९ वर्षमा पनि बनेन फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल, तेस्रोपटक थपिएको म्याद चैतमा सकिँदै

फागुन २९, खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ ।  विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम पछिल्लो समय थप गरिएको समयसीमाभित्र पनि सम्पन्न हुने छाँटकाँट छैन । जिल्लाबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत पर्ने गरेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा छ वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यको करोडौँ रकम खर्च भइसकेको छ ।  अस्थायी रुपमा जडान गरिने फोक्सिङ्टारको बेलीब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माणमा ढिलासुस्ती आवतजावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले जानकारी दिए । खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्डअन्तर्गत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षात्को समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा वर्षको करीब ६ महीना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुने गरेको उपभोक्ताले बताउने गरेका छन् । फोक्सिङ्टार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैँले गरेको प्रतिबद्धता कुल्चँदै आएको छ । गत माघ २६ गते काठमाडौंमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ का प्रमुख इञ्जीनियर कैलाश साहको अगाडि निर्माण ठेकेदार रामकुमार थापाले पछिल्लोपटक थपिएको समयसीमाभित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । फोक्सिङ्टार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका काम पूरा गर्नेगरी कामलाई अघि बढाउन विसं २०७४ माघ २ गते ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेको थियो । फोक्सिङटारमा सुरुमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने जनाउँदै विसं २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो । फोक्सिङ्टारको भौगोलिक अप्ठ्यारोका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएका कारण डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण शुरु गरिएको हो । दोस्रोपटक डिजाइन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुल निर्माणको काम शुरु गरेको थिएन । ठेकेदार कम्पनीले हाल पुल निर्माणमा ढिलासुस्तीका कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरेको छ ।  निर्माणाधीन पुलको नयाँ डिजाइन स्वीकृत भएदेखि यता लामो समयसम्म पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बासिन्दा बताएका छन् । शिलान्यास गरेको लामो समयसम्म पुल निर्माणको काम सम्पन्न नभएपछि जिल्लामा हुने हरेक कार्यक्रममा ठेकेदार कम्पनीको आलोचना हुने गरेको छ ।  जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल भ्याटसहित रू. २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी गौरी पार्वती वाइपी जेभीले ठेक्का लिएको हो ।  निर्माणाधीन पक्की पुलको अहिले ‘आर्क’को ट्रस राखेर आरसिसी ढलान शुरु गरिएको ठेकेदार कम्पनीका प्रमुख मदन मगरले जानकारी दिए । ‘खोटाङ र उदयपुरतर्फ दुई–दुई कोलम आरसिसी ढलान गरिसकिएको छ’, उनले भने, ‘आगामी चैत मसान्तभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुन्छ । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले अब वर्षामा समेत पुल निर्माणको काम रोकिँदैन । यस वर्ष कुनै पनि हालतमा सम्पन्न हुन्छ ।’ फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल १२० मिटर लम्बाइको हुने डिजाइनमा उल्लेख छ । निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । रासस

सम्बन्धित सामग्री

खार्पुको पक्की पुल निर्माण अझै अगाडि बढेन

सिमकोट – कर्णाली करिडोरमा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा निर्माणाधीन पक्की पुल निर्माण अझै अगाडि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा गत साउनमा दोजाम कर्णाली नदीमा पानीको बहाब बढेर निर्माण स्थलमा पसेको पानी हालसम्म नरोकिएको कारण निर्माण अगाडि नबढेको हो। हिल्सा–सिमकोट सडक आयोजनाको योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार पुल निर्माण अझै अगाडि बढ्न नसकेको […]

फोक्सिन्टारको पक्की पुल अन्तिम चरणमा, अब बेलिब्रीज लगाउनु नपर्ने

कोसीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै हरेक वर्ष जडान गर्दै खोल्ने गरिएको बेलिब्रीज यो वर्षदेखि लगाउन नपर्ने भएको हो।...

६ वर्षदेखि निर्माणाधीन पक्की पुल चर्कियो

जुम्ला–कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की पुल एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थप पछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ ।२०६१/०६२ सालबाट सञ्चालित जीण बेलिब्रिजबाटै ठूला सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । कति […]

मराङ खोलामा निर्माणाधीन पक्की पुल

म्याग्दीको धौलागिरी गाउँपालिकाको वडा नम्बर ५ मल्कवाङ र ६ मराङ बस्तीलाई सडक सञ्जालसँग जोड्न मराङ खोलास्थित अर्कलामा पक्की पुल निर्माणाधीन छ । धौलागिरि र मालिका गाउँपालिकाको सिमानास्थित मराङ खोलामा निर्माणाधीन मोटरेवल पुल निर्माण अन्तिम चरण पुगेको छ ।तीन गाउँपालिका जोड्ने गरी रिङरोडको परिकल्पना गरेर ५ वर्षअघि निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ, विम हुँदै धौलागिरि […]

निर्माणाधीन पक्की पुल

तनहुँको व्यास नगरपालिका–९ स्थित कवादी खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल । दुई करोड लागतमा निर्मित पुल अन्तिम चरणमा पुगेको छ । तस्बिर ः रासस

तस्वीर : कञ्चनपुरको दोदा नदीमा निर्माणाधीन पक्की पुल

बेलौरी नगरपालिकाको भकुण्डास्थित दोदा नदीमा निर्माणाधीन पक्की पुल । पुल निर्माण तीन वर्षदेखि शुरु गरिएपनि हालसम्म पूरा नहुँदा स्थानीयवासीले नदी तर्नु पर्ने बाध्यता रहेको छ । तस्वीर : रासस

तस्वीर : सप्तरीको मेनाकडेरीमा निर्माणाधीन पक्की पुल

सप्तरीको तिरहुत गाउँपालिका वडा नं २ स्थित हुलाकी सडक खण्डअन्तर्गत मेनाकडेरीमा नदी माथि निर्माणाधीन पक्की पुल । यो पुल बनेपछि कञ्चनपुर बजार आवतजावतमा सहज हुने भएको छ । तस्वीर : रासस

तस्वीर : तनहुँको जिदी खोलामा निर्माणाधीन पक्की पुल

तनहुँको भिमाद नगरपालिकास्थित जिदी खोलामा निर्माणाधीन पक्की पुल । लामो समयसम्म अलपत्र रहेको उक्त पुल निर्माणले हाल तीव्रता पाएको छ । तस्वीर : रासस

तस्वीर : महाकाली नदीमा निर्माणाधीन पक्की पुल

महाकाली नदीमा निर्माणाधीन पक्की पुल । पुलको पूर्वतर्फको बाँध साउन महीनाको पहिलो सातामा आएको बाढीले बगाएपछि पुल निर्माणको कार्य अगाडि बढाउन निर्माण कम्पनीलाई सास्ती भएको छ । तस्वीर : रासस

महाकाली नदीमा निर्माणाधीन पक्की पुल

महाकाली नदीमा निर्माणाधीन पक्की पुल । पुलको पूर्वतर्फको बाँध साउन महिनाको पहिलो सातामा आएको बाढीले बगाई दिएपछि पुल निर्माणको कार्य अगाडि बढाउन निर्माण कम्पनीलाई सास्ती भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस