जरुरी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययन प्रतिवेदनअनुसार लागू औषधसम्बन्धी मौजुदा ऐनमा गाँजाको नियन्त्रित प्रयोजनबारे स्पष्टता कायम गरिनुपर्छ । साथै सम्बन्धित सरकारी निकायले यससम्बन्धी स्पष्ट नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याए गाँजाको प्रयोगसम्बन्धी वर्तमान अस्पष्टता हटाउन सकिने अध्ययनले देखाएको छ ।  प्रयोगका आधारमा गाँजालाई परिभाषित गर्न अध्येताहरूले सिफारिश गरेका छन् । लागू औषध नियन्त्रण ऐनको मौजुदा परिभाषाले गाँजाका सबै प्रजातिलाई अवैध भनेको छ । यसअनुसार शून्य दशमलव ३ प्रतिशतभन्दा कम टीएचसी हुने प्रजाति (जसको औषधीय तथा मनोरञ्जनात्मक असर नगन्य मानिन्छ र औद्योगिक उत्पादनका लागि प्रयोग गरिन्छ) को खेती तथा व्यवसाय पनि गैरकानूनी मनिने भएकाले यस परिभाषाको परिणामस्वरूप गाँजामा आधारित घरेलु तथा साना उद्योगहरू बन्द भएको अध्ययनबाट देखिएको छ ।  ‘भविष्यमा यस्तो अवस्था आउन नदिन गाँजामा पाइने यौगिकका आधारमा गाँजाको परिभाषा गरिनु आवश्यक छ । यस प्रयोजनका लागि शून्य दशमलव ३ प्रतिशतभन्दा कम टीएचसी भएका प्रजातिलाई ‘औद्योगिक गाँजा’ या यस्तै अन्य नाम दिई खेती तथा व्यवसायका लागि अनुमति दिने र शून्य दशमलव ३ प्रतिशतभन्दा बढी टिएचसी भएका प्रजातिलाई ‘नियन्त्रित प्रयोग’को सिद्धान्तअनुसार उचित नियमनसहित अनुसन्धान तथा औषधीय प्रयोगका लागि अनुमति दिने व्यवस्था गर्नु उपयुक्त हुन्छ,’ सिफारिशका बुँदामा भनिएको छ । त्यस्तै अध्ययन प्रतिवेदनमा गाँजाको औषधीय पक्षबारे सुसूचित ज्ञान निर्माणका लागि वैज्ञानिक अध्ययन गर्न सिफारिश गरिएको छ । नेपालमा गाँजाको औषधीय गुणबारे खासै अनुसन्धान नभएको उल्लेख गर्दै परम्परागत/आयुर्वेदिक अभ्यासमा आधारित अहिलेसम्मको ज्ञान विज्ञानसम्मत नरहेको पनि बताइएको छ । नेपाली गाँजालाई औषधि विज्ञानको अभिन्न अंग बनाई विश्व बजारमा स्थापित गर्न सकिने सम्भावनालाई मध्यनजर गरी कुन प्रजातिको गाँजामा कुन मात्राको कस्तो रासायनिक तत्त्व पाइन्छ सो निर्धारण गर्नु जरुरी रहेको र यसका लागि आधुनिक प्रयोगशाला, दक्ष जनशक्ति उत्पादन तथा गुण नियन्त्रणका लागि आवश्यक पूर्वाधारको विकास गर्न जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ । औद्योगिक प्रयोजनका लागि वैज्ञानिक गाँजा खेती प्रवर्द्धन गर्न प्रतिवेदनले सुझाएको छ । अध्ययनबाट गाँजाको समग्र खेती तथा प्रयोगमा प्रतिबन्ध भएकाले औद्योगिक प्रयोजनका लागि गर्न सकिने खेतीबारे पनि हालसम्म अध्ययन तथा विश्लेषण नभएको देखिएको छ । भौगोलिक तथा प्राकृतिक विविधताअनुसार फरक–फरक प्रजातिका गाँजाको खेती गरी औद्योगिक लाभ लिन सकिने सम्भावना देखिने भए पनि नेपालको कुन हावापानीमा कुन प्रजातिको गाँजा खेती उपयुक्त हुन्छ भन्ने वैज्ञानिक ज्ञानको अभाव देखिएको अध्ययनले देखाएको छ । यो अभाव पूर्तिका लागि भौगोलिक वातावरण र हावापानी अनुकूल गाँजा खेतीको प्रवर्द्धन गर्न आवश्यक अध्ययन अनुसन्धान गरी सोहीअनुसार खेती गर्न कृषकलाई अभिमुखीकरण गर्ने र तालिम दिने संरचनात्मक व्यवस्था गर्न सिफारिश गरिएको छ ।  अध्ययन प्रतिवेदनमा प्रमाणमा आधारित आयुर्वेदिक चिकित्साको प्रवर्द्धन गर्न पनि सुझाइएको छ । अध्ययनअनुसार आयुर्वेदिक चिकित्सा प्रणालीमा गाँजा–मिश्रित औषधि निर्माणको लामो परम्परा रहेको पाइन्छ । यस्ता औषधिहरू अपच, बाथ, दूषित भोजन (फुड पोइजनिङ)का कारण सृजित समस्यालगायत थुप्रै रोगको उपचारमा प्रयोग हुने गरेको पाइन्छ । तर, यी तथा अन्य आयुर्वेदिक औषधिको दीर्घकालीन असरबारे विश्वसनीय (वैज्ञानिक) ज्ञानको अभाव छ, यसले गर्दा लामो इतिहास र परम्परा भएको आयुर्वेदिक चिकित्सा प्रणालीको अपेक्षित प्रवर्द्धन हुन सकेको छैन । यो समस्या समाधानका लागि आयुर्वेदिक औषधि निर्माणमा प्रयोग गरिने गाँजालगायत अन्य रैथाने वनस्पतिहरूको औषधीय गुण परीक्षण गर्ने, तिनले निदान गर्न सक्ने रोगको पहिचान गर्ने र वैज्ञानिक विधिमार्फत तिनको प्रशोधन गर्ने पद्धति र जनशक्तिको विकास गरी प्रमाणमा आधारित आयुर्वेदिक चिकित्साको प्रवर्द्धन गर्न सके मानव स्वास्थ्यमा राम्रो योगदान पुग्न सक्ने प्रतिवेदनमा औंल्याइएको छ । गैरअपराधीकरण या नियन्त्रित वैधतासँगै गाँजा या गाँजाजन्य औषधिको प्रयोगका कारण सृजना हुन सक्ने कुलत लगायत अन्य मनोसामाजिक जोखिम सम्बोधन गर्न सरकारी तहमा शीप, दक्षता तथा प्रविधिसम्पन्न पुनस्र्थापना केन्द्र स्थापना गर्नु आवश्यक रहेको र यसका लागि नियमावली निर्माण गरी तालिम प्राप्त मानव संशाधनको व्यवस्थापन पनि उत्तिकै जरूरी रहेको अध्ययन प्रतिवेदनमा देखाइएको छ । प्रतिवेदनमा गाँजाको माग र आपूर्तिको नियमित अवस्था विश्लेषण गर्न जरुरी रहेको बताइएको छ । ‘गाँजा खेतीबाट बढीभन्दा बढी फाइदा लिन आपूर्ति बढ्नासाथ मूल्यमा ह्रास आउने अवस्थालाई ख्याल गरी नियमित रूपमा माग र आपूर्तिको अवस्था विश्लेषण गर्ने र सोहीअनुसार उपचारात्मक उपाय अपनाउने प्रणालीको पनि विकास गर्नु जरुरी हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।  नेपालमा प्रतिबन्धको इतिहास  सन् १९६१ मा संयुक्त राष्ट्र संघले गाँजालाई लागू औषधको सूचीमा राखी विश्वव्यापी रूपमा यसको उत्पादन र प्रयोगमा कडाइ गर्नुपर्ने प्रस्तावसहित एकल महासन्धि पारित गरिएको थियो । संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपाल सरकारले उक्त महासन्धिलाई अनुसरण गर्दै २०३० सालमा एक राजनीतिक घोषणामार्फत नेपालमा पनि गाँजाको खेती, उपयोग र व्यापारमा प्रतिबन्ध लगायो । त्यसको तीन वर्षपछि २०३३ सालमा उक्त घोषणा कार्यान्वयन गर्न आवश्यक कानून निर्माण गरी लागू गरिएको थियो । खासगरी विकसित देशको अनुभव र अभ्याससमेतको आधारमा लागू औषध नियन्त्रण ऐन, २०३३ पारित भएपछि गाँजासम्बन्धी उक्त कानून र सम्बन्धित अन्य दस्तावेजहरू विभिन्न समयमा संशोधन गरिएका थिए । नेपालको संसद्मा गाँजालाई वैधता दिनेसम्बन्धी गैरसरकारी विधेयक दर्ता भए पनि त्यो अघि बढ्न सकेको छैन । सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत यससम्बन्धी कार्यक्रम राखेपछि चर्चा पाएको थियो तर त्यो कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । सिफारिश गरिएका मुख्य बुँदा  लागू औषध नियन्त्रण ऐन, २०३३ परिमार्जन  प्रयोगका आधारमा गाँजाको परिभाषा   औद्योगिक प्रयोजनका लागि वैज्ञानिक गाँजा खेती प्रवर्द्धन  गाँजाको औषधीय पक्षबारे सुसूचित ज्ञान निर्माणका लागि वैज्ञानिक अध्ययन   गाँजाको व्यापार र प्रयोग नियमनको प्रक्रिया, पद्धति र संरचना विकास   प्रमाणमा आधारित आयुर्वेदिक चिकित्साको प्रवर्द्धन  स्रोत तथा सुविधासम्पन्न पुनस्र्थापना केन्द्र स्थापना  गाँजाको माग र आपूर्तिको नियमित अवस्था विश्लेषण

काठमाडौं उपत्यकाको वायुप्रदूषण : कहाँ खर्च हुन्छ प्रदूषण करको रकम ?

विभिन्न रासायनिक पदार्थ, धूवाँ, धूलो आदि हावामा मिसिन गई स्वस्थ हावालार्ई दूषित बनाउने क्रियाकलापलाई वायुप्रदूषण भनिन्छ । अर्को शब्दमा भन्दा अधिक मात्रामा धूलो र धूवाँ स्वच्छ हावामा मिसिनाले हावा दूषित हुन्छ । दूषित हावाका कारण मानव र अन्य प्राणीको स्वास्थ्यमा नकारात्मक असर पार्छ । आइक्युइयर भन्ने संस्थाले समयसमयमा वायुप्रदूषणको मापन गरिरहेको हुन्छ । हावाको गुणस्तर सूचकको आधारले हावामा कति धूलो र धूवाँको मात्रा छ भन्ने जानकारी लिई स्वच्छ र प्रदूषित छुट्ट्याउन विभिन्न मानको दूरी निर्धारण गरेको छ । यसअनुसार वायुप्रदूषणको मात्रा शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि हानिकारक मानिँदैन । यो प्रदूषणको मात्रा वायुमा मिश्रित हुँदा वातावरण स्वस्थ्यकर रहेको मानिन्छ । धूवाँ, धूलो र रासायनिक पदार्थको सम्मिश्रण ५१ देखि १०० सम्म हुँदा स्वास्थ्यका लागि ठीकै मानिन्छ । त्यस्तै गरेर धूवाँ, धूलो र रासायनिक पदार्थको सम्मिश्रण १०१ देखि १५०, १५१–२०० र २०१ देखि माथि हुँदा क्रमश: संवेदनशील समुदायका लागि हानिकरक, सबैक लागि अस्वस्थकर र अति अस्वस्थकर हुन्छ ।  प्रदूषणमा काठमाडौं पहिलो  आइक्युइयरले २०८० साल वैशाख २ गते साँझपखको वायुप्रदूषणको मापनका आधारमा विश्वका १०१ शहरहरूको क्रमांक निर्धारण गरेको थियो । नेपालको काठमाडौं उपत्यका वायुप्रदूषणको मात्रा २०९ पुगेको थियो जसले पहिलोपटक क्रमांकका आधारमा नम्बर एक स्थानमा पुर्‍याउन सफल भयो । उक्त समयको वायुप्रदूषण भारतको राजधानी दिल्ली शहर वायुप्रदूषणका आधारमा दोस्रो स्थानमा रहेको थियो । त्यस्तैगरेर थाइल्यान्डको च्याङमाइ शहर, भियतनामको हनोइ शहर, थाइल्यान्डको बैंकक शहर र बंगलादेशको ढाका शहर क्रमश: तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका थिए । यसले के स्पष्ट पारिरहेको छ भने अति प्रदूषित विषयका पाँच शहरमध्ये दक्षिण एशियाका तीन शहरहरू काठमाडौं, दिल्ली र ढाका समावेश भएका छन् । २०८० साल वैशाख ७ गते बिहान ७ बजेर २५ मिनेटको समयमा वायुप्रदूषणको मात्रा १५१ देखि माथि रहेका कारण बाक्लो तुवालोले काठमाडौं उपत्यकालाई ढाकेको थियो । सोही समयमा नेपालका नारायणी (४०४), पहिलो स्थानमा थियो । । त्यस्तैगरेर भक्तपुर (१९४), मध्यपुर ठिमी (१८५), पाटन (१७९), काठमाडौं (१६६), कीर्तिपुर (१६३), धनकुटा (१५२), शहरहरू क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचाौं, छैटौं र सातौं स्थानमा रहे । प्रस्तुत आँकडाअनुसार काठमाडौं उपत्यकाका पाँच शहरको औसत प्रदूषणको मात्रा १७७ रहेको छ जुन स्वास्थ्यका लागि प्रतिकूल हो । नेपालका जिल्लामध्ये भक्तपुर जिल्ल्ला प्रदूषणको हिसाबले प्रथम स्थानमा रहेको तथ्य माथिका आँकडाले देखाइरहेको छ ।  स्वास्थ्यमा गम्भीर असर मानिसहरूले श्वास फेर्दा हावामा मिसिएको धूलो र धूवाँका कणहरू फोक्सो र छातीमा पुगिरेहेको छ । वायुप्रदूषणका कारण काठमाडौं उपत्यकावासीको स्वास्थ्यमा गम्भीर समस्या आइरहेको छ । श्वासप्रश्वास, आँखा र छातीमा हुने संक्रमणका कारण सुक्खा खोकीले मानिसहरू पीडित भइरहेका छन् । अस्पतालका साथै डक्टहरूकोमा समय लिने र जँचाउन जानेको संख्यामा वृद्धि भइरहेको छ । यतिमात्र होइन, प्रदूषणका कारण निम्तिएको रोगका कारण घरघरानको स्वास्थ्य खर्चमा वृद्धि भइरहेको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने समूहका मानिसहरू स्वास्थ्य खर्चको हिसाबले बढी प्रभावित भइरहेका छन् । आर्थिक रूपले विपन्न मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको नेपाल बर्डन अफ डिजिज प्रतिवेदनअनुसार करीब २१ दशमलव २ प्रतिशत मानिसको मृत्यु श्वासप्रश्वाससम्बन्धी रोगबाट हुने गरेको छ । वायुप्रदूषण नै यसको मुख्य कारक मानिन्छ ।  वायुप्रदूषणका केही कारण  सडकहरू सफा सुग्घर नहुनु र धूलेसडकहरूको बाहुल्य रहनु एउटा कारण हो । काठमाडौं उपत्यकाका अधिकांश सडक धूले छन् । मेरो विचारमा धूलेसडकको आधारमा भक्तपुर जिल्ला एक नम्बरमा पर्छ । धूलेसडकहरूमा अनियन्त्रित ढंगले चलाइने सबै प्रकारका सवारीसाधनले धूलो हावामा मिसाइरहेका छन् । विभिन्न जंगलमा आगलागी भइरहेको छ । धूवाँका मुस्लाहरू हावामा उडिरहेका छन् । यद्यपि अहिले पानी परेकाले डढेलो निभेको छ । भक्तपुरका विभिन्न नगरपालिकामा २०० देखि ५०० मीटरको दूरीमा इँटाभट्टाहरू सञ्चालित छन् । इँटाभट्टाहरूबाट निस्कने धूँवाको मुस्लोले झनै हावालाई दूषित बनाइरहेको छ । बाक्लो तुवाँलो लाग्नुका धेरै कारणमध्ये इँटाभट्टाबाट निस्किने धूवाँ नै एक प्रमुख कारण हो । यसबाहेक खेतीपातीबाट निस्केको पराल, ढोड आदि जलाउँदा निस्कने धूवाँ सीधै हावामा सम्मिश्रण हुन्छ । नेपाल गरीब देश भए पनि सवारी साधनमा धनी छ । सरकारी क्षेत्र होस् वा निजीक्षेत्र दुवैले दुईपाङ्ग्रे र चारपाङग्रेको आयात गरिरहेका छन् । हिमाल, पहाड र मधेशमा अन्धाधुन्ध धूलेसडकको निर्माण भइरहेको छ । यसमा सवारीका साधनहरू अविरल रूपले गुडिरहेका छन् । अनियन्त्रित तरीकाले चलाइएका सवारीसाधनले धूवाँको मुस्लो बाहिर निकाल्नुका साथै धूलो उडाइरहेका छन् । पेट्रोलियम पदार्थको विषाक्त धूवाँले वातावरण प्रदूषित बनाइरहेको छ । बढी धूवाँ फ्याक्ने सवारीसाधन विनारोकटोक धूलेसडकमा गुडिरहेका छन् । यिनले प्रशस्त धूवाँ र धूलो वायुमा मिसाइरहेका छन् । हावाको कुनै निश्चित सिमाना हुँदैन जसलाई एक ठाउँबाट अर्को ठाउँमा जान राहदानीको आवश्यकता परोस् । एक ठाउँको धूलोका कणहरू र धूवाँ मिसिएको हावा अर्को ठाउँमा सजिलै जान सक्छ । काठमाडौं उपत्यका आपैm पनि धूले छ भने धूलोका कणहरू र धूवाँ मिसिएको हावा भित्रिरहेको छ । चारैतिर पहाडले घेरेकाले यहाँ सजिलै जम्मा भएको दूषित हावा बाहिर नगई उपत्यकाभित्र नै रुमलिरहेको हुन्छ । यसले उपत्यकाभित्र तुवाँलो लगाउँछ । यसलाई निकाल्न या त पानी पर्नुपर्छ या कडा हावाहुरी चल्नुपर्छ । अहिले परेको पानीले यो तह हटेको छ ।  गैरजिम्मेवारीको पराकाष्ठा आर्थिक वर्ष २०६५–६६ देखि सरकारले प्रदूषण शुल्कबापत पेट्रोलियम पदार्थको आयातमा कर लगाइरहेको छ । नेपाल आयल निगमले सरकारलाई गैरकर राजस्व बुझाइरहेको छ जुन हालसम्म १५ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । भन्सार बिन्दुमा नेपाल आयल निगमले यो कर सरकारलाई बुझाउँछ । पेट्रोल पम्पमा यो कर उपभोक्ताबाट असुल्ने गर्छ । यो रकम कहाँ र कसरी खर्च हुने गर्छ ? उपभोक्तालाई जानकारी हुँदैन । वातावरण सुधारका लागि उठाइएको रकम अन्यत्र खर्च भइरहेको छ । यो रकमको खर्च प्रदूषण नियन्त्रणमा लगाउनुको सट्टा अन्यत्र खर्च गरिरहेको छ । प्रधानमन्त्रीका साथै मन्त्री हुन तँछाडमछाड गर्ने नेताहरूको जत्था छ । वायुप्रदूषणको निराकरण वा कमी गराउने कार्यमा सबै निकायका स्थानीयदेखि केन्द्रीय तहका सरकारहरूले आँखा चिम्लिएर बसेका छन् । सडकमा धूलो कम गराउन न पानी हालिन्छ न राम्रोसँग बडारकुँडार नै गरिन्छ । पुराना र थोत्रा सवारीसाधन जसले बढी धूवाँ फ्याक्छन्, तिनको सञ्चालनमा रोक लगाउने कुरामा सरकार उदासीन देखिन्छ । काठमाडांै उपत्यकामा इँटाभट्टाहरू सञ्चालित छन् । यिनको सञ्चालनमा रोक लगाउने चर्चा चल्छ तर विभिन्न प्रलोभन र शक्तिको आडका कारण हटाइएको छैन । अनियन्त्रित रूपले चलिरहेका सवारीसाधन र इँटाभट्टाको सञ्चालनमा सरकारले विनाशर्त रोक लगाउनुपर्छ । यसअतिरिक्त काठमाडौं उपत्यकालाई स्वच्छ र सफा बनाउन निर्माण कार्य निश्चित समयमा मात्र गर्नुपर्छ । त्यस्तै सडक सरसफाइमा जनताबाट असुलेको कर खर्च गर्न जरुरी हुन्छ । लेखक अर्थशास्त्री हुन् ।

के गाँजालाई ओखतीको रुपमा सेवन गर्दा हुन्छ ? प्रा. डा. धनरत्न शाक्यको विचार

गाँजा अवैध हिसाबले संसारमा सबैभन्दा धेरै सेवन गरिने नशालु लागूपदार्थ हो । विश्व जनसंख्याको करीब ४ प्रतिशत (१९ करोड २० लाख) मानिसहरूले यसको सेवन गर्ने र अमेरिकीहरूमा ४० प्रतिशतले जीवनमा एक न एकपटक सेवन गर्ने आँकडा छ । यसको सेवन अक्सर हुर्किरहेको तरुण उमेर किशोरावस्थामै शुरु गर्नेे र पुरुषले बढी गरे पनि महिलाहरूमा पनि बढ्दै गएको देखिन्छ । यसरी किशोरावस्थामा शुरु गर्ने करीब १५ प्रतिशत र दैनिक सेवन गर्ने ३५–५५ प्रतिशत मानिसहरूमा यसको दुर्व्यसन, लत (Addiction) जस्तो गम्भीर स्वास्थ्य समस्या हुने विश्व स्वास्थ्य संघ (२०१६) को तथ्यांक छ । लेखक संलग्न अवलोकन र अध्ययनमा पनि मानसिक सेवामा आउने १०-२० प्रतिशत मानिसहरूले यसको सेवन गर्ने गरेको देखिएको छ ।  मूलतः क्यानाबिज साटिभा, एन्डिका र रुडरालिस जस्ता बोटमा हुने सयभन्दा धेरै खालका क्यानाबिनोइड्, फ्लाबिनोइड् र टर्नोइड् जस्ता रसायन पदार्थहरूमध्ये डेल्टा-9-टेट्राहाइड्रोक्यानाबिनोल र क्यानाबिनोलमा मात, लत लाग्ने गुण हुन्छ । धुवाँ बाफ तान्ने, खाने लगाउने अनेक स्वरूपहरूमा विभिन्न मात्रामा गाँजाको प्रयोग हुने गर्दछ । गाँजा, भाङमा १ प्रतिशत जति हुन्छ भने सिन्सेमिलामा ५-६ प्रतिशतसम्म हुने गर्दछ । यी बोटहरूबाट मादक पदार्थका अलावा कपडा, डोरीलगायत सामग्रीहरू तथा अचार, पेयपदार्थ जस्ता खाद्य–सामग्रीहरुको पनि उत्पादन हुने गर्दछ । यसको खेती, विक्री, वितरण, प्रयोग (मनोरञ्जन र चिकित्सकीय उपभोग)लाई कानूनी मान्यता दिनुपर्ने मत टड्कारो हिसाबले विश्वभरि नै आएको र नेपालमा पनि यसको लहर देखिएको छ । नेपालले सन् २०२० डिसेम्बरमा गाँजालाई मादक, लागूपदार्थको यस्तो समूह जसलाई उपचारात्मक प्रयोजनका लागि पनि विचार गर्न नसकिने कोटि (schedule IV) बाट पुनःवर्गीकरण र पुनर्विचार गर्नुपर्ने पक्षमा मत दिएको छ । यसलाई कानूनी मान्यता दिँदा देशलाई ठूलो धनराशी (सन् २०२५ मै करीब १ खर्ब ४६ अर्ब रुपैयाँ) फाइदा हुने र देशको विकास भई काँचुली फेरिने तर्क नेपालमा आएको छ । नेता, विद्वत भनिने केही व्यक्तिहरूबाट यसका पक्षमा साह्रै प्रभावकारी र चित्ताकर्षक वाणी, विचार,  अन्तरवार्ता, समाचार, लेख आदिको एकोहोरो अलाप र बाढी आएको स्थिति देखिँदैछ ।  दुई दशकभन्दा लामो समयदेखि मनोचिकित्सा कर्ममा रहेको एक मनोचिकित्सकका रुपमा मैले याद गरेदेखि अन्तरंग, बहिरंग, आकस्मिक सेवा सबै खालका सेटअपहरूमा यो गाँजा प्रकरणले धेरै बिरामी, तिनका जीवन र परिवारजनलाई थिल्थिलो, तहसनहस, विक्षिप्त र आजित बनाएको, सताएको देखेको छु । आज यो लेख लेख्न बसेकै दिन पनि हाम्रो साइक्याट्री वार्डका ३३ प्रतिशत बिरामीहरूमा गाँजाको सेवन छ भने २३ प्रतिशतमा यसको डिपेन्डेन्सको क्राइटेरिया पुग्छ । हिस्ट्री लिँदा बिरामी र मानिसहरूमा गाँजाको असरबारे पटक्कै वैज्ञानिक जानकारी भएको भेटिँदैन । कलेज र विज्ञान पढिरहेका बिरामीसमेत गाँजाले राम्रो हुने, यो सरल रूपमा पाइने कुरा गर्छन् । एकातिर गाँजाको पक्षधर मतको ज्वालामुखी ! अर्कोतिर हरपलको आफ्नो फर्स्ट ह्याण्ड अवलोकनको दिग्दारी ! तर अत्यन्त झिनो, नगन्य तथ्यगत गाँजा सेवनको विपक्षी मत । यसबारे निष्पक्षरूपमा यसको चिकित्सकीय प्रयोगबारे समीक्षा अध्ययन गर्ने विचार गरें र यसबारे जर्नल लेखहरू पनि प्रकाशित भए । यहाँ, त्यसै प्रयासको प्रतिबिम्ब तथ्यगत विचार राख्ने दुस्प्रयास गर्दैछु । तथ्यबारे घोटलेर सही कुरा अवलम्बन गर्ने जिम्मा भने विवेकी पाठकहरूकै हातमा सुम्पन्छु ।           गाँजामा हुने विशेषतः क्यानाबिड्योल भनिने एक विशेष रसायनचाहिँ केही स्वास्थ्य समस्याहरूमा औषधीको रूपमा प्रयोग गरेको पाइन्छ । विशेष खालको काम्ने, मुर्छा पर्ने, निकै थोरै सीमित रोग र उल्टी रोक्ने प्रयोजनमा यसको प्रयोगलाई ज्यादै हाइलाइट गरेको पाइन्छ । यी दुई प्रयोजनका लागि अमेरिकामा (एफडीए ) स्वीकृतिसमेत छ । अरु केही स्नायु रोगहरू (मल्टिपल स्क्लेरोसिस, पार्किन्सन्स)मा पनि यसको उपयोगिताको दाबी छ, तथापि प्रमाणको कमी देखिन्छ । उल्टी रोक्न र यस्ता स्नायु समस्याहरूमा प्रयोग गर्ने भनिए पनि गाँजामा हुने यी नै केमिकलले रोक्नै हम्मे पर्ने वान्ता भई यसको सेवन गर्ने धेरै मानिसहरू सिकिस्तै परेको बढी देखियो । स्नायुरेशा र कोषमा प्रतिकूल असर परी अरु धेरै स्नायु समस्याहरू उब्जिएको पाइयो । कोभिडको महामारीको बेलामा पनि गाँजाले फोक्सोको स्वास्थ्यमा फाइदा हुने भनिए पनि यसमा हुने अर्को रसायनले फोक्सोमै गम्भीर असर पर्ने र क्यान्सर समेत गराउनसक्ने तथ्य सामु आयो । गाँजामा सुर्ती चुरोटमा जस्तै बेन्जोपाइरिन लगायत्का थरिथरि क्यान्सरकारक रसायनहरू त्यसमा भन्दा चारगुणा बढी असरदार हुने रिपोर्ट आएको छ । क्यान्सरको दर्द, खानाको अरुचिमा काम लाग्ने भन्दै गर्दा यसले नै विभिन्न खालका क्यान्सर गराउनसक्ने तथ्य झन् ध्यान दिन आवश्यक हुन गयो । खानाको अरुचिमा फाइदा पुग्ने भनिने गाँजाको सेवन गर्ने मानिसहरू अक्सर खाना नखाने, खानपिन अनियमित हुने र कुपोषणको शिकार भइरहेकै देखिन्छ । अझ, यसको सेवनले खानाको अरुचि भई तौल नियन्त्रण रहने भएकोले विशेष गरी आधुनिक र स्लिम हुन चाहने महिला वृत्तमा यसको सेवनको कुरा उठ्ने गरेको र त्यसै हिसाबका आकर्षक विज्ञापनहरू पनि देखिन्छ । दुखाइ, पीडा, सुजन कम गर्न प्रयोग गर्ने सन्दर्भमा आजकल औषधी विज्ञानमा अरु धेरै प्रभावकारी, सुरक्षित र वैज्ञानिक प्रमाण सहितका औषधीहरू विकास भइसकेको परिप्रेक्ष्यमा गाँजाको एनाल्जेसिक गुणको उपयोग गरिहाले पनि अति अति सतर्कताका साथ, अन्तिम उपायका रूपमा मात्र गर्नु ठिक होला ।  यता कतिपय मानसिक रोगहरूमा पनि गाँजाको उपयोगिताबारे मेडिकल लिटरेचरमा उल्लेख गरेको पाइन्छ । एन्जाइटी र निद्राको समस्यामा फाइदा गर्ने भनिए पनि सेवन गरेको वा मातिएको वा लामो समयको सेवन गर्नेहरूमा अक्सर धेरैमा मनोत्रास प्यानिकदेखि लिएर विभिन्न खालका छट्पटी एन्जाइटीसम्मका समस्याहरू देखिन्छन् । उदासीनता, डिप्रेसन वा मेनियामा पनि यदाकदा फाइदाको कुरा भने पनि आम यथार्थ जुन मेरो पनि देखेभेटेको कुरा हो, त्यो के भने गाँजा सेवन गर्ने मानिस यी मानसिक रोगले कडै रुपमा प्रभावित भएपछि अक्सर मनोस्वास्थ्य सेवामा आउँछन् । त्यसकारण यस्ता भावना वा मूड डिसअर्डरमा गाँजा ओखतीको रूपमा प्रयोग गर्ने कुरा मिल्दैन । कतिपय अरु मादक, लागूपदार्थमा लत लागेकाहरू गाँजातिर लाग्ने वा गाँजाबाट नशा सेवन थालेकाहरू अरु पनि सेवन गर्न थाल्ने परिदृश्य यस्ता मानिसहरूमा आमरुपमा भेट्टिने देखिने हुन् । कतिसम्म भने, गाँजाको उपयोगिता केही सीमित खालको साइकोसिसमा हुन्छ पनि भनियो । जबकि, अति धेरै मानिसहरूमा एकचोटी, बारम्बार सेवन वा दीर्घरूपमा यसको लत भएकाहरूमा साइकोसिस भएको देखिन्छ । गाँजाको सेवनले साइकोसिसको अनुवांसिक खतरा भएकाहरूमा एक पटक मात्र सेवन गर्दा पनि सलाईको काटीले जस्तो काम गर्दछ । यसको सेवनले साइकोसिस जस्तो गम्भीर मानसिक समस्याको शुरुवात गर्ने, यसको समग्र परिणति प्रतिकूल बनाउने, लक्षणहरू कडा रूपमा प्रकट गराउने र गाँजाको वैधतापछि यसको सेवन बढ्दा जनसंख्यामै अरु जटिलता र समस्यासहित विशेष गरेर साइकोसिस बढेका तथ्यांकहरू धमाधम आइरहेको देखिन्छ ।  तर्क गर्ने र मत दिनेहरू भन्छन्– गाँजा पनि ओपियड र अरुजस्तै नशा र लत लाग्नसक्ने पदार्थ हो । ठिक मात्रा, तरीका र माध्यमले लिए बिष त ओखती हुन्छ । अरु पदार्थ ओखतीको रूपमा प्रयोग गर्न मिल्ने, गाँजा किन नमिल्ने ! यस मामिलामा केही महत्त्वपूर्ण पक्षहरू गहिरिएर मनन् गर्न जरुरी हुन्छ, जस्तै– के प्रयोजनका लागि प्रयोग गर्ने ? के-कस्ता वाञ्छित र प्रतिकूल असर छन् ? ती असरहरूको पूर्वानुमान लगाउन सकिने नसकिने आदि । गाँजाका सवालमा, प्रमाणको हिसाबले यसका हानीहरूको अति ज्यादा तर, उपयोगिताको भने प्रमाण पुष्टि हुन बाँकी देखियो । यसको प्रयोगले मुटुको चाल गडबड भई मृत्यु समेत र साइकोसिससम्म हुने रिपोर्टहरु आए । यी घातक असरहरुको कुनै अनुमान लगाउने भरपर्दो आधार भने देखिँदैन । दीर्घ लती मात्र होइन, अति कम मात्रा र केवल एकपटक मात्र चाख्नेलाई पनि गम्भीर परिणाम हुनसक्ने देखियो । फेरि, यो दबाइभन्दा पनि प्लान्ट बेस्ड भएकोले व्यवहारिकरूपले प्रयोगमा आउने कुरामा यसको मात्रा निश्चित नहुने र वास्तविक धरातलमा अनियन्त्रित भई अति गम्भीर परिस्थिति सिर्जना भएका प्रतिवेदनहरू आइरहेछन् ।  अरु देश वा ठाउँको देखासिकी गरेर वा कुनै रूपमा यसको पक्षमा आमरुपले गाँजा बैध गर्दा नेपाल जस्तो अज्ञानता, गरीबी, कमजोर शासन व्यवस्था भएको र पिछडिएको मुलुकमा अति गम्भीर परिणाम नआओस् भनी सतर्क हुन आवश्यक छ । यसको मतलब, सोलोडोलो रोक तथा कानूनी बन्देज लगाउनु वा अहिलको परिस्थितिले सिर्जना भएको लुपहोल्स, राज्यले अनाहकमा राजस्व गुमाउने, तस्कर बिचौलिया मोटाउने परिस्थितिले निरन्तरता पाओस् अथवा यसको अनुसन्धान प्रक्रियालाई निरुत्साहित गर्नु भनेको भने पक्कै होइन । यसतिर गम्भीररूपमा सोचेर हाम्रो आफ्नो वस्तुस्थिति, यथार्थको मनन् गरेर आम मानिस, विद्यार्थी, शिक्षक, अभिभावकलगायत सबैलाई यसबारे सुशिक्षित बनाउने, यसको वैज्ञानिक अनुसन्धान अध्ययनलाई प्रेरित गर्ने तथा विद्यमान कानूनको वैज्ञानिक ढंगले परिमार्जन गरी निर्दिष्ट उद्देश्य, प्रयोजनपरक र जनस्वास्थ्यप्रति सजग नीतिनियमहरूको निर्माण र गम्भीरतापूर्वक कार्यान्वयन गर्न राज्य सरकार र जनता लाग्न जरुरी भएको छ । अब, यस्तोमा कतै सुनियो, विज्ञापन देखियो वा कसैले भने, ‘गाँजा त गज्जबको ओखती हो’, त पत्याउनु र प्रयोग गर्नुअघि अहिलेसम्म प्राप्त प्रमाणहरू पर्गेल्न र बारम्बार सोचेर ठम्याउन जरुरी हुन्छ ।  (प्रा. डा. शाक्य, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।) #Marijuana #Weed #cancer #depression #Dependence #abhiyandaily #aarthikabhiyan