प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दन

सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक भेटघाटका क्रममा डोटी आउनुभएका प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गर्न लागिएको हो । लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उच्च सम्मानका साथ उहाँलाई वैशाख २ गते सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिने दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले बताउनुभयो । नागरिक अभिनन्दनका विषयमा आयोजित पत्रकार सम्मेलमा नगर प्रमुख खड्काले प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलो पटक प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुग्नुभएको बताउनुभयो ।

सम्बन्धित सामग्री

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो प्रमुख भूमिका र जिम्मेवारी रहेको बताउनुभएको छ । डोटीको सिलगढीमा आइतबार उहाँलाई गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष न्यायपालिकाको मान्यता अक्षुण्ण राख्दै प्रभावकारी न्याय प्रशासन कायम गर्न लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायपालिकाको नेतृत्व सम्हालेदेखि नै आफूलाई न्यायिक सुधार र न्यायपालिकाको श्रीवृद्धिमा समाहित गर्दै आएको छु, जस अनुसार न्यायिक सुधारका सकारात्मक सङ्केत र उपलब्धिसमेत देखा पर्दै गएका छन् । बाँकी अवधि पनि म त्यसैमा समर्पित गर्ने वाचा गर्दछु ।” स्वच्छ, निष्पक्ष छिटोछरितो गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन तथा सुशासन र विधिको शासनको प्रत्याभूति गर्दै आमनागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्ने कसरतमा आफू रहेको उहाँले बताउनुभयो ।