महिलालाई व्यावसायिक बनाउन ढाका बुन्ने तालिम

तेह्रथुम-ढाका बुनाई व्यावसाय गर्दै आएका महिलाहरुलाई अझ व्यावसायिक बनाउन तालिम सञ्चालन गरिएको छ ।तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा ढाका व्यावसाय गर्दै आएका महिलालाई लक्षित गरी १५ दिने ढाका कपडा डिजाइन तथा रंग मिलान सम्बन्धी तालिम सञ्चालन गरीएको हो ।लालिगुराँस नगरपालिकाद्वारा सञ्चालित तथा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमको आयोजनामा तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक छत्र […]

सम्बन्धित सामग्री

महिलालाई आत्मनिर्भर बनाउन अन्नपूर्णमा ढाका बुनाई तालिम

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरेको छ ।

आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम

महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरसँग साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।...

महिला उद्यमशीलताको आधार वित्तीय साक्षरता

विराटनगर । उद्यमी महिलाका लागि वित्तीय साक्षरता नै अहिलेको आवश्यकता रहेकाले राज्य र निजीक्षेत्रले त्यसका लागि आवश्यक कदम चाल्नुपर्ने सरोकारवालाले बताएका छन् । यसो गरे भविष्यमा मुलुकको अर्थतन्त्रमा महिला उद्यमीको टेवा निकै दरिलो हुने ‘स्ट्यान्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२२’ तयारीको क्रममा मंगलवार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले बताएका हुन् । उद्योग संगठन मोरङको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा संगठनका कार्यसमिति सदस्य तथा महिला उद्यम समिति संयोजक प्रतिभा रिजाल ओलीले मुलुकको आर्थिक विकासको एउटा अंश महिला जहिले पनि पछि परेको चर्चा गर्दै महिला उद्यमीका लागि वित्तीय साक्षरता अपरिहार्य रहेकाले त्यसबाट महिलाले लाभ लिने उल्लेख गरिन् । उनले भनिन् ‘मुलुकको आर्थिक विकासमा महिलाको योगदान पनि कम छैन र तलैबाट महिलालाई उद्यमशीलतामा साक्षर बनाएर लैजाने हो भने अर्थतन्त्रमा महिलाको योगदान अझ बढी हुन्छ ।’ अधिकांश महिलाले जीविकोपार्जनका लागि मात्रै व्यवसाय गर्ने गरेको र त्यसलाई विस्तार गर्न चाहे पनि बैंकबाट ऋण लिन प्रक्रिया थाहा नभएको, बजारबारे जानकारी नभएको कारण राम्रो उत्पादन भएर पनि सानो बजारमा खुम्चनुपरेको उनले खुलाइन् । त्यस्ता व्यवसायी महिलाले अगाडि कसरी जाने भन्ने विषयमा न्यू बिजनेश एजले आयोजना गरेको तालीम र अन्तरक्रिया बेलाबेलामा भइरहेमा त्यो निकै फलदायी हुने उनले सुनाइन् । महिला उद्यमीलाई ऋण लिने, आफ्नो व्यवसायको हिसाब राख्ने, बजारीकरण गर्न सक्ने बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले न्यू बिजनेश एजले वर्षमा दुईओटा यस्ता कार्यक्रम गर्नुपर्ने सुझाव दिइन् । संगठनका अध्यक्ष सुयशराज प्याकुरेलले राजधानीबाहिर पनि महिला उद्यमशीलताको विकासका लागि कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए । उनले महिला उद्यमशीलताको विकासमा सबैभन्दा पहिले सारक्षता नै आवश्यक रहेको बताए । कार्यक्रमबारे न्यू बिजनेश एजका अध्यक्ष तथा प्रधानसम्पादक मदन लम्सालले प्रकाश पारेका थिए । यो कार्यक्रम विभिन्न प्रदेशमा गरिएको र त्यसमार्फत छानिएका महिला उद्यमीलाई राजधानीमा सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम राखिएको लम्सालले बताए । लम्सालले सन् २०१३ देखि नै न्यू बिजनेश एजले उद्यमशीलताको पक्षमा काम गर्दै आएको जानकारी दिए । महिला उद्यमशील भएमा मात्र मुलुकको आर्थिक विकास हुने बताउँदै लम्सालले त्यसका लागि न्यू बिजनेश एजले वार्षिक रूपमा महिला उद्यमीलाई तालीम र अन्तरक्रियामा सहभागी गराउँदै आएको बताए । नेपाल महिला उद्यमी महासंघका अध्यक्ष निरू रायमाझी खत्रीले लिडरशीप र लिडरशीपमा हुनुपर्ने गुणबारे सहभागीलाई तालीम दिएकी थिइन् । उनले व्यवसायलाई अघि बढाउन आवश्यक पर्ने विषयवस्तुबारे समेत सहभागीलाई जानकारी गराएकी थिइन् । कार्यक्रममा सहभागी लुमा घरेलु ढाका उद्योगकी सीता राईले आफूले व्यवसाय शुरू गर्दाका कठिनाइको तुलनामा अहिले आउने स्टार्टअपका लागि निकै सजिलो रहेको बताइन् । उनले न्यू बिजनेश एजले जस्तै अन्य संस्थाले पनि स्टार्टअपलाई सफल व्यवसाय सञ्चालनका लागि तालीम दिन आवश्यक रहेको बताइन् । ‘स्ट्यान्डर्ड चार्टर्ड बैंककी विराटनगर प्रबन्धक शर्मिला हुमागाईंले महिला उद्यमीले लिने कर्जामा कतिपय अवस्थामा डकुमेन्ट नपुग्ने समस्या रहेको बताइन् । उनले व्यवसायका लागि सबै कागजात मिलेको अवस्थामा बैंकले सहुलियत दरको ऋण पनि उपलब्ध गराइरहेको जानकारी दिइन् । कृषि विकास बैंक र मुक्तिनाथ विकास बैंकका प्रबन्धकहरूले डकुमेन्ट भएमा कर्जा दिने बताए । उनले अनुदानका लागि नभएर उद्यमशीलताका लागि कर्जा दिने उल्लेख गरे । महिलाको उद्यमशीलता विकासमा बैंकहरूले ऋण नदिने भन्ने नहुने तर महिलाको नाममा अरूले नै ऋण लिन खोजेको अवस्थामा समस्या हुने उनको भनाइ छ ।

उद्यमीलाई सहज छैन कर्जा, केही बैंकले मलाई नै हतोत्साहित गरे

डा. प्रतिभा पाण्डे पढाइले वैज्ञानिक (जैविक रसायनशास्त्री) र पेशाले हर्वेदा बोटानिकल्स, क्याटलिस्ट टेक्नोलजीकी संस्थापक एवं सीईओे हुन् । उनी आफूलाई वैज्ञानिक उद्यमी (साइन्स आन्त्रप्रेनर) का रूपमा चिनाउन चाहन्छिन् । अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीबाट अग्र्यानिक केमेस्ट्रीमा विद्यावारिधि हासिल गरी सन् २०१५ मा उनी नेपालमा फर्किइन् । त्यसपछि विभिन्न वनस्पतिको अनुसन्धानमा लागिरहँदा यसलाई उद्यमशीलतामा जोड्नुपर्ने खाँचो महसूस गरिन् । त्यही सोचले आफै उद्यमी बनेकी पाण्डेसँग उनको व्यावसायिक यात्रा, महिला उद्यमशीलताका चुनौती, समाधानका उपाय लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : सामान्यतया युवाहरू अमेरिकामा पढिसकेपछि उनीहरूको भनाइ नेपालमा कुनै अवसर छैनन् भन्ने पाइन्छ । तपाईंले चाहिं के अवसर देख्नुभयो र नेपाल फर्कनुभयो ? अवसरहरू के छन् भन्दा पनि नेपालमै अवसर कसरी सृजना गर्न सकिन्छ र हामीले अवसर सृजना नगरे कसले गर्ने भन्ने सोच लिएर सानै भए पनि नेपालमा नै केही गर्नुपर्छ, उदाहरण देखाउनुपर्छ भनेर हामी श्रीमान् श्रीमती दुवैजना नेपाल फर्केका हौं । नेपालमा यस क्षेत्रमा अवसर धेरै छन् ।  तपाईं इन्टेलेक्चुअल प्रपर्टी प्रोटेक्सन सोसाइटी अफ नेपाल  (इप्सन) मा पनि आबद्ध हुनुहुन्छ । इप्सनले के काम गर्छ ? तपाईंले त्यसमा के गर्नुहुन्छ ?  इप्सन धेरै पहिलादेखि नै स्थापना भएको संस्था हो । संस्थाका अहिलेका अध्यक्ष पूर्वसचिव कृष्ण ज्ञवालीको आग्रहमा म त्यसमा आबद्ध भएको हुँ । मसँग पनि अमेरिकामा तीनओटा प्याटेन्ट छन् । तर म यस विषयमा दखल भएको मान्छे होइन । तैपनि उहाँको निमन्त्रणामा म त्यसमा आबद्ध भएँ । म त्यहाँ गइसकेपछि वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (वाइपो)अन्तर्गत प्रशिक्षण दिने गरेका छौं । उद्योग विभागमा पेटेन्टबारे तालीम कार्यक्रम चलायौं । बौद्धिक सम्पत्तिको बारेमा सचेतना तालीम पनि दिने गरेका छौं । हाम्रो कानूनले पनि भौतिक सम्पत्तिलाई जस्तै बौद्धिक सम्पत्तिलाई पनि मान्यता दिएको छ । अप्रिल २६ मा विश्व बौद्धिक सम्पत्ति दिवस मनाइन्छ । यसपटकको दिवसमा म इप्सन र मेरो संस्थाको पनि प्र्र्रतिनिधित्व गर्दै जेनेभास्थित वाइपोको मुख्यालय जाँदै छु । हामी वाइपोको सदस्य भए पनि कानूनको हिसाबले कहाँ छौं ? तपाईंलाई कस्तो लाग्छ ? बौद्धिक सम्पत्ति सम्बन्धी कानूनको मस्यौदा तयार भएको छ । नीति राम्रो छ । त्यसको कानून भने पारित हुनै बाँकी छ । तर नीति र कार्यान्वयनबीच धेरै ठूलो खाडल छ । कानूनले धेरै कुरा भन्छ । तर त्यसको कार्यान्वयन कमजोर छ । पेटेन्टहरू पनि धेरै दर्ता भएका छैनन् । पेटेन्ट हेर्न सक्ने जनशक्ति पनि निकै कम छ । भौतिक पूर्वाधार पनि एकदमैै कम छ । खासगरी नेपालमा कपी राइट र ट्रेडमार्कको क्षेत्रमा केही राम्रो काम भएको छ । कपी राइटको व्यवस्थाले हाम्रो संगीत र लेखहरू बचाउने काम गरेको छ । ‘यस्तो छैन, उस्तो छैन’ भन्ने भन्दा पनि कहाँ राम्रो गर्न सकिन्छ, हेरेर अघि बढ्ने गरेका छौं ।  नेपालमा ठूला वैदेशिक लगानीका उद्योग आए, जस्तै– नेरोल्याक पेन्ट । तर ट्रेडमार्कमा समस्यामा परे । यसैबीच सेञ्चुरी मसलाको मुद्दा पनि चर्चामा आयो । यसले वैदेशिक लगानीलाई कस्तो असर पर्ला ?  यसमा निश्चय नै असर पर्छ । मेरा आफ्नै पेटेन्टहरू नेपालमा ल्याउने कि नल्याउनेमा निर्णय गर्न सकिरहेको छैन । पेटेन्ट दर्ता गर्दा सबै कुरा खुलाउनुपर्छ । यहाँ त्यसको चोरी भयो भने त्यसलाई नेपालको कानूनले संरक्षण गर्छ कि गर्दैन भन्ने शंका छ । बौद्धिक सम्पत्ति सम्बन्धमा अर्को महत्वपूर्ण पक्ष के छ भने हाम्रो नेपालको बौद्धिक ज्ञान, बौद्धिक सम्पत्ति लोप हुने अवस्था आयो । हाम्रो जडीबुटी, ढाका कपडाहरू जस्ता परम्परागत ज्ञान र शीपहरूलाई बचाउनुपर्छ । यसका लागि टीके अर्थात् ट्रेडिशनल नलेज र जीआई अर्थात् जियोग्राफिकल इन्डिकेशन जस्ता सामूहिक ट्रेडमार्क हुनुपर्छ । यी कुराहरू हामीले नीतिमा राखेका छौं । महिलाले आफै घरमा कमाएर ल्याउन थालेपछि कुरा बेग्लै हुन थाल्छ ।  तपाईं एउटा शिक्षित तथा उद्यमी महिला हुनुहुन्छ । नेपालमा शैक्षिक समुदाय र उद्यमीहरूबीच सम्बन्ध छैन । यी दुईलाई आपसमा जोड्न के गर्न सकिन्छ ? नेपालमा विज्ञान र गणितमा राम्रो गर्ने विद्यार्थीले विद्यालय तहमा पढ्दा नै डाक्टर, इन्जिनियर बन्ने कुरा शुरू हुन्छ । मेरोमा पनि त्यस्तै हुन आँटेको थियो । तर अमेरिकामा पढ्दा भने मेरो दिमाग अलि फराकिलो भयो । पीएचडी गर्ने क्रममा मलाई के लाग्यो भने विज्ञान पढ्नु भनेको अरूबाट निरपेक्ष भएर काम गर्ने होइन । किनकि दैनिक जीवनमा विज्ञानको धेरै प्रभाव हुन्छ । त्यसलाई खोज्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उद्यमशीलता र विज्ञानका बीच सम्बन्ध देख्न थालेँ । पीएचडी गर्ने क्रममा केल्लोग कलेज अफ म्यानेजमेन्टमा पनि पढ्न पाएँ । त्यहाँ गएपछि मेरो दिमाग यसरी खुलेको हो । विज्ञान र गणितका विद्यार्थीलाई व्यवस्थापन पनि पढाउन आवश्यक रहेछ । नेपालमा विज्ञान र गणितका विद्यार्थीलाई नाममात्रको इन्टर्नशिप गराइन्छ । त्यसलाई व्यावहारिक रूपमा लागु गर्नुपर्‍यो, विद्यार्थीलाई हाम्र्रो समाजसँग जोड्नुपर्‍यो । विज्ञानका विद्यार्थीलाई समाजसँग घुलमिल गराएर दक्ष जनशक्तिलाई इन्टर्नशिपमार्फत समाजमा लगाउन सकिन्छ । हाम्रा उद्योगहरूमा इन्टर्नशिप गराएर विज्ञान र उद्योगलाई जोड्नुपर्छ । अनि हाम्रा नीति नियमले पनि सहयोग गर्नुपर्छ ।  नेपालमा वैज्ञानिकका रूपमा काम गर्न सजिलो/ गाह्रो कस्तो अनुभव भइरहेको छ ? वैज्ञानिकले गर्ने काम भनेको कुनै पनि कुरालाई गहिराइमा पुगेर खोज अनुसन्धान गरी नयाँ तथ्य निकाल्ने हो । नेपालमा वैज्ञानिकका लागि आवश्यक पूर्वाधारको कमी छ । म रसायन विज्ञान पढेर आएको, तर यहाँ मलाई चाहिने आधारभूत उपकरण छैनन् । नेपालमा वैज्ञानिक नभएका होइनन् । तर उनीहरूका लागि आवश्यक पूर्वाधार नै छैनन् । ल्याबोरेटरीहरू छैनन् । हामीहरूले त्यसको व्यवस्था हुने वातावरण बनाउन खोजिरहेका छौं । म रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटेक्नोलजी (रिब) नामक अनुसन्धाता संस्थामा समेत आबद्ध छु । यसको बायोमेडिकम भन्ने क्याम्पस पनि छ । यसमा भएको अनुसन्धानमा आधारित भएर चार/ पाँचओटा छुट्टै कम्पनी पनि खोलेका छौं । यस्तै भक्तपुर क्यान्सर रिसर्च सेन्टरसँग समझदारी गरेर क्यान्सर सेल बायोलजीको पनि अनुसन्धान गरिरहेका छौं । बिचौलिया तन्त्रले महिलालाई मात्र होइन, पुरुषलाई पनि सताइरहेको छ ।   तपाईं अनुसन्धानको क्रममा नेपालका विभिन्न ठाउँमा जानुभएको छ । नेपालका महिलाको उत्थानका लागि के गर्नुपर्छ ? सर्वप्र्रथम हाम्र्रो समाजले नेपालका महिला पनि पुरुष समान काम गर्न सक्छन् भन्ने विश्वास गर्नुपर्‍यो । अझ ग्रामीण क्षेत्रका महिलाले कठिन परिस्थितिमा पनि काम गरेका छन् । उनीहरूको अनुभव र ज्ञान शहरका महिलाको तुलनामा धेरै छ । सरकारले उद्यमी महिलालाई विनाधितो कर्जा दिने भनेको छ । तर ग्रामीण क्षेत्रका महिलाले त्यो सुविधा प्र्राप्त गरेका छैनन् । किनभने उनीहरूलाई त्यसमा विभिन्न व्यावहारिक अड्चन छन् । उनीहरूमा जोखिम उठाउने आँट छ, तर जोखिम उठाउनै वञ्चित गरिन्छ । धेरै डर देखाइन्छ । उनीहरूलाई सहयोग, सद्भाव र प्रोत्साहनको खाँचो छ । आज पनि महिलाले जडीबुटी, मिथिला चित्रकला, हातले बुनेका सामानको उचित मूल्य पाउन सक्नुभएको छैन । काठमाडौंका पसलमा ती सामान जति मूल्यमा बिक्छन्, त्यसको तुलनामा ती महिलाले पाउने मूल्य आधाको आधाको आधा पनि हुँदैन । यसरी उनीहरूलाई त्यो शीप अघि बढाउन केही प्रोत्साहन छैन । श्रमको सम्मान हुनु जरुरी छ । उनीहरूको ज्ञानलाई संस्थागत पनि बनाउन पर्‍यो । त्यो शीपको प्रमाणपत्र दिने, त्यो शीप अरूलाई सिकाउने, त्यसबाट उनीहरूलाई आर्थिक लाभ हुने व्यवस्था गर्नुप¥यो । त्यसका लागि सरकारले बजारीकरणको व्यवस्था गर्नुपर्‍यो । जब महिला आर्थिक रूपले सबल हुन्छन्, तबमात्र देश समुन्नत हुने गर्दछ ।  महिलाले उत्पादन गरेका सामानको उचित मूल्य कसरी दिलाउन सकिएला ? मूल्यमा हुने यो ठूलो फरक घटाउन ‘प्रफिट शेयरिङ मोडल’ मा जान सकिन्छ । सरकार अनुगमनमा जाने गर्छ र २० देखि ३० प्रतिशतसम्म मात्र नाफा लिन पाइने भन्छ । तर व्यापारीहरूले भने ३५ प्र्रतिशत नाफा खोज्ने गर्छन् । २०० प्रतिशतसम्म मार्जिन राख्छन् । तपाईं महिला उद्यमी महासंघमा पनि आबद्ध हुनुहुन्छ । यस्ता संस्थाले यसमा कस्तो खालको भूमिका निर्वाह गर्न सक्लान् ? हाम्रो संस्थाले अहिले बिजनेश डेभलपमेन्ट सेन्टरको परिकल्पना गरेको छ । म त्यसमा समन्वयकारी भूमिकामा छु । बिचौलिया तन्त्रले महिलालाई मात्र होइन, पुरुषलाई पनि सताइरहेको छ । यसलाई कम गर्न हेल्प डेस्क र गाइड बुकमार्फत नव उद्यमीहरूलाई विभिन्न खालका कानूनी सल्लाह–सुझाव दिने गरेका छौं । आवश्यक परेमा बाहिरबाट विशेषज्ञ ल्याएर त्यसको लागत घटाएर पनि सेवा उपलब्ध गराउँछौं । अर्को हाम्रो ‘विनबिज’ अनलाइन पोर्टल छ, जसबाट महिला उद्यमीको सामानको मार्केटिङ, ब्रान्डिङ गर्ने योजनामा छौं । सरकारले उद्यमी महिलाहरूलाई विनाधितो कर्जा दिने भनेको छ । तर ग्रामीण क्षेत्रका महिलाले त्यो सुविधा प्राप्त गरेका छैनन् । उद्यमीहरूले बैंकबाट कर्जा पाउन कारोबारको हिसाबकिताब बैंकले खोजेअनुसारको ढाँचामा देखाउनुपर्ने हुन्छ । यसमा उनीहरूलाई समस्या छ । यसको सहजीकरणका लागि महिला उद्यमी महासंघ जस्ता संस्थाले कस्तो खालको भूमिका निर्वाह गर्न सक्क्छन् ? महिला उद्यमलाई बढावा दिन बैंकहरूले पनि जोखिम लिनुपर्छ । महिला उद्यमीलाई प्रोत्साहन नगरे पनि हतोत्साहित नगर्न मेरो अनुरोध छ । केही बैंकले त मलाई नै हतोत्साहित गरे । महिला उद्यमीलाई व्यवसाय खोल्न प्रस्तावना तयार गर्न र उद्योग दर्ता प्रक्रियाका लागि हामीले महासंघबाट पनि सहयोग गर्छाैं । हामीले न्यू बिजनेश एजबाट पनि धेरै जिल्लामा गएर तालीम तथा अन्तरक्रिया कार्यक्रम मार्फत महिला उद्यमीलाई सहयोग गर्ने प्रयास गरेका छौं । तर अपेक्षित रूपमा महिला उद्यमीको सहभागिता पाएका छैनौं । सहभागिता बढाउन के गर्नुपर्ला ? महिलाका काम धेरै हुन्छन् । घरपरिवार चलाउनुपर्छ, बालबच्चा हेर्नुपर्छ ।  गाउँघरका महिलाको खेतिपाती हुन्छ, वस्तुभाउ पालेका हुन्छन् । उनीहरूका यस्ता काममा घरपरिवारले सघाउनुपर्छ । आजै नगरी नहुने काम छोडेर उनीहरू भविष्यमा हुने लाभका लागि आउन सक्तैनन् । शहरमा बस्ने मजस्तालाई त त्यस्तै समस्या हुन्छ । महिला उद्यमीलाई समाजले नै प्रोत्साहन दिन सक्यो भने उनीहरू तालीम तथा सेमिनारहरूमा सहभागी हुन सक्छन् ।  हाम्रो समाजले नेपालका महिला पनि पुरुष समान काम गर्न सक्छन् भन्ने विश्वास गर्नुपर्‍यो ।   महिला उद्यमीलाई समय व्यवस्थापनमा निकै कठिन हुन्छ । तपाईं चाहिं समय व्यवस्थापन कसरी गर्नुहुन्छ ? मेरो समय व्यवस्थापनमा सबैभन्दा मुख्य भूमिका श्रीमान्को छ । त्यस्तै सासुससुरा, दाजुभाउजूको सहयोगले मलाई समय व्यवस्थापन गर्न सजिलो भएको छ । उद्यमको भोक कति तीव्र हो, त्यसमा पनि भर पर्छ । परिवार र व्यवसाय दुवैमा वातावरण मिलाउन सक्नुपर्छ । परिवारमा सदस्यहरूको काममा आलोपालो मिलाउन सकिन्छ । हामीले अहिले त बच्चा हेर्ने सहयोगी पनि राखेका छौं । तर सबैले यसरी सहयोगी राख्न व्यावहारिक नहोला । यसरी बचाएको समय सदुपयोग गरेर यस्तो सहयोगीलाई तिर्ने गरी थप रकम कमाउन सकिन्छ कि सकिँदैन भन्ने पनि हेर्नुपर्छ । महिला उद्यमीहरू मुख्य दुई समस्या रहेको बताउनु हुन्छ । पहिलो, बैंकले ऋण पत्याउँदैन । बैंकले ऋण पत्याउन के गर्नुपर्छ ? दोस्रो, समय व्यवस्थापन कसरी गर्ने ? यसमा तपाईंको कुनै सुझाव छ कि ? बैंकले पत्याउने गराउन पहिला महिला उद्यमीले आफ्नो उत्पादित सामानको मार्केटिङ, ब्राण्डिङ गर्नुपर्‍यो । त्यो उत्पादित सामानको बजार खोज्न सक्नुपर्‍यो । विक्री गर्न सक्ने क्षमताको विकास गर्नुपर्‍यो । त्यो धेरै महिला उद्यमीबाट भएको छैन । अनि मात्र बैंकले पनि ऋण पत्याउँछ । समय व्यवस्थापन गर्न घरपरिवारको सहयोगको खाँचो पर्छ । घरपरिवारबाट सहयोग हौसला पाउन आफूले नै वातावरण बनाउनुपर्छ । महिलाले आफै घरमा कमाएर ल्याउन थालेपछि कुरा बेग्लै हुन थाल्छ । क्याटलिस्ट टेक्नोलजी र हर्वेदा बोटानिकल्सले के के काम गर्छन् ? यी दुईओटाको सम्बन्ध के छ ? क्याटलिस्ट टेक्नोलजी म अमेरिकाबाट नेपाल फर्केपछि थालेकोे हो । अमेरिकामा हुँदा म फोनमा लाग्ने सानो चिपको डिजाइन र त्यसलाई सुधार गर्ने काम गर्थें । त्यो काम मैले नेपाल आएर पनि गरिरहेको थिएँ । यस अन्तर्गत मैले दुई वर्षसम्म आधा समय सिंगापुरका इन्जिनियर र वैज्ञानिकहरूलाई यहीँबाट ‘लिड’ गर्थें । हरेक १० दिनमा म सिंगापुर गएर काम गर्थें । अनि समस्याहरू के छन् भनेर बुझ्न आधा समय म नेपाल घुम्न थालेँ । यहाँ जडीबुटीहरूको मूल्य अभिवृद्धिमा ठूलो अन्तर देखें । हाम्रा जडीबुटीहरू एकदमै सस्तोमा बाहिर पठाइरहेको देखें । आपूर्ति शृंखलामा धेरै सुधारको आवश्यकता देखेँ । यसको समाधानका लागि मैले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि काम गरें । यसमा काम गर्ने अवसर धेरै देखेपछि मैले विदेशको काम छाडें र त्यसलाई कन्सल्टेन्टको हैसियतमा जारी राखें । त्यसरी मलाई केही आम्दानी भइरह्यो । अनि क्याटलिस्ट टेक्नोलजी भन्ने कम्पनी खोलें, जसको मुख्य उद्देश्य साइन्स एन्ड टेक्नोलजीले बजारका समस्याहरू समाधान गर्न सकिन्छ भन्ने देखाउने हो । यसबाट औषधीय जडीबुटीमा अनुसन्धान थालेँ । साथै रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटेक्नोलजीसँग पनि मिलेर अनुसन्धान गर्न थालेँ । त्यहाँ केही अनुसन्धान अनुदान पनि ल्याएँ । त्यहाँ मेरो भूमिका विज्ञान अनुसन्धाताको छ । यता क्याटलिस्ट टेक्नोलजी चाहिँ साइन्सबाट बजारको समस्या समाधान गर्नेमा केन्द्रित छ । यसबीच हामीले केही कम्पनीलाई प्राकृतिक परिरक्षक (प्रिजर्भेटिभ) बनाएर दिएका छौं । त्यसअघि उहाँहरूको सामान दुई तीन दिन मात्र टिक्न सक्थ्यो । तर हामीले दिएकोे परिरक्षक प्र्रयोग गरेपछि उहाँहरूको सामान ३० देखि ६० दिनसम्म टिक्न थालेको छ । जस्तै– दूध, खुवाहरू । हर्वेदा बोटानिकल्सले स्किन केयर सम्बन्धी सामान उत्पादन गर्छ, जुन जडीबुटीहरूबाट नेपाली मौलिक ज्ञान प्रयोग गरेर बनेको हुन्छ । ती सामान विदेश पठाउने गुणस्तरको हुन्छ । विदेश पठाउँदा त्यस्ता वस्तुमा हाम्रो नेपाली कथा पनि संलग्न गरिएको हुन्छ । गुणस्तरीय सामान विदेश पठाएर नेपाललाई विश्वमा चिनिने गराउने उद्देश्य हर्वेदा बोटानिकल्सको छ ।  क्याटलिस्ट टेक्नोलजी साइन्सबाट बजारको समस्या समाधान गर्नेमा केन्द्रित छ ।   स्किन केयर सम्बन्धी सामान नै उत्पादन नै गर्ने भनेर कसरी सोच आयोे ? हामीहरूले विज्ञानको हिसाबले धेरै अनुसन्धान तथा खोज गर्दै जाने, तर त्यो खोज अनुसन्धानलाई वस्तु उत्पादनमार्फत बजारीकरण गर्न नसकिने भयो भने त्यो खोज अनुसन्धानको अर्थ छैन । नेपालमा त्यस्तो अनुसन्धान धेरै भयो । तर ती अनुसन्धानको बजारीकरण भएको देखिएन । नेपालमा धेरै मात्रामा जडीबुटी पाइन्छन् । तर हामीले विदेशी ब्राण्डका क्रिम लगाइराखेका छौं । ती क्रिम गुणस्तरीय छैनन्, तर ड्रमका ड्रम नेपाल ल्यायर विक्री भएका छन् । नियमन पनि छैन । त्यसकारण नेपालमा स्किन केयरको क्षेत्रमा धेरै गुणस्तरीय सामानको उत्पादन गर्न सकिन्छ भनेर नै थालेका हौं । उदाहरण दिन खोजेका हौं । हाम्र्रो देशमा सबैभन्दा धेरै आयात हुने सामानमध्ये पर्सनल केयरका सामान पर्दा रहेछन् । साथै तुरुन्तै र सानो परिमाणमा पनि गर्न सकिने देखेर पनि यस्ता सामानको उत्पादन शुरू गरेका हौं । अन्य प्रडक्ट पनि पाइपलाइनमा छन् । हामीले जडीबुटी किसानसँग सोझै खरीद गरेका छौं, जहाँ बिचौलियाको तह निकै कम छ । साथै सामुदायिक बनबाट पनि जडीबुटी खरीद गरेर ल्याउँछौं । सुर्खेतमा महिलाहरूको वन सहकारी छ । उहाँहरूबाट पनि लिन्छौं । अहिले किसानले खेती गर्ने तथा वनजंगलमा पाइने जडीबुटीलाई टिकाइराख्न तपाईंहरूको कस्तो भूमिका रहन्छ ? हामीले किसानका लागि बेर्ना तथा बीउको सहजीकरण गर्ने लक्ष्य छ । अहिले हाम्रो कम्पनी सानो भएकाले गर्न सकेका छैनौं ।  महिला उद्यमीलाई प्र्रोत्साहन नगरे पनि हतोत्साहित नगर्न मेरो अनुरोध छ । तपाईंले आफ्नो कम्पनीमा कति लगानी गर्नुभयो र कति जनालाई रोजगारी दिनुभएको छ ? थोरैबाट शुरू गरेको हो, तर यो ३ वर्षको अवधिमा हर्वेदा बोटानिकल्समा मोटामोटी एक करोडभन्दा बढी जति लगानी पुगेको छ । त्यो मैले नै कमाएको र बचाएको हो । घर परिवारबाट सहयोग नहुने होइन । सकभर आफ्नै लगानीमा गरौं भनेर गरगहना धितो राखेर पनि लगानी गरेँ । अब चाहिँ तलब पनि लिन थालेको छु । अहिले हाम्रो कम्पनीमा प्रत्यक्ष रूपमा दश–बाह्र जनालाई पूर्णकालीन रोजगारी दिएको छु भने अप्रत्यक्ष रूपमा सय जना जतिले काम गरिरहेका छन् । घरमै साबुन बनाउने जस्ता काम गर्नेहरू पनि छन् । तपाईंले आफ्नो कम्पनीका लागि चाहिने जनशक्ति नेपालमै पाउनुभएको छ कि विदेशबाट ल्याउनु परेको छ ? हामीले कम्पनीलाई चाहिने जनशक्ति नेपाली नै राखेका छौं । कम्पनीलाई चाहिने सामान पाएसम्म नेपालको प्रयोग गरेका छौं । प्राकृतिक रूपमा पाइने रसायन चाहिन्छ । त्यो भने नेपालमा नपाइने भएकाले विदेशबाट आयात गर्ने गरेका छौं । सफ्टवेयरहरू पनि यहीँबाट लिन्छौं । किनकि त्यो सस्तो हुन्छ । यसमा स्टार्टअपहरूको सहयोग लिन्छौं ।  खोज अनुसन्धानलाई सामान उत्पादनमार्फत बजारीकरण गर्न सकिएन भने त्यो खोज अनुसन्धानको अर्थ छैन । भविष्यका योजनाहरू के - के छन् ?  प्रमाणीकरण संस्था बन्ने लक्ष्य छ । त्यस्तो संस्था नेपालमा छैन । त्यसैले यहाँबाट पठाएका कतिपय सामान विदेशबाट फिर्ता आउने गरेका छन् । हामीले अहिले स्किन केयर सम्बन्धी सामान उत्पादन गरेका छौं । आगामी दिनमा न्युट्रास्युटिकल्स तथा थेरापीमा प्र्र्रयोग गर्ने सामान पनि उत्पादन गर्ने स्पिनअफ कम्पनीहरू बनाउने योजना छ ।  किसान तथा वनजंगलबाट पाइने हामीलाई चाहिने कच्चापदार्थको पारिस्थितिक पद्धतिको रक्षा गर्ने खालका योजना पनि छन् । यति गर्न नै धेरे वर्ष लाग्छ होला ।  अन्त्यमा, उद्यमशीलतामा आउने महिलालाई तपाईंको के सुझाव छ ?  सर्वप्रथम महिला उद्यमशीलता गर्न उनीहरूको परिवारको पूर्ण साथ, सहयोग र समर्थन हुनुपर्छ । उनीहरूले जोखिम र नेतृत्व लिन सक्ने खालको खुबी बनाउनुपर्छ, जसका लागि अन्य महिला उद्यमीहरूसँग सुझाव सल्लाह माग्ने, विभिन्न तालीम तथा कार्यक्रममा सहभागी हुन आवश्यक छ । आफूले भन्न खोजेको कुरा स्पष्ट बुझाउने, अरूलाई आफ्नो कामले प्रभावित पार्ने खालको क्षमताको विकास गनुपर्छ ।

पाल्पा ढाकाको राजधानीको रुपमा घोषित

चैत १३, पाल्पा । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ ।  तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानून, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरे । सो अवसरमा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । यस कार्यमा महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने र धेरैलाई स्वरोजगार बनाउने उनको भनाइ छ । सहसचिव दुवाडीले ढाकाको राजधानी बनेको पाल्पा अब अवसर र चुनौतीसमेत थपिएकाले उद्यमीको सीप विकास र उत्पादन बढाउनु पर्नेमा जोड दिए । तानसेन नगर प्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए ।  संघका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाममा बाहिर उत्पादन भएका ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्राण्डिङ बनाएर बजारमा पठाउन थालिएको जानकारी दिए । ‘ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्राण्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन’, उनले भने । गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्राण्ड बनाएर बजारमा ल्याइएको जानकारी दिइएको छ ।  बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।  तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेपछि उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका थिए । पाल्पाली ढाकाको विविधिकरण गरी धेरै किसिमका वस्तु निर्माण भएका छन् । सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन् । युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका बजारमा ल्याइएको हो । भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्थामा आएकाले यसबाट कुनै पनि ग्राहक ठगिन नपरोस् भनी ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा बजारमा ल्याइएको पाल्पाली ढाका संका व्यवस्थापक अनुशेष रायमाझीले बताए । उनका अनुसार ब्राण्ड बनेपछि कोही पनि ग्राहक अब ढाका कपडा खरीदमा नठगिने र पाल्पाको पहिचान बढ्नेछ । ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान् स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन् । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । स्व गणेशमानले शुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उनकी श्रीमती पूर्णमायाले हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछन् । उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएका छन् ।  पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरीद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करीब ९० थरिका सामान उत्पादन गर्छन् । सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् ।  बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डिङ लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग व्यापार फस्टाउने अवस्थामा छन् भने अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करीब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । यसैबाट महिलाको दरिलो आयस्रोत बनेको छ । रासस

कोरोना कहरले सुस्तायो पाल्पाली ढाकाको व्यापार

कात्तिक ७, पाल्पा । रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझी तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन् । पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उनी निराश छन् । कोरोना कहरले ढाकाका व्यापारमा निकै नै कमी आएको उनको अनुभव छ  । यस्ता उद्योग लामो समय बन्द हुँदा श्रमिक कामविहीन समेत बनेका छन् । तानसेनको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्दै आएका कृष्णबहादुर क्षेत्रीले कोरोनाले लाम्रो समय कपडा उत्पादनमा समस्या भएको जानकारी दिइन् । उनले भनिन्, ‘ढाका कपडा उत्पादनमा मात्र होइन, व्यापारमा समेत कमी हुँदै गएको छ ।’  आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन नसक्दा जिल्लामा ढाका र  करुवालगायतका स्थानीय वस्तुले बजार पाउन समस्या देखिएको हो । अघिल्ला वर्षका दशैंको घटस्थापना शुरु भएसँगै पाल्पाली ढाका कपडाको कारोबार निकै राम्रो हुँदै आएको थियो । पछिल्ला दुई वर्षका अवधिमा ढाका कपडाको व्यापार फस्टाउन सकेको छैन । ढाका कपडाको उत्पादन र  पसलसमेत थपिन सकेको छैन । तानबाट उत्पादित ढाका कपडा लगाउन स्वास्थ्यलाई समेत राम्रो हुने र निकै आकर्षक देखिएको छ । हस्तकलाबाट उत्पादित ढाका कपडाको सीप जोगाउन, कारोबार टिकाइराख्न पाल्पाली ढाकालाई विविधिकरण गर्न थालिएको हो । जिल्लामा ढाका कपडाको व्यापार राम्रो हुर्ने मदनपोखरा ढाका पसलका सञ्चालक कमल भण्डारीले जानकारी दिए । तानबाट उत्पादित ढाकाका सामग्री उपहारका रूपमा लैजाने गर्छन् । पर्यटकले कोशेली तथा मायाको चिनोका रूपमा ढाकाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ । यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले ढाका कपडा खोजीखोजी लैजाने गर्छन् । यसपालिको दशैंमा ढाकाको व्यापारमा कुनै उत्साह नभएको पाल्पाली ढाका कपडा संघका सचिव मनोज पौडेलले बताए । ढाका कपडा उत्पादन, बजारीकरणले सयौँ युवा रोजगारी पाउन सफल छन् । यसपालि ढाका कपडाको कारोबार नहुँदा उद्योगमा काम गर्ने श्रमिक, व्यापारीमा दशैं आए पनि कुनै उत्साह छैन । पाल्पाली ढाका कपडा उत्पादनका क्षेत्रमा प्रख्यात जिल्ला हो । पाल्पाको तानसेनमा उत्पादित ढाका कपडा अहिले जिल्लाका अधिकांश स्थानीय तहमा उत्पादन हुन्छ । जिल्लामा उत्पादित ढाका कपडासँगै रोजगारीका सम्भावना बढेको हो । जिल्लाका स्थानीय तहले ढाका कपडाको प्रवर्द्धनका निम्ति तालिम सञ्चालन गरी महिलालाई आत्मनिर्भर बनाउन खोजेका छन् । तानसेनका गणेशमान महर्जनले विसं २०१५ मा घरेलु कार्यालयमा पहिलोपटक ढाका उद्योग दर्ता गरे । सोही उद्योगबाट पहिलोपटक यहाँ ढाका कपडा उत्पादन हुन शुरुआत भएको जानकारी दिइएको छ । ढाका कपडालाई तानसेनमा भित्र्याउनुहुने उनकी धर्मपत्नी पूर्णमायाले अहिले पनि ढाकाको पेशालाई निरन्तरता दिइरहेको छ । उनका अनुसार तत्कालीन समयमा महर्जन कामका खोजीमा दिल्लीमा पुगिन् र कपडा बुनिन् पछि भारतबाट फर्केर जिल्लामा नै केही काम गर्नुपर्छ भनेर उद्योगका रूपमा नै ढाका कपडा उत्पादन गर्न थालिन् । उनले भनिन् ‘श्रीमान्ले शुरुआत गरेको ढाका उद्योग अहिले पाल्पाभर फस्टाएको छ । जिल्ला बाहिर तथा भित्रका धेरै महिलाले ढाका कपडा बुनाई, तयारी पोशाक उत्पादन र बजारीकरणमार्फत राम्रो आम्दानी भएको देखेको छु । महिलाहरु ढाकाबाट आत्मनिर्भर बन्न खोजी गर्नुभएकोमा मलाई नै खुशी लागेको छ ।’ पाल्पाली ढाका कपडासँग जोडिएर अहिले युवा, महिला, वृद्धसमेतले रोजगारी पाउन सकेकोमा उनका परिवार निकै उत्साहित बनेका छन् । रासस