काठमाडौं (अस) । एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजनाका लागि स्वीकृति नदिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)प्रति असन्तुष्टि प्रकट गरिएको छ । सोमवार ईपीएल प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा फ्रेन्चाइज टिम मालिकहरूले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।
ईपीएल फ्रेन्चाइज टिमका मालिकहरूले पाँचौं संस्करण आयोजनाका लागि प्रयास गरेका थिए । तर क्यानले प्रतियोगिता गर्न स्वीकृति दिएको छैन । उनीहरूले क्यानलाई असहयोग गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरूले क्यानले ईपीएल आयोजना हुन नदिएर खेलाडीहरूको अवमूल्यन गरेको समेत जिकीर गरे ।
नेपाली क्रिकेट निलम्बनमा परेको समयमा समेत ईपीएल आयोजना गरी क्रिकेटलाई गतिशील बनाएर खेलाडीको उत्थानमा सहयोग पुगेको यथार्थलाई अहिले क्यानले बिर्सेको उनीहरूको भनाइ छ । ईपीएल सन् २०१६ देखि आयोजना हुँदै आएको छ । ईपीएलसँगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीनओटा फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता पनि आयोजना हुँदै आएका छन् । ईपीएल फ्रेन्चाइज टिम ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जनले क्रिकेटको विकासमा ठूलो योगदान गर्ने लक्ष्यमा क्यानको निर्णयले धक्का लागेको बताए ।