विराटनगर (अस) । प्रदेश १ प्रदेशसभाको अर्थ समितिले प्रदेशको राजस्वको स्रोत पहिचान तथा संकलन अभिवृद्धिका लागि कार्यदल गठन गरी तत्काल काम थाल्न निर्देशन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका उप–सचिव र शाखा अधिकृतबाट चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकसम्मको आम्दानी र खर्च तथा राजस्वको अवस्था बुझेपछि अर्थ समितिले मन्त्रालयलाई राजस्वको स्रोत पहिचान र संकलन बढाउन कार्यदल गठन गरेर तुरुन्त काम थाल्न निर्देशन गरेको हो ।
अर्थ समितिका सभापति मोहनकुमार खड्काले वित्तीय समानीकरण र राजस्व बाँडफाँटमा संघीय सरकारसँग सूत्र र दर नै वृद्धि गर्न प्रदेशले पहल गर्नुपर्नेमा जोड दिए । साथै कार्यदल गठन गरेर कार्य अगाडि बढाउन उनले निर्देशन गरेका हुन् ।
अर्थ समितिले संघीय सरकारसँग आगामी आर्थिक वर्षका लागि माग गरेका समपूरक र विशेष योजनाको विवरण, प्रदेश सरकारले आजसम्म लगाएका बहुवर्षीय योजनाको विवरण र स्थिति समितिलाई १० दिनभित्र बुझाउन पनि मन्त्रालयलाई निर्देशन गरेको छ । यसैगरी संघबाट प्रदेशका सबै मन्त्रालयमा दिइने सालबसाली सशर्त योजनाको विवरण, स्थिति र मूल्यांकन सम्बन्धित मन्त्रालयबाट मगाई ५ फागुनभित्र पेश गर्न समितिले मन्त्रालयलाई भनेको छ ।
समितिका सचिव प्रेम श्रेष्ठका अनुसार बुधवार बसेको प्रदेश १ अर्थ समितिको बैठकले प्रदेशका बजेट तथा योजना छनोट कार्यान्वयनको अवस्था र प्रदेशस्तरीय योजना, बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६ कार्यान्वयनको सम्बन्धमा प्रदेश योजना आयोगसँग बैठक बसेर छलफल गर्ने निर्णय समेत गरेको छ ।