यसरी गर्नुस् गोदावरी फूल खेती

काठमाडौं । डच फ्लाबर अक्सनमा गुलाबपछि दोस्रो स्थानमा पर्ने गोदावरी फूलको बजार नेपालमा पनि फस्टाउँदो छ । माटो वा प्लास्टिकको गमलामा गोदावरी फूल लगाई घर सजाउने कार्य विगतदेखि चलिआए पनि पछिल्लो समय यसको व्यावसायिक खेती गर्नेहरू बढेका छन् । विभिन्न रंग तथा अकार/प्रकारमा उपलब्ध हुने भएकाले यो फूलमा उपभोक्ताको रुचि बढ्दै गएको छ । यसको खेतीका लागि अन्य समय दिउँसोको तापक्रम २२ डिग्री सेल्सियस, रातिको तापक्रम १६ डिग्री सेल्सियस र फूलमा कोपिला लाग्ने समय २४ देखि २७ डिग्री सेल्सियस कायम राख्न सके गुणस्तरीय उत्पादन लिन सकिन्छ । यदि ग्रीन हाउसभित्र खेती गर्दै हुनुहुन्छ भने १६ देखि २५ डिग्री सेल्सियस तापक्रम, सापेक्षिक आद्रता ७० देखि ८ सय ५५, कार्बनडाइअक्साइडको मात्रा ६ सयदेखि ९ सय पीपीएम कायम राख्न सके राम्रो हुन्छ । प्रशस्त मात्रामा प्रांगारिक भएको माटोमा यसको उत्पादन राम्रो हुने पुष्पविज्ञहरू बताउँछन् । वरिष्ठ बागबानी विकास अधिकृतद्वय अनिलकुमार आचार्य र डा उमेद पुनका अनुसार माटोको पीएचको मात्रा ६ दशमलव ५ कायम राख्नुपर्दछ । सामान्यतया प्रतिवर्गमिटर ४५ देखि ६७ बोट हुने गरी बिरुवा लगाउनुपर्दछ । यसरी बिरुवा लगाउँदा १५÷१५ सेमि वा १०/१५ सेमिको दूरीमा बिरुवा लगाउनुपर्दछ । मल राख्दा जग्गा तयार गर्ने बेलामा नै डिएपी ५० ग्राम प्रतिवर्गमिटर बिरुवा लगाएपछिको तेस्रो सातादेखि पोटासियम नाइट्रेट ४ ग्राम प्रतिवर्गमिटर, क्याल्सियम एमोनियम नाइट्रेट, एमोनियम नाइट्रेट र म्याग्नेसियम सल्फेट ३ ग्राम प्रतिवर्गमिटर हाल्नुपर्दछ । त्यसैगरी यसको खेती गर्दा सिँचाइमा पनि विशेष ध्यान दिनुपर्दछ । सुक्खा समय बिरुवाहरू छिटो सुक्ने हुँदा सिँचाइ छिटो–छिटो गर्नुपर्दछ । यद्यपि बिरुवाको जरामा लामो समयसम्म पानी जम्ने गरी सिँचाइ गर्नु हुँदैन । ग्रीन हाउसमा दिउँसोको समय ढिलो गरी पानी हाल्नुहुँदैन । बिरुवा रोपेको ४ सातापछि पहिलो गोडाइ सुरु गर्नुपर्दछ र त्यसपछि हरेक १५ दिनमा एक पटक झारपात राम्ररी झिकेर गोड्नुपर्दछ । बिरुवा करिब डेढ फुटका भएपछि निहुरिने तथा ढल्ने समस्या हुने भएकाले बाँस वा निगालाका घोचा राख्नुपर्दछ । बिरुवाको उचाइ करिब ७ देखि ८ इन्च भइसकेपछि शाखा हाँगाहरूको संख्या बढाएर उत्पादन बढी लिन बिरुवाका टुप्पा चिमोटिदिनुपर्दछ । यो कार्य बिरुवा रोपेको तेस्रो र पाँचौं सातामा गरी दुई पटक गर्नुपर्दछ । फूलमा कोपिला लाग्न थालेपछि प्रत्येक हाँगामा एक–दुई वटा कोपिला छाडेर वरिपरिका मसिना कोपिला टिपिदिनुपर्दछ । कोपिला टिप्ने काम भदौ अन्तिम सातादेखि असोज पहिलो सातासम्म गर्नुपर्दछ । यसो गर्नाले फूलको उत्पादन राम्रो भई आम्दानी बढी लिन सकिन्छ । ढकमक्क फूल फुलिसकेपछिको दोस्रो साताबाट आवश्यकताअनुसार विक्रीका लागि बजारमा पठाउन सकिन्छ ।

सम्बन्धित सामग्री

निषेधाज्ञाका कारण फूल खेतीमा करोडौंको नोक्सानी

चितवन । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण चितवनको फूल खेतीमा ५ करोड रुपैयाँ बराबरको नोक्सानी प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका अनुसार यहाँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूल खेती गरी उक्त घाटा भएको आकलन गरिएको  हो । फूलको माग राम्रै भए पनि निषेधाज्ञाका कारण बजार नपाउँदा नोक्सानी बेहोर्नुपरेको एसोसिएसनले जानकारी दिएको छ । निषेधाज्ञापछि करिब डेढ महिने अवधिमा ५ करोड रुपैयाँ बराबर नोक्सान भएको एसोसिएसनका अध्यक्ष प्रकाश पन्तले बताए । विशेषगरी तयारी अवस्थाका ग्लाडियस, गोदावरी र सयपत्री फूल बिक्री गर्न नसकिँदा  बारीमै सुकेका छन् । आफ्नो १२ कठ्ठा क्षेत्रफलमा लगाएको गोदावरी फूल सुकेपछि ५ लाख रुपैयाँ नोक्सान भएको उनको भनाइ छ । ‘अन्य किसानको पनि १ देखि २५ लाख रुपैयाँसम्मको नोक्सानी भएको छ’, उनले भने, सबै गरी ५ करोड बराबरको क्षति आकलन गरेका छौं ।’ पन्तका अनुसार निषेधाज्ञाका कारण अर्डर आइसकेका फूल बजारमा जान नसक्दा  र अधिकांश शुभकार्य, सभा, सेमिनार तथा धार्मिक अनुष्ठानका कार्य रोकिँदा यसको  असर फूल व्यवसायमा परेको हो  । भरतपुर महानगरपालिका–१८ का किसान कमल अर्याल गत वर्षदेखि हालसम्म २२ लाख रुपैयाँ बराबरको फूल खेतीमा नोक्सानी भएको बताउँछन् । गत वर्षदेखिको कोरोना महामारीका कारण फूलको माग भए पनि प्रयोगमा नआउँदा फूल खेती किसानले नोक्सान बेहोर्नुपरेको हो । हाल उनले डेढ बिघामा ग्योडोलस फूल लगाएका छन् । अहिले फूल बिक्रीयोग्य भए पनि निषेधाज्ञा कारण सुकेपछि जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एक साता भन्दा बढी राख्नै मिल्दैन’, अर्यालले भने, निषेधाज्ञा खुल्ने टुंगो छैन । जोत्नुको विकल्प छैन ।’ निषेधाज्ञाकै कारण बारीमा फुलिसकेका फूल ओइल्याएका छन् भने कतिपयले लागत बराबरमै बिक्री गर्दा पनि माग शून्यजस्तै छ । व्यावसायिक फूल खेती गर्ने र नर्सरीमा बिरुवा उत्पादन गर्ने किसानले पनि बिक्री नभएको बताएका छन् । विशेषगरी काठमाडौं र पोखरालगायतका सहरमा चितवनको फूल जाने गरेको छ । ‘चितवनमा फूल बिक्री ठप्पजस्तै छ’, भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिन भन्छन्, ‘अहिले सयपत्री फूल पशुपति आर्यघाटबाट केही मात्र अर्डर छ । त्यो पनि फाइदा नखाई पठाएको छु ।’ बाह्रैमासे बिक्री हुने सयपत्री फूल पनि अहिले बिक्री हुन नसकेको उनको भनाइ छ । पाख्रिनको दुई बिघा क्षेत्रफलमा सयपत्री ढकमक्क फुलिरहे पनि महँगो भाडा तिरेर काठमाडौं पठाउनुपरेकोे पाख्रिनको गुनासो छ । सयपत्री फूल एक गाडीको १० हजार  तिरेर पशुपतिमा १५ हजार रुपैयाँमा बिक्री गर्नुपरेकोे उनको भनाइ छ   । पछिल्लो समय चितवनमा फूल खेतीको आकर्षण बढ्दै गएको थियो । तर, पटक–पटकको बन्दाबन्दी र निषेधाज्ञाले फूल खेती गर्ने किसान नोक्सानीमा परेका छन्  । यसले गर्दा हाल न नर्सरीका बिरुवा फूल बिकेका छन्, न त तयार भएका फूल नै बिक्न सकेका छन् । यस्तै अवस्था रहने  हो भने अधिकांश फूल खेती किसान विस्थापित हुने र फूलका लागि फेरि भारतलगायत अन्य तेस्रो मुलुकसँग भरपर्नुपर्ने अवस्था आउने किसानको भना छ । एसोसिएसनका अनुसार चितवनमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फूल खेती हुदै आएको छ । यहाँ  व्यावसायिक फूल खेती गर्नेको संख्या ५० जना र भने फूलको नर्सरी एवं गार्डेनिङ गर्नेको संख्या  २० हाराहारी छ । चितवनमा बुकी फूल, कटफ्लाबर, रोज र ग्याडोलसजस्ता मौसमी फूलको व्यावसायिक खेती हुँदै आएको छ ।