मनास्लु आरोहण अनुमतिबाट सबैभन्दा बढी राजस्व संकलन

सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।...

सम्बन्धित सामग्री

कतारकी राजकुमारी थानीद्वारा बीना अक्सिजन मनास्लु हिमालको सफल आरोहण

असोज १३, म्याग्दी  । कतारी राजकुमारी शेखा आस्मा अल थानीले बीना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहरण गरेकी छन् । हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए अनुसार राजकुमारी थानीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल बीना अक्सिजन सोमवार आरोहण गरेकी हुन् । उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् । कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रुपमा खटिएका थिए । उनीहरुकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जानकारी दिएको छ । टिममा ३२ जना आरोही रहेको जानकारी दिइएको छ । इलाइट हिमालय एड्भेञ्चरका कुशल बूढाथोकीका अनुसार राजकुमारी थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने उद्देश्य सहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् । तर, सगरमाथा आरोहणका लागि मौसम अनुकुल नभएपछि अहिले मनास्लु आरोहण गरेकी हुन् ।  राजकुमारी थानीले दक्षिण अमेरिकाको ६ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५ हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी जानकारी दिइएको छ । नेपाल पर्यटन विभागका अनुसार मनास्लु हिमालसँगै यो महीना ६ ओटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । तीमध्ये मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जनाले अनुमति लिएका छन् ।  उनीहरुबाट १ करोड ८० लाख ९९ हजार रुपैयाँ सलामी दस्तुर पर्यटन विभागले लिएको छ । त्यस्तै धौलागिरी हिमाल आरोहणका लागि चार टिमका ४० जना र मरियाङ हिमाल आरोहणका लागि एक टिमबाट आठ जनाले अनुमति लिएका छन् । त्यसैगरी पुथा हिमचुली आरोहणका लागि एक टिमका तीनजना, कञ्चनजंघा हिमाल आरोहणका लागि एक टिमका तीन जना र कुम्भकर्ण हिमाल आरोहणका लागि एक टिमका पाँचजना र गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।  हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।