आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार गरिंदैछ । गत र यो वर्षको बजेटमा कोरोना महामारीले सिर्जेका परिणामको बाछिटा परेको र पर्ने अवस्था छ । बजेटले कोरोना सङ्क्रमणको दोस्रो लहरबाट सिर्जित परिस्थिति नियन्त्रण र समग्र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिनुपर्नेछ । नियमित विकास–निर्माण, सामाजिक सुरक्षा र सामाजिक उत्तरदायित्व पनि बहन गर्नुछ । राजस्व÷कर (आम्दानी) घट्दो छ । साधारण खर्च बढेको छ । यस्तो अवस्थामा बजेटलाई विद्यमान समस्यामा केन्द्रित गर्नुपर्ने भएकाले विकास कार्य ओझेलमा पर्ने सम्भावना हुन्छ । महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई केन्द्रमा राखेर सरकारी नीति, कार्यक्रम तथा बजेटले प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता छ । गत वर्षको बजेटले नागरिकको उपचार, स्वास्थ्य पूर्वाधार, आर्थिक क्षेत्रको पुनरुस्थानमा विशेष जोड दिएको थियो ।