काठमाडौं उपत्यकाको वायुप्रदूषण : कहाँ खर्च हुन्छ प्रदूषण करको रकम ?

विभिन्न रासायनिक पदार्थ, धूवाँ, धूलो आदि हावामा मिसिन गई स्वस्थ हावालार्ई दूषित बनाउने क्रियाकलापलाई वायुप्रदूषण भनिन्छ । अर्को शब्दमा भन्दा अधिक मात्रामा धूलो र धूवाँ स्वच्छ हावामा मिसिनाले हावा दूषित हुन्छ । दूषित हावाका कारण मानव र अन्य प्राणीको स्वास्थ्यमा नकारात्मक असर पार्छ । आइक्युइयर भन्ने संस्थाले समयसमयमा वायुप्रदूषणको मापन गरिरहेको हुन्छ । हावाको गुणस्तर सूचकको आधारले हावामा कति धूलो र धूवाँको मात्रा छ भन्ने जानकारी लिई स्वच्छ र प्रदूषित छुट्ट्याउन विभिन्न मानको दूरी निर्धारण गरेको छ । यसअनुसार वायुप्रदूषणको मात्रा शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि हानिकारक मानिँदैन । यो प्रदूषणको मात्रा वायुमा मिश्रित हुँदा वातावरण स्वस्थ्यकर रहेको मानिन्छ । धूवाँ, धूलो र रासायनिक पदार्थको सम्मिश्रण ५१ देखि १०० सम्म हुँदा स्वास्थ्यका लागि ठीकै मानिन्छ । त्यस्तै गरेर धूवाँ, धूलो र रासायनिक पदार्थको सम्मिश्रण १०१ देखि १५०, १५१–२०० र २०१ देखि माथि हुँदा क्रमश: संवेदनशील समुदायका लागि हानिकरक, सबैक लागि अस्वस्थकर र अति अस्वस्थकर हुन्छ ।  प्रदूषणमा काठमाडौं पहिलो  आइक्युइयरले २०८० साल वैशाख २ गते साँझपखको वायुप्रदूषणको मापनका आधारमा विश्वका १०१ शहरहरूको क्रमांक निर्धारण गरेको थियो । नेपालको काठमाडौं उपत्यका वायुप्रदूषणको मात्रा २०९ पुगेको थियो जसले पहिलोपटक क्रमांकका आधारमा नम्बर एक स्थानमा पुर्‍याउन सफल भयो । उक्त समयको वायुप्रदूषण भारतको राजधानी दिल्ली शहर वायुप्रदूषणका आधारमा दोस्रो स्थानमा रहेको थियो । त्यस्तैगरेर थाइल्यान्डको च्याङमाइ शहर, भियतनामको हनोइ शहर, थाइल्यान्डको बैंकक शहर र बंगलादेशको ढाका शहर क्रमश: तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका थिए । यसले के स्पष्ट पारिरहेको छ भने अति प्रदूषित विषयका पाँच शहरमध्ये दक्षिण एशियाका तीन शहरहरू काठमाडौं, दिल्ली र ढाका समावेश भएका छन् । २०८० साल वैशाख ७ गते बिहान ७ बजेर २५ मिनेटको समयमा वायुप्रदूषणको मात्रा १५१ देखि माथि रहेका कारण बाक्लो तुवालोले काठमाडौं उपत्यकालाई ढाकेको थियो । सोही समयमा नेपालका नारायणी (४०४), पहिलो स्थानमा थियो । । त्यस्तैगरेर भक्तपुर (१९४), मध्यपुर ठिमी (१८५), पाटन (१७९), काठमाडौं (१६६), कीर्तिपुर (१६३), धनकुटा (१५२), शहरहरू क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचाौं, छैटौं र सातौं स्थानमा रहे । प्रस्तुत आँकडाअनुसार काठमाडौं उपत्यकाका पाँच शहरको औसत प्रदूषणको मात्रा १७७ रहेको छ जुन स्वास्थ्यका लागि प्रतिकूल हो । नेपालका जिल्लामध्ये भक्तपुर जिल्ल्ला प्रदूषणको हिसाबले प्रथम स्थानमा रहेको तथ्य माथिका आँकडाले देखाइरहेको छ ।  स्वास्थ्यमा गम्भीर असर मानिसहरूले श्वास फेर्दा हावामा मिसिएको धूलो र धूवाँका कणहरू फोक्सो र छातीमा पुगिरेहेको छ । वायुप्रदूषणका कारण काठमाडौं उपत्यकावासीको स्वास्थ्यमा गम्भीर समस्या आइरहेको छ । श्वासप्रश्वास, आँखा र छातीमा हुने संक्रमणका कारण सुक्खा खोकीले मानिसहरू पीडित भइरहेका छन् । अस्पतालका साथै डक्टहरूकोमा समय लिने र जँचाउन जानेको संख्यामा वृद्धि भइरहेको छ । यतिमात्र होइन, प्रदूषणका कारण निम्तिएको रोगका कारण घरघरानको स्वास्थ्य खर्चमा वृद्धि भइरहेको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने समूहका मानिसहरू स्वास्थ्य खर्चको हिसाबले बढी प्रभावित भइरहेका छन् । आर्थिक रूपले विपन्न मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको नेपाल बर्डन अफ डिजिज प्रतिवेदनअनुसार करीब २१ दशमलव २ प्रतिशत मानिसको मृत्यु श्वासप्रश्वाससम्बन्धी रोगबाट हुने गरेको छ । वायुप्रदूषण नै यसको मुख्य कारक मानिन्छ ।  वायुप्रदूषणका केही कारण  सडकहरू सफा सुग्घर नहुनु र धूलेसडकहरूको बाहुल्य रहनु एउटा कारण हो । काठमाडौं उपत्यकाका अधिकांश सडक धूले छन् । मेरो विचारमा धूलेसडकको आधारमा भक्तपुर जिल्ला एक नम्बरमा पर्छ । धूलेसडकहरूमा अनियन्त्रित ढंगले चलाइने सबै प्रकारका सवारीसाधनले धूलो हावामा मिसाइरहेका छन् । विभिन्न जंगलमा आगलागी भइरहेको छ । धूवाँका मुस्लाहरू हावामा उडिरहेका छन् । यद्यपि अहिले पानी परेकाले डढेलो निभेको छ । भक्तपुरका विभिन्न नगरपालिकामा २०० देखि ५०० मीटरको दूरीमा इँटाभट्टाहरू सञ्चालित छन् । इँटाभट्टाहरूबाट निस्कने धूँवाको मुस्लोले झनै हावालाई दूषित बनाइरहेको छ । बाक्लो तुवाँलो लाग्नुका धेरै कारणमध्ये इँटाभट्टाबाट निस्किने धूवाँ नै एक प्रमुख कारण हो । यसबाहेक खेतीपातीबाट निस्केको पराल, ढोड आदि जलाउँदा निस्कने धूवाँ सीधै हावामा सम्मिश्रण हुन्छ । नेपाल गरीब देश भए पनि सवारी साधनमा धनी छ । सरकारी क्षेत्र होस् वा निजीक्षेत्र दुवैले दुईपाङ्ग्रे र चारपाङग्रेको आयात गरिरहेका छन् । हिमाल, पहाड र मधेशमा अन्धाधुन्ध धूलेसडकको निर्माण भइरहेको छ । यसमा सवारीका साधनहरू अविरल रूपले गुडिरहेका छन् । अनियन्त्रित तरीकाले चलाइएका सवारीसाधनले धूवाँको मुस्लो बाहिर निकाल्नुका साथै धूलो उडाइरहेका छन् । पेट्रोलियम पदार्थको विषाक्त धूवाँले वातावरण प्रदूषित बनाइरहेको छ । बढी धूवाँ फ्याक्ने सवारीसाधन विनारोकटोक धूलेसडकमा गुडिरहेका छन् । यिनले प्रशस्त धूवाँ र धूलो वायुमा मिसाइरहेका छन् । हावाको कुनै निश्चित सिमाना हुँदैन जसलाई एक ठाउँबाट अर्को ठाउँमा जान राहदानीको आवश्यकता परोस् । एक ठाउँको धूलोका कणहरू र धूवाँ मिसिएको हावा अर्को ठाउँमा सजिलै जान सक्छ । काठमाडौं उपत्यका आपैm पनि धूले छ भने धूलोका कणहरू र धूवाँ मिसिएको हावा भित्रिरहेको छ । चारैतिर पहाडले घेरेकाले यहाँ सजिलै जम्मा भएको दूषित हावा बाहिर नगई उपत्यकाभित्र नै रुमलिरहेको हुन्छ । यसले उपत्यकाभित्र तुवाँलो लगाउँछ । यसलाई निकाल्न या त पानी पर्नुपर्छ या कडा हावाहुरी चल्नुपर्छ । अहिले परेको पानीले यो तह हटेको छ ।  गैरजिम्मेवारीको पराकाष्ठा आर्थिक वर्ष २०६५–६६ देखि सरकारले प्रदूषण शुल्कबापत पेट्रोलियम पदार्थको आयातमा कर लगाइरहेको छ । नेपाल आयल निगमले सरकारलाई गैरकर राजस्व बुझाइरहेको छ जुन हालसम्म १५ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । भन्सार बिन्दुमा नेपाल आयल निगमले यो कर सरकारलाई बुझाउँछ । पेट्रोल पम्पमा यो कर उपभोक्ताबाट असुल्ने गर्छ । यो रकम कहाँ र कसरी खर्च हुने गर्छ ? उपभोक्तालाई जानकारी हुँदैन । वातावरण सुधारका लागि उठाइएको रकम अन्यत्र खर्च भइरहेको छ । यो रकमको खर्च प्रदूषण नियन्त्रणमा लगाउनुको सट्टा अन्यत्र खर्च गरिरहेको छ । प्रधानमन्त्रीका साथै मन्त्री हुन तँछाडमछाड गर्ने नेताहरूको जत्था छ । वायुप्रदूषणको निराकरण वा कमी गराउने कार्यमा सबै निकायका स्थानीयदेखि केन्द्रीय तहका सरकारहरूले आँखा चिम्लिएर बसेका छन् । सडकमा धूलो कम गराउन न पानी हालिन्छ न राम्रोसँग बडारकुँडार नै गरिन्छ । पुराना र थोत्रा सवारीसाधन जसले बढी धूवाँ फ्याक्छन्, तिनको सञ्चालनमा रोक लगाउने कुरामा सरकार उदासीन देखिन्छ । काठमाडांै उपत्यकामा इँटाभट्टाहरू सञ्चालित छन् । यिनको सञ्चालनमा रोक लगाउने चर्चा चल्छ तर विभिन्न प्रलोभन र शक्तिको आडका कारण हटाइएको छैन । अनियन्त्रित रूपले चलिरहेका सवारीसाधन र इँटाभट्टाको सञ्चालनमा सरकारले विनाशर्त रोक लगाउनुपर्छ । यसअतिरिक्त काठमाडौं उपत्यकालाई स्वच्छ र सफा बनाउन निर्माण कार्य निश्चित समयमा मात्र गर्नुपर्छ । त्यस्तै सडक सरसफाइमा जनताबाट असुलेको कर खर्च गर्न जरुरी हुन्छ । लेखक अर्थशास्त्री हुन् ।