अहिले विश्व वित्तीय क्षेत्रमा विकेन्द्रित वित्तले पर्याप्त ध्यानाकर्षण गरेको छ । जुन गतिमा यसको विकास भइरहेको छ त्यसले परम्परागत बैंकिङको भविष्यप्रति कस्तो प्रभाव पार्ला भनेर पनि बहसहरू चल्न थालेका छन् । अंग्रेजी शब्द ‘डिसेन्ट्रलाइज्ड फिनान्स’ को छोटकरी रूप ‘डेफी’ को नाममा विश्वव्यापी रूपमा विकेन्द्रित वित्तको चर्चा गर्ने गरिएका कारण यो आलेखमा पनि ‘डेफी’ शब्द नै प्रयोग गरिएको छ ।
के हो ‘डेफी’ ?
वास्तवमा ‘डेफी’ उदीयमान विद्युतीय परितन्त्र (इकोसिस्टम) हो जसले कुनै पनि बैंक, ब्रोकर, विनिमय कम्पनी आदिको सहयोगविना नै मानिसहरूलाई पैसा पठाउने, प्राप्त गर्ने र विनिमय गर्ने मञ्च प्रदान गर्छ । यो एउटा उदीयमान वित्तीय प्रविधि हो जुन प्रच्छन्न मुद्रा (क्रिप्टो करेन्सी) मा प्रयोग हुने जस्तै ब्लकचेन प्रविधिमा सञ्चालन हुन्छ । यसले कुनै वित्तीय मध्यस्थकर्ताविना नै व्यक्ति–व्यक्तिबीच विद्युतीय रूपमा कारोबार गर्न मद्दत गर्छ ।
ब्लकचेन प्रविधिमा कारोबारहरू ब्लक ब्लकमा भण्डारण हुन्छन् र त्यसलाई यसका प्रयोगकर्ताहरूले स्वयं प्रमाणित गरेपछि ती विद्युतीय संकेतमा रूपान्तरित हुन्छन् । यसलाई ‘इन्क्रिप्सन’ भनिन्छ । इन्क्रिप्सनपछि पुरानो ब्लक बन्द हुन्छ अनि त्यससँग सम्बद्ध जानकारी भएको अर्को ब्लक सृजना हुन्छ र एक प्रकारले ब्लकहरूको सांग्लो तयार हुन्छ । यसरी ब्लकहरूको सांग्लो बन्ने भएकाले नै यसलाई ‘ब्लकचेन’ भनिएको हो ।
सन् २००९ मा यस्तै ब्लकचेनमा आधारित भएर प्रचलनमा आएको ‘बिटक्वाइन’लाई नै ‘डेफी’को प्रारम्भिक स्वरूप मानिन्छ तापनि सन् २०१४ मा विकास गरी २०१७ मा आधिकारिक रूपमा सञ्चालनमा आएको ‘मेकर डाओ’ लाई पहिलो ‘डेफी प्रोटोकल’ मानिन्छ । २०१७ मै यस्तो प्रोटोकल विकास भए पनि त्यसको ‘डेफी’ नामकरण भने सन् २०१८ मा भएको थियो ।
डेफीकै रूपमा विकेन्द्रित बीमा पनि सञ्चालन गरिएको पाइन्छ । स्मार्ट कन्ट्र्याक्टमार्फत यस्ता बीमालेखबाट परम्परागत बीमा कम्पनीबाट पाउनेभन्दा छोटो समयमै पूर्ण क्षतिपूर्ति पाउन सक्ने विश्वास गरिन्छ ।
प्रच्छन्न मुद्रामा जस्तै यसमा पनि व्यक्तिले आफ्नो व्यक्तिगत तर सुरक्षित विद्युतीय थैलोमा आफ्ना विद्युतीय मुद्राहरू संकलन गर्छ र चाहेको बेलामा चाहेको मानिसलाई विद्युतीय माध्यमबाट नै स्थानान्तरण गर्न सक्छ । तर, यसका लागि पहिला आफ्नो विद्युतीय थैलीमा केही प्रच्छन्न मुद्राहरू जम्मा गर्नुपर्ने हुन्छ ।
अवसरका रूपमा ‘डेफी’ले वित्तीय सेवामा धेरै सुविधा थपेको छ । यसप्रतिको पहुँच सहज तथा पारदर्शी हुनुका साथै आफ्नो वित्तमाथि पूर्ण रूपमा स्वनियन्त्रण कायम गर्ने माध्यमका रूपमा समेत भूमिका खेल्ने भएकाले यो दिन प्रतिदिन लोकप्रिय हुँदै गएको छ । यस्तो सर्वसुलभ ‘प्लेटफर्म’ पाएपछि परम्परागत रूपमा वित्तीय सेवा दिने अहिले सञ्चालनमा रहिरहेका बैंकहरूको आवश्यकता नपर्न सक्छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिकोमा रकम स्थानान्तरण गर्दा परम्परागत बैंकिङ प्रणालीमा तिर्नुपर्ने शुल्क यसमा नलाग्ने भएकाले पनि यसलाई दिन प्रतिदिन प्रयोग गर्नेहरूको जमात बढ्दो छ । बरु एकआपसमा सहमतिको आधारमा लिनेदिने ब्याजदर निर्धारण हुने हुनाले त्यो परम्परागत बैंकिङ प्रणालीभन्दा फाइदाजनक हुने पनि यसका पक्षमा वकालत गर्नेहरूले बताउँदै आएका छन् ।
शीघ्र कारोबार गर्न सक्नुले पनि यसलाई अझ बढी आकर्षक बनाएको छ । परम्परागत अन्य बैंकिङमा जस्तो कारोबारका लागि निश्चित प्रक्रिया अवलम्बन गर्नु नपर्ने भएकाले यसका कारोबारहरू अत्यन्त छोटो समयमा नै सम्पन्न गर्न सकिन्छ । फेरि परम्परागत बैंकिङमा जस्तो कारोबारको समयसीमा नहुने भएकाले पनि यसलाई आफूले चाहेको जुनसुकै बेला प्रयोग गर्न सकिन्छ ।
डेफी : चुनौती र जोखिम
चुनौतीका बारेमा कुरा गर्दा दुई पक्षको बीचमा हुने कारोबारको सुरक्षा, नियामकीय अनिश्चितता, सम्पत्ति शुद्धीकरण जस्ता वित्तीय अपराधको जोखिम आदिलाई ‘डेफी’ को उल्लेखनीय चुनौती मान्न सकिन्छ । अहिलेसम्म विश्वमा भएका कानूनी एवं नियामकीय व्यवस्थाहरू केन्द्रीकृत वित्तीय प्रणालीसँग सम्बद्ध छन् । अर्को शब्दमा भन्ने हो भने मध्यस्थकर्ताको माध्यमबाट हुने कारोबारका लागि नियामक एवं निमयनको व्यवस्था भएकोमा यस्तो प्रकारको विकेन्द्रित कारोबारको नियमन, अनुसन्धान एवं निगरानीका लागि ठोस रूपमा कुनै संयन्त्रको विकास भएको पाइँदैन ।
हुन त वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले आफ्नो प्रच्छन्न मुद्रासम्बन्धी निर्देशिकामा गतवर्ष मात्र ‘डेफी’ लाई पनि समावेश गरी तत्सम्बन्धी पक्षहरूलाई ‘सर्जक’, ‘मालिक’ र ‘सञ्चालक’ भनी परिभाषित गरेको छ । तिनले पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा व्यवस्था गरिएका विश्वव्यापी व्यवस्थाहरूको कार्यान्वयन गर्नुपर्ने बताइएको छ । तापनि केन्द्रीय नियामकको अभावमा त्यसको प्रभावकारी कार्यान्वयन भएको पाइँदैन ।
फेरि प्रणालीगत स्थिरता, त्यसको अद्यावधिक गर्ने संयन्त्र, हार्डवेयरमाथिको निर्भरता आदि जस्ता विषय पनि ‘डेफी’ कारोबारको सन्दर्भमा थप विचारणीय छन् ।
‘डेफी’ का चुनौतीका बारेमा चर्चा गर्दा अहिले बढ्दो प्रविधिजन्य ठगी तथा चोरीको बृहद् जोखिमको पक्षलाई पनि उपेक्षा गर्न सकिँदैन । यस प्रकारको कारोबारमा प्रयोग हुने पासवार्ड तथा अन्य सुरक्षात्मक उपायहरू माथि ह्याकरले हमला गर्न सक्ने प्रचुर सम्भावना रहन्छ । एकपटक ह्याकरको शिकार भएपछि आफ्नो विद्युतीय खल्तीमा रहेको रकममाथि आफ्नो नियन्त्रण हुँदैन र त्यसको शोधभर्ना पाउने सम्भावना शून्य रहन्छ । यसो हुनुमा यस्तो प्रकारको कारोबारलाई उल्ट्याउन सम्भव नहुनु हो । सन् २०१८ मा यस्तै एक विकेन्द्रित कम्पनी ‘बैंकोर’ लाई ह्याक गरेर सवा करोडभन्दा बढी डलर ह्याकरहरूले हत्याउन सफल भएका थिए । यस प्रकार कोडिङमा हुने गल्ती एवं ह्याक हुने सम्भावना ‘डेफी’मा प्रबल रहन्छ ।
त्यसमाथि उच्च प्रकृतिको प्रविधिमार्फत सञ्चालन हुने भएकाले यसका सबै सुरक्षा व्यवस्था तथा अपनाउनुपर्ने सावधानीका बारेमा सर्वसाधारण अपेक्षित रूपमा जानकार छैनन् । त्यसैले आम रूपमा यसको प्रयोगमा हुन सक्ने जोखिमलाई संकेत गर्छ ।
फेरि प्रविधिमा आधारित र त्यो प्रविधि पनि जटिल प्रकृतिको हुने भएकाले सर्वसाधारणका लागि डेफीको सहज पहुँचमा पनि जटिलताको स्थिति पैदा हुन्छ । र, यस्तो जटिल परिस्थितिमा मद्दत गर्ने कुनै पनि प्रकारको ग्राहक सेवासुविधा यसमा हुँदैन । यस्तो अवस्थाले पनि कतिपय व्यक्तिहरू डेफी प्रविधिको ‘शिकार’ बन्न सक्ने प्रचुर सम्भावना रहन्छ ।
अर्को शब्दमा भन्ने हो भने ‘डेफी’ले यसका प्रयोगकर्ताको हित संरक्षण गर्ने जिम्मा लिँदैन । परम्परागत बैंकिङमा अहिले अधिकांश मुलुकका बैंकिङ प्रणालीमा जम्मा भएको रकममा केही निश्चित अंशका लागि बीमा गरिएको हुन्छ तर यसमा सबै सुरक्षाको जिम्मेवारी प्रयोगकर्ताकै हातमा निर्भर रहन्छ । यति बिघ्न चुनौती भए तापनि ‘डेफी’ र अहिले सञ्चालनमा रहेका परम्परागत बैंकिङ संस्थाहरूको सहकार्यले भने विश्व वित्तीय जगत्लाई थप बलियो तथा प्रभावकारी बनाउन मद्दत गर्ने कुरामा भने कुनै द्विविधा छैन ।
लेखक प्रकाश भण्डारी बैंकर हुन् ।