पुस २८, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले शुरु गरेको ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ९६ प्रतिशत सकिएको छ ।
आयोजना ९६ प्रतिशत सम्पन्न भएपछि ग्रामीण क्षेत्रका १५ हजार भन्दा धेरै सरकारी/गैरसरकारी कार्यालयले इन्टरनेट सेवा पाएका छन् ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी सञ्चालित परियोजनाहरुको मंसिर मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै ब्रोडब्याण्डको काम ९६ प्रतिशत सकिएको जनाएको छ ।
ब्रोडव्याण्ड ईन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तरगत १८ प्याकेज मध्ये १६ प्याकेजको काम सम्पन्न भइसकेको छ ।
त्यस्तै सोहि कोष परिचालन गरी कम्तिमा २० एमबीपीएस गतिको नन् डेडीकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम मध्ये भूकम्पबाट अतिप्रभावित ८ जिल्ला (काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक, रसुवा, नवुाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) मा यो कार्यक्रम लागू गरिएको थियो ।
ती जिल्लाका स्थानीय तह, वडा कार्यलयहरु, समुदायिक माध्यमिक विद्यालयहरु, सामुदयिक स्वास्य्च संस्थाहरु र सम्पूर्ण आधारभतु विद्यालयहरु गरी ४ हजार २५१ स्थानहरुमा ७१ वटा स्थानिय तहमा सेवा उपलब्ध भएको छ ।
अतिप्रभावित ८ जिल्लाहरु सहित काठमाडौ बाहेकका ६६ जिल्लाका सामुदायिक आधारभुत विद्यालयमा कम्तिमा २० एमबिपीएस गतिको नन् डेडीकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी सेवा उपलब्ध गराउने अर्को परियोजनाको ६५६ स्थानिय तहमध्ये २६७ स्थानीय तहमा सम्झौता भएको छ ।
प्राधिकरणले ५ अर्ब ६७ करोड रुपैयाँको ब्रोडब्याण्ड परियोजनामा हालसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।