काठमाडौं । सन्राइज बैंकको योगीकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ । शिविर रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालयमा गरिएको हो । सो शिविरबाट २५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श सल्लाह र अन्य जाँच सेवा लिएको बताइएको छ ।
त्यस्तै बैंकको दुहबी शाखाले विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा छिटाहा माध्यमिक विद्यालय छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच र क्यान्सर जाँच गरिएको थियो । शिविरमा १५१ जनाले सेवा लिएको बैंकले जानकारी दिएको छ ।