वैशाख २२, काठमाडौ । वन तथा वातावरण मन्त्रालयले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ र मोहन्याल गाँउपालिका वटा नं ७ मा निर्माण गर्न लागेको जालपादेवी केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्गन प्रतिवेदन माथि राय सुझाव माग गरेको छ ।
यो सँगै सुदूरपश्चिम प्रदेशकै पहिलो केवलकार आयोजना अघि बढ्ने आधार थप बलियो भएको छ । यो केवलकार कैलालीको पर्यटकीय क्षेत्र चिसापानीदेखि मोहन्याल गाउँपालिकाको राजकाँडा सम्म निर्माण हुने छ ।
प्रस्तावित केवलकार आयोजना निर्माण तथा सञ्चालन गर्दा प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित सरोकारवालाले आफ्नो राय-सुझाव दिन मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
प्रस्तावित जालपादेवी केवलकार आयोजनाको रोपवेको लम्बाई ३.१ कि.मि. रहेको छ । यो आयोजना कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३ र मोहन्याल गाँउपालिका वडा नं ७ प्रस्ताव गरिएको छ । आयोजनाको तल्लो स्टेसन लम्कीचुहा नगरपालिका वडा नं ३ वाट शुरुभएर उक्त आयोजना कैलाली जिल्लाकै मोहन्याल गाँउपालिका वडा नं ७ मा मथिल्लो स्टेसन रहने कुरा प्रतिवेदनमा उल्लेख छ ।
प्रस्ताव अनुसार केवलको व्यास ४८ मि.मि. र टावरको संख्या १५ वटा रहेको माथिल्लो स्टेसनमा १५ हजार ९३८ वर्ग मिटरको आरसीसी स्ट्रक्चर २ तल्ले भवन प्रस्ताव गरिएको छ। साथै माथिल्लो स्टेसनमा आरसीसी स्ट्रक्चर ६ तल्ला १०० कोठाको १६० शय्याको होटल/रिसोर्ट निर्माण गर्ने कुरा समेत प्रस्ताव गरिएको र तल्लो स्टेसनमा आरसीसी स्ट्रक्चर ५ तल्ला ५० कोठाको ७५ शय्याको होटल/रिसोर्ट निर्माण गर्ने कुरा समेत प्रस्ताव गरिएको छ ।
निर्माण चरणमा प्रतिदिन १५ हजार लिटर र संचालन चरणमा १ लाख २० हजार लीटर पानी प्रयोग हुने र उक्त आयोजनाको निर्माण एवं संचालन गर्दा राष्ट्रिय वन क्षेत्र १३.२ हेक्टरको आवश्यक पर्ने प्रस्ताव गरिएको छ ।