उद्योगमा लगानी प्रस्ताव ९१ प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ चैत मसान्तसम्ममा उद्योगमा लगानीको प्रस्ताव उल्लेख्य बढेको छ । स्वदेशी र विदेशी लगानीमा दर्ता भएका कुल २३२ उद्योगमा प्रस्तावित लगानी गतवर्षको तुलनामा ९१ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।  उद्योग विभागका अनुसार चालू आवको ९ महीनामा स्वदेशी र विदेशी लगानीमा सञ्चालन गर्ने गरी दर्ता भएका ती उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएको हो । गत आव २०७७/ ७८ मा भने यस्तो लगानी प्रस्ताव १ खर्ब ३९ अर्ब रुपैयाँ थियो । उद्योग दर्ता संख्या १६९ थियो । विभागको तथ्यांकले उद्योगको दर्ता संख्या र लगानी वृद्धि देखाउँछ । दर्ता भएका स्वदेशी तथा विदेशी उद्योग सञ्चालनमा आएमा २१ हजार ६२३ जनाले रोजगारी पाउनेछन् ।  विभागका अनुसार चालू आवमा स्वदेशी तथा विदेशी लगानीका साना उद्योग दर्ता बढी छ । दर्ता भएका उद्योगमा ८३ ओटा साना छन् । मझौला ८२ र ठूला ६७ उद्योग दर्ता भएका छन् ।  यसैगरी, चालू आवको नौ महीनामा वैदेशिक लगानी प्रस्तावमा पनि सुधार देखिएको छ ।  विभागका अनुसार गत साउनदेखि चैतसम्मको नौ महीनामा वैदेशिक लगानीका १५५ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३३ अर्ब ४२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ । गतवर्ष सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । पोहोर उक्त अवधिमा साना, ठूला र मझौला गरी १४२ ओटा उद्योग दर्ता भएका थिए । गतवर्षको तुलनामा दर्ता र लगानी प्रस्ताव दुवै बढेसँगै रोजगारी पनि बढ्ने देखिएको छ । यसैगरी, ट्रेडमार्क दर्ता संख्यामा पनि वृद्धि देखिएको छ । चालू आवमा २ हजार ३५६ ट्रेडमार्क दर्ता भएका छन् । पोहोर यो अवधिमा २ हजार ७१ दर्ता ट्रेडमार्क भएका थिए । विभागका निर्देशक भक्तराज जोशीले जलविद्युत्, पर्यटन र ठूला लगानीका केही इन्भेष्टमेन्ट कम्पनी समेत दर्ता हुँदा यसपालि लगानी बढेको बताए । सरकारले लिएको उद्योगलाई सहजीकरण गर्ने नीति, औद्योगिक वातावरणका साथै एकल विन्दु सेवा केन्द्रका कामले उपलब्धि दिन थाल्दा लगानी बढेको उनको भनाइ छ ।  सरकारले पटकपटक लगानी सम्मेलनहरू गरेको र लगानीका लागि रेड कार्पेट बिच्छ्याएको सन्देश दिइरहेकाले पनि विदेशी लगानीको प्रस्ताव बढेको उनको दाबी छ । तुलनात्मक रूपमा कोभिड–१९ संक्रमण अवधिमा पनि वैदेशिक लगानी राम्रो आएको र सरकारले लिएका औद्योगिक नीतिका कारण स्वदेशी लगानी प्रस्ताव पनि उल्लेख्य वृद्धि देखिएको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

वैदेशिक लगानी प्रतिबद्धता: उद्योग दर्ता संख्या बढ्यो प्रतिबद्धता रकम घट्यो

काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले गर्नेे प्रतिबद्धता घटेको देखिएको छ । उद्योग दर्ता र लगानी प्रतिबद्धताको रकम उद्योग विभागबाट स्वीकृत गराउँदै आएका विदेशी लगानीकर्ताले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा कम लगानी स्वीकृति गराएका हुन् । प्रतिबद्धता रकम घटे पनि दर्ता हुने उद्योगको संख्या भने तुलनात्मक रूपमा बढी छ । उद्योग विभागले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार लगानी प्रतिबद्धता रकम १५ अर्ब ७५ करोड रुपैयाँले घटेको छ । उद्योग दर्ता संख्या भने बढेको छ । गत आवमा ३२७ ओटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ मा उद्योग दर्ता संख्या २९५ थियो । विभागका अनुसार गत आवमा ३२७ ओटा उद्योग दर्ता हुँदा ३८ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागमा दर्ता र लगानी स्वीकृत भएका उद्योग सञ्चालनमा आउँदा मुलुकमा थप १७ हजार १२ जनालाई रोजगारीको अवसर प्राप्त हुने देखिन्छ । अघिल्लो आव २९५ उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता ५४ अर्ब १५ करोड रुपैयाँ थियो । प्रस्तावित रोजगारी १६ हजार ९०५ थियो ।  विदेशी लगानीकर्ताहरू सानो स्केलका उद्योगमा लगानी गर्न बढी उत्साहित रहेको देखिन्छ । यो क्रम गत आवमा पनि दोहोरिएको छ । गत वर्ष ३२७ उद्योग दर्ता हुँदा साना स्केलका उद्योगको संख्या २९७ छ । अघिल्लो आवमा यस्ता २१७ उद्योग दर्ता भएका थिए । सरकारले विदेशी लगानीमा कायम गरेको न्यूनतम थ्रेसहोल्डका कारण उद्योग दर्ता संख्या बढेको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार लगानी रकम भने कम छ । सरकारले यस्तो थ्रेसहोल्ड पटक–पटक संशोधन गर्दै आएको छ । फलस्वरुप विदेशी लगानीकर्ता थ्रेसहोल्डभित्रै रहेर परियोजना स्वीकृत गराउन बढी केन्द्रित भएको विभागको तथ्यांकले देखाउँछ । सरकारले पछिल्लोपटक २०७९ असोजमा विदेशी लगानीको थ्रेसहोल्ड घटाएर २ करोड रुपैयाँ कायम गरेको छ । यसअघि २०७६ जेठमा सरकारले यस्तो सीमा ५ करोड रुपैयाँ तोकेको थियो । त्यसअघि विदेशी लगानीको न्यूनतम सीमा ५० लाख रुपैयाँ थियो ।  उद्योग विभागको तथ्यांक हेर्दा विदेशी लगानीकर्ताले यही सीमामा रहेर लगानीका परियोजना प्रस्ताव गर्ने र स्वीकृत गराउने गरेको देखिन्छ । गत आवमा मझौला उद्योग २५ र साना स्केलका उद्योग ५ ओटा दर्ता भएका छन् ।  विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा बढी इच्छुक देखिन्छन् । गत आवमा सोही क्षेत्रमै बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार विदेशी लगानीका उद्योग दर्तामध्ये ३४ दशमलव ४१ प्रतिशत पर्यटन क्षेत्रका छन् ।  पर्यटन क्षेत्रपछि विदेशीको आकर्षण सेवाक्षेत्रमा छ । तेस्रो स्थानमा उत्पादनमूलक क्षेत्रका उद्योग दर्ता भएका छन् । आइसीटीमा १६ दशमलव ५ र ऊर्जा तथा कृषिक्षेत्रमा १ प्रतिशत उद्योग दर्ता भएका छन् ।