असोज २३, काठमाडौं। साझा यातायातले ४० ओटा विद्युतीय बस खरीदका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ।
साझाले शुक्रवार चिनियाँ कम्पनी सीएचटिसी किनविन अटोमोबाइल कर्पोरेशनसँग बस खरीदका लागि द्विपक्षीय सम्झौता गरेको हो । साझा यातायातको तर्फबाट संचालक समिति सदस्य बन्दना थापा र सिएचटिसीको तर्फबाट नेपाल प्रतिनिधि एनइभी नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक राजन रायमाशीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार साझाले ४० ओटा विद्युतीय बस र २० ओटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर (करीब ४४ करोड ८६ लाख रुपैयाँ) भुक्तानी गर्नुपर्नेछ । यसबाहेक पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्ट्सका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले अलग्गै ब्यहोर्ने छ।
चार महीनामा तीन ओटा बस परिक्षण लागि ल्याउने गरी सम्झौता भएको छ। विद्युतीय बस परीक्षण भएपछि आठ महीनाभित्र थप ३७ ओटा बस ल्याइसक्नु पर्नेछ।
बस मात्र नभइ त्यसका लागि आवश्यक पर्ने चार्जर लगायतका उपकरण र पाँच वर्षसम्मको मर्मत आपूर्तिकर्ता कम्पनीले नै गर्नुपर्नेछ। चालकबाहेक ३६ ओटा सिट हुनेछ भने ह्विलचियर समेत सहजै राख्न सकिनेछ।
उक्त विद्युतीय बसले एक पटक फुल चार्ज गरेपछि २०० किमीसम्म कुद्ने क्षमता राख्नेछ।