सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर शून्य

गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ ।   पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोरोना संक्रमणबाट अहिलेसम्म ५८८ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ५८८ जनाको मृत्यु भएको छ ।

गौरीफन्टा सीमा नाकामा २ दिनका लागि आवागमन बन्द

वैशाख ५, कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आइतवारदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ ।  उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमवार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आइतवार अपराह्न ४ बजेदेखि मंगलवार दिनभरि सीमा नाका बन्द हुने सूचना आएको त्रिनगर प्रहरी चौकी कैलालीका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तले जानकारी दिए । स्वास्थ्य उपचारलगायत अत्यावश्यक कामका लागि आवागमन गर्नेलाई भने सीमामा नरोकिने जानकारी दिइएको छ । सीमा नाका बन्द भएसँगै कोरोना भाइरस संक्रमणको त्रासका कारण गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किनेले समयमै गन्तव्यमा पुग्न नपाएर समस्या झेल्नुपर्ने देखिएको छ ।  भारतमा बढेको कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि गौरीफन्टा सीमानाका हुँदै नेपाल फर्किने पनि बढ्दै गएका छन् । ‘हाल दैनिक एक हजार संख्याको हाराहारीमा यो नाका हुँदै नागरिक भित्रिने गरेका छन्’, प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘सीमा नाका बन्द हुँदा नेपाल फर्किन चाहनेले बाटोमा समस्या झेल्नुपर्ने देखिएको छ ।’  सीमा नाकामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेमा कोरोना भाइरसको संक्रमण भए नभएकाबारे ज्वरो नाप्ने कार्यका साथै एन्टिजेन परीक्षणको काम भइरहेको छ । एन्टिजेन परीक्षणबाट ‘पोजेटिभ’ नतिजा देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको क्वारेन्टिनमा पठाउने गरिएको छ ।  गएको दुई दिनमा सुदूरपश्चिम प्रदेशमा ५३ जना कोरोना भाइरसका संक्रमित थपिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कञ्चनपुर जिल्लाका कोरोना संक्रमित ८१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिवार मृत्यु भएको थियो ।  योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म ५९ पुगेको छ । प्रदेश बाहिरका जिल्ला र होम आइसोलेशनमा मृत्यु हुनेको तथ्यांक भने निर्देशनालयसँगै छैन । रासस