विराटनगर । यही माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोशी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठूला ब्राण्डहरू पनि सहभागी हुने भएका छन् । एक्स्पोमा सहभागिताका लागि नयाँ उद्योग र कम्पनीलाई प्रोत्साहन गरिएकाले उनीहरू आफ्नो उत्पादनको प्रवर्द्धनका लागि उत्पादनसहित सहभागी हुन लागेका हुन् ।
सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विराटनगरसहित वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायत प्रमुख औद्योगिक क्षेत्रका उद्योगले एक्स्पोमा सहभागिता सुनिश्चित गरेको जानकारी दिए । विराटनगरमा यसअघि हुँदै आएका व्यापारिक मेलाहरूमा अहिलेसम्म सहभागी नभएका सीजी, यामाहा, सूर्य पेन्ट्स, रुस्लान, न्यूट्री प्लस फुड लगायत कम्पनी सहभागी हुने भएका हुन् ।
एक्स्पोमा प्रदेश १ का सबैजसो उद्योग सहभागी हुने अध्यक्ष घिमिरेले बताए । एक्स्पोमा लोकप्रिय कृषि उत्पादनतर्फ किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी तथा विक्री हुनेछ ।
एक्स्पोमा प्रवेशका लागि अनलाइन टिकटको व्यवस्था मिलाइएको छ । प्रवेशद्वारमा टिकट काट्नुपर्ने परम्परागत कार्यको अन्त्य गर्न अनलाइन टिकेटिङ प्रभावकारी हुने एक्स्पो सचिवालयले बताएको छ । विराटनगर–२ शंकरपुरमा एक्स्पो स्थल निर्माणको तयारी तीव्र पारिएको छ । अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ ।