काभ्रे । काभ्रेको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिकालाई आहाना नेपाल फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउन्डेसनको अगुवाइमा पालिकाका सबै वडामा सो सामग्री उपलब्ध गराउने गरी पालिका अध्यक्ष कृष्णबहादुर खुलाललाई हस्तान्तरण गरिएको हो ।
संस्थाले उपलब्ध गराएका सामग्रीमा एक हजार डेटोल साबुन, धुन मिल्ने कोरियन कालो मास्क एक हजार र २०० पत्ता साइनेक्सलगायत छन् । समुदाय स्तरमै संक्रमण फैलिएपछि अहिले गाउँगाउँमा पालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना परीक्षण अभियान सञ्चालन गरिरहेको छ । सो क्रममा गाउँपालिकालाई थप सहयोग गर्न संस्थाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरिएको फान्डेसनका प्रतिनिधि सागर जिम्बाले बताए ।
नेकपा माओवादी केन्द्र खानीखोला गाउँपालिका कमिटीले पनि गाउँपालिकाका लागि सर्जिकल मास्क, स्यानिटाइजर, किड्स, अक्सोमिटर, पीपीई सेट, ग्लोब्स, थर्मलगनलगायतका सामग्री खानीखोलालाई हस्तान्तरण गरेको छ । डाँडापारिको विकट क्षेत्र खानीखोला गाउँपालिका–३ मा रहेको भृकुटी माध्यमिक विद्यालयका लागि आहाना नेपाल फाउन्डेसनको समन्वयमा मास्क र स्यानिटाइजरका साथै डेस्क, बेञ्च, अफिस दराज, टेबल, ल्यापटप, प्रिन्टर, प्रोजेक्टरलगायत सामग्री हस्तान्तरण गरेको थियो । रासस