असोज १, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभपमेण्ट कम्पनी लिमिटेडले असोज २४ गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले आफ्नै सभाकक्ष, ट्रेड टावर, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस पश्चात कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि असोज ११ गतेदेखि १४ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा आसेज १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।