काठमाडौं । नयाँ निर्वाचनपछि एकातर्फ सत्ता संघर्ष चलिरहेको छ भने अर्काेतर्फ शक्ति संघर्ष पनि शुरू भएको छ । लामो रस्साकस्सीपछि बनेको नयाँ सत्ता गठबन्धनमा भने शक्ति बाँडफाँडमा दुई जिल्लाका नेता हावी भएका छन् ।
केन्द्र सरकार र प्रदेश सरकारको संरचना हेर्दा सबैभन्दा बढी अवसर झापाले पाएको छ भने दोस्रो फाइदा चितवनले लिएको छ ।
झापा–२ बाट निर्वाचित संसद देवराज घिमिरे बिहीवार सभामुखमा निर्वाचित भएका छन् । त्यस्तै झापा–३ बाट निर्वाचित राप्रपाका अध्यक्ष रहेका राजेन्द्र लिङ्देन सरकारका उपप्रधानमन्त्री भएका छन् ।
उपसभामुखमा पनि झापाकै इन्दिरा राना मगर निर्वाचित भएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।
सत्ता साझेदारमध्येको ठूलो दल नेकपा एमालेका अध्यक्ष पनि झापाकै हुन् । उनी झापा–५ बाट सांसदमा निर्वाचितसमेत भएका छन् । हालकै अवस्थामा राजनीति अगाडि बढे सत्ताको रिमोट उनैले चलाउने छन् । गठबन्धनको चाँजोपाँजो मिलाएका तथा राजनीतिमा चतुर मानिएका नेता केपी शर्मा ओलीले झापाको विमासमा कतिको प्रभाव पार्लान् ? त्यो भने हेर्न बाँकी छ ।
संघमा मात्रै होइन, प्रदेश १ मा पनि झापाकै बोलवाला छ । प्रदेश १ सरकारको नेतृत्व झापाकै नेताको हातमा छ । जसको नेतृत्व हिक्मत कुमार कार्कीले गरेका छन् ।
सत्तामा झापापछि चितवनका नेता हावी देखिन्छन् । वर्तमान मन्त्रिमण्डलमा ३ जना चितवनकै छन् । यसमा पहिलो नाम आउँछ– सरकारका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । चितवनका बासिन्दा रहनुभएका प्रधानमन्त्री दाहाल पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने गोरखा–२ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ चितवन जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।
चितवनबाटै निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । यस्तै, चितवनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे शहरी विकासमन्त्री बनेका छन् । पाण्डे नेपालका ठूला ठेकेदार मध्ये एक हुन् ।
नेपालका ठूलादेखि साना विकास निर्माण आयोजनामा राजनीतिक दलको ठूलै प्रभाव रहने गर्छ । अझ मन्त्रालय स्तरबाटै बजेटमा हस्तक्षेप हुने गरेको छ । सत्ता र शक्तिको आडमा विकासका आयोजनासहित ठूलो बजेट हुत्याउने प्रवृत्तिलाई हेर्दा यी दुई जिल्लाले ठूलो अवसर पाउने पक्का छ ।