चैत २०, काठमाडौं । यातायात व्यवस्था विभागले आइतवारदेखि लागू हुने गरी सार्वजनिक तथा मालबाहक सवारी साधनको भाडा बढाएको छ ।
विभागका अनुसार अव एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि गरिएको छ ।
विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनके भाडा बढाउने निर्णय गरेको हो ।
यो निर्णयपछि पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ । अब इन्धनको मूल्य ५ प्रतशितभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट भाडा समायोजन हुने छ ।
तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने भएकाले सकारात्मक निर्णय भएको कतिपय यातायात व्यवसायीले बताएका छन् । डिजल–पेट्रोलको मूल्यले नेपालमा नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए ।