फागुन २१, चितवन । निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै महासंघले व्यवसायीको हक हित र पूर्वाधारको लागि लडेपनि राज्यले सुनुवाई नगरेको बताएका छन् ।
निर्माण व्यवसायी संघ चितवनको २८ औं साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै उनले व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा, कार्टेलिङ्ग, न्यून बीडिङ्गले पनि यस व्यवसायमा थप समस्या भएको पनि बताए ।
‘राज्यले हेर्ने दृष्टिकोण पनि फरक छ, व्यवसायीको दृष्टिकोण पनि फरक छ । राज्यले हर्ने दृष्टिकोणमा पनि परिवर्तन हुनुपर्छ, हाम्रो दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्छ’, सिंहले भने ।
महासंघ सार्वजनिक खरीद ऐन संशोधन गर्न अघि बढेको भन्दै उनले यस व्यवसायमा पनि केही सुधार भएको उनले बताए । सरकारले जोइन्ट भेन्चरको प्रणालीलाई सुधार गरी ३ अर्ब रुपैयाँदेखि १० अर्बको आयोजनामा बिदेशी लगानी गर्न पाउने निर्णय गरेकोमा स्वागत योग्य भएको उनको तर्क थियो ।
कोरोना महामारीबाट व्यवसाय प्रभावित भएको भन्दै महासंघले सरकारसंँग म्याद थपका साथै बीमा समितिबाट सहुलियत गराउन सफल भएको पनि सिंहले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक देखिएपनि महासंघले व्यवसायीकै एजेण्डा लिएर अघि बढेको बताए । निर्माण सम्पन्न कार्यका लागि सरकारको नीतिनै कमजोर भएको, ढिलाई पनि सरकारबाटनै हुने गरेको उनको भनाइ थियो ।
महासंघका बाग्मती प्रदेश अध्यक्ष सुमित श्रेष्ठले व्यवसायीले ऋणमा लिएर, जोखिममा रहेर समेत कोरोना कहरमा समेत काम गरेपनि आफूहरुले जस नपाएको बताए । यसैगरी केन्द्रीय महासचिव रोशन दाहालले महासंघले निर्माण सम्बन्धी ऐन कानून संशोधन गर्न सफल भएको, विना जरिवाना म्याद थप गर्न सफल भएको र २२ ओटा रुग्ण आयोजनाले काम गर्न पाएको बताए ।
कार्यक्रममा सहभागी व्यवसायीहरुले राज्यको नीति तथा व्यवहार देखेर असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्र निर्माणको लागि आफ्नो भूमिका र दायित्व उत्तिकै रहेपनि राज्य तथा नागरिक पक्षले समेतको हेर्ने दृष्टिकोण परिवर्तन नहुंँदा आफूहरु अन्याय परेको उनीहरुको भनाइ थियो ।
उनीहरुले कुनै पनि आयोजना सम्पन्न गर्दा २५ प्रतिशतको मात्र दायित्व र जिम्मेवारी व्यवसायीको र अन्य भुमिका राज्य र सरोकारवालाको हुने भन्दै गुनासो गरेका थिए । निर्माण कार्य गर्दा दोषि ठहरेमा मात्रै आफू सजायको भागिदार हुने तर निर्दोष व्यवसायीलाई दण्ड सजाय दिन नहुने उनीहरुको भनाइ थियो ।